Comments Add Comment

प्रचण्ड र विप्लवलाई बाबुरामको सुझाव– पूर्वकमरेड विचार बदल्नूस्

१ चैत, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचार अंगीकार गर्न सुझाव दिएका छन् । दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको जिकिर गर्दै उनले ‘कोर्स करेक्सन’को सुझाव दिएका हुन् ।

संविधानविपरीत गतिविधि सञ्चालन गरेको भन्दै सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ । नेकपाकै नेताबीच पनि प्रतिबन्ध लगाउनु हुन्थ्यो/हुन्थेन भन्नेमा एकमत छैन ।

तर, तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका वैचारिक तथा सांगठनिक खम्बामध्येका एक बाबुरामले आफ्ना दुवै पूर्वकमरेड गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

प्रतिबन्धबारे मुख नखोले पनि प्रचण्डले विप्लव समूहले आफ्नो हत्या योजना बनाएको दाबी गरेका छन् । यद्यपि, यसको दसी प्रमाण उनले पेश गर्न सकेका छैनन् ।

उता, क्रान्तिलाई धोका दिएर गद्दारी गरेको भन्दै विप्लव प्रचण्डसँग रिसाएको केही वर्ष भइसकेको छ ।

दुवै नेतालाई नजिकबाट चिनेका बाबुरामको विचारमा दुवैमा देखिएको समस्या व्यक्तिको नभएर विचारको हो । प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ ।

‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ ! समस्या व्यक्तिको नभएर विचारको हो ! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो !’ बाबुरामले ट्विट गरेका छन् ।

दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी पनि बाबुरामले गरेका छन् । ‘इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ’, अंग्रेजी भनाइ ‘टू रङ डन्ट मेक अ राइट’ स्मरण गराउँदै बाबुरामले ट्विटरमा लेखेका छन्, ‘खाँचो नयाँ विचारको ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment