Comments Add Comment

भद्रगोलको पाँडे चरित्रमा पाण्डे समाजको आपत्ति, मिडिया हबलाई पत्र

२८ फागुन, काठमाडाैं । नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका एक प्रमुख पात्र हुन् ‘पाँडे’ । उक्त पात्रलाई फटाहा र भँडुवाको रुपमा चित्रण गरिदै आएको छ ।

तर, उक्त चरित्रप्रति विरोध जनाउँदै हालै पाण्डे थर भएकाहरुको संगठन ‘नेपाल पाण्डे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाण्डेहरुको मनमा चोट लागेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्‍याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’

भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाण्डे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्रको वोधार्थ नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।

यस विषयमा मिडिया हबका प्रमुख सोम धितालसँग प्रतिक्रिया माग्दा उनले कुनै थर विशेषलाई अपमान गर्ने कुनै मनसाय नभएको बताए । पाण्डे चरित्रले समाजभित्रको एउटा गलत प्रवृत्तिलाई उजागर गर्न मात्र खोजेको उनको भनाइ छ ।

‘समाजमा नकारात्मक पात्रहरु पनि हुन्छन् जसलाई हाम्रो कथामा चित्रण गरिन्छ । उनीहरु पनि थरविहीन त हुँदैनन् । त्यसैले यस्ता चरित्रलाई पर्दामा देखाउन कुनै न कुनै थर चाहिन्छ । त्यसो भन्दैमा त्यो थर भएका सबै खराब भन्न खोजिएको हुँदैन । खाली प्रवृत्तिलाई व्यंग्य गर्न खोजिएको हो,’ धितालले भने ।

उनले पाण्डे समाजको पत्र आफूलाई प्राप्त भएको र चाँडै जवाफ पठाउने उल्लेख गरे ।

उनी थप्छन्, ‘उहाँहरुको चित्त दुखेको छ भने हामी क्षमा चाहन्छौं । तर हाम्रो कुनै गलत मनसाय होइन । यो चरित्र दर्शकले रुचाउनु भएको छ र यसले निरन्तरता पाउँछ ।’
उनले भद्रगोलको कथावस्तुमा भने केही कमिकमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।

पछिल्ला केही एपिसोडमा कथावस्तु अलि अतिरञ्जित भएको विषयमा आफूले भद्रगोलका निर्देशकहरुको ध्यानाकृष्ट गराएको उनी बताउँछन् । पछिल्लो एपिसोडमा बले नामक पात्रले आफ्नी श्रीमतीलाई भीरबाट गुल्ट्याएर मारिदिएको देखाइएको थियो । यस्तो विषयले खराब सन्देश दिएको प्रतिक्रिया आएपछि आफूले टिमलाई सचेत गराएको धितालले बताए । गत शुक्रबार प्रशारित भद्रगोलको सो एपिसोड अहिले ट्रेन्डिङ नम्बर १ मा रहेको छ ।

त्यसो त भद्रगोलका हरेकजसो एपिसोड नम्बर १ ट्रेन्डिङमा आउने गर्छन् । यसका कलाकारहरुले बोल्ने थेगोहरु लोकप्रिय छन् । तर, कथावस्तु भने निरन्तर खस्किरहेको छ । यस टेलिश्रृंखलाको निर्देशन हास्यकलाकारद्वय अर्जुन घिमिरे र कुमार कट्टेलले गरिरहेका छन् । पाँडेको भूमिका अर्जुनले निभाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment