Comments Add Comment

आम आदमी पार्टीकी विधायकले नेपालीसँग माफी मागिन्

२८ फागुन, काठमाडौं । भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपाली समुदायको चित्त दुखाएकोमा माफी मागेकी छिन् । नेपालीहरुलाई जोडेर गरिएको एउटा ट्वीटमा आलोचनाको सामना गर्नुपरेपछि त्यसलाई हटाउँदै उनले माफी मागेकी हुन् ।

दिल्ली विधानसभाकी विधायक अल्काले आफ्नो टि्वटबाट नेपालीहरुलाई चोट पुगेकोमा दुःख व्यक्त गरेकी छन् ।

लाम्बाले आफ्नो टि्वटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्य गर्दै हिन्दीमा लेखेकी थिइन्, ‘कृपया यसपालि प्रधानमन्त्री चुन्नुहोला । चौकिदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकिदार चोर हुँदैनन् ।’

मोदीले आफूलाई बारम्बार ‘भारतको चौकिदार’ भन्ने गर्छन् । त्यसैले लाम्बाले मोदीलाई कटाक्ष गरेकी थिइन् । तर, उनले यस्तो कटाक्ष गर्दा नेपालको अपमान भएको भन्दै नेपालीहरुले उनको चर्को आलोचना गरेका थिए । त्यसपछि उनी टि्वट हटाउन बाध्य भएकी हुन् ।

दिल्ली विधानसभाकी विधायक अल्काले मंगलबार दोस्रो टि्वट गर्दै भनेकी छन्, ‘मेरो एउटा टि्वटले नेपालका मानिसहरुलाई चोट पुगेको थाहा भएको छ । म यसका लागि आफ्नो छिमेकी देश नेपालका मानिसहरुसित दुःख व्यक्त गर्छु । मेरो मनसाय कसैको चित्त दुखाउने थिएन । मैले तपाईंहरुको भावनालाई ध्यानमा राखेर ट्वीट हटाइदिएकी छु ।’

भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र नेताहरुबीच आरोप-प्रत्यारोप र घोचपेच बढिरहेको छ । यही क्रममा अल्काले नेपालीहरुको नाम लिँदै मोदीलाई व्यंग्य गरेकी थिइनन् । भलै उनले ‘नेपालका चौकिदार चोर हुँदैनन् ।’ भनेकी थिइन् । तर, नेपालीहरुलाई चौकिदारका रुपमा चित्रित गरिएकोमा नेपालीहरुले चित्त दुखाएका छन् ।

आफू ठूलो देशको नागरिक भएँ भन्दैमा छिमेकीलाई अपमान नगर्न र गरीवमाथि उपहास नगर्न नेपालीहरुले टि्वटरमै जवाफ फर्काएपछि अल्काले क्षमा याचना गरेकी हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा नेपालीहरु ठूलो संख्यामा सुरक्षागार्ड, चौकीदारी एवं होटलहरुमा भाँडा माझ्ने काम गर्दै आएका छन् । रसायनशास्त्रमा एमएस्सी गरेकी ४३ वर्षीया अल्काले त्यही देखेर नेपालबाट चौकीदार मगाउन सकिने बताएकी हुन् ।

१९ वर्षकी हुँदादेखि नै विद्यार्थी संगठनबाट राजनीति गरेकी अल्का कांग्रेस छाडेर आम आदमीमा लागेपछि २०१३ मा दिल्ली विधान सभामा निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment