Comments Add Comment

सिंहदरबारको पश्चिम भाग पनि रेट्रोफिटिङ गरिने

१९ चैत, काठमाडौं । भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भाग पनि प्रबलीकरण (रेट्रोफिटिङ) गरिने भएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

सिंहदरबार मुख्य भवनको उत्तर, पूर्व र दक्षिण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ । अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका ईंटाहरु बलियो रहेको, केही काठहरु भने फेर्नुपर्ने देखाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रेट्रोफिटिङको डिजाइन समेत प्राप्त भइसकेकाले प्रक्रिया छिट्टै अघि बढ्ने बताए । प्रतिनिधिसभा रहेको संसद्को पुरानो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो भवनलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नयाँ संरचना बनाउने त्यसबारे सुझाव दिन सांसद्हरुलाई आग्रह गरे ।

सांसद गणेश पहाडीले संसदको पुरानो भवनलाई रेट्रोफिटिङ गर्नु भन्दा भत्काएर अन्तरार्ष्ट्रिय स्तरको बनाउन सुझाव दिए । समिति सभापति कल्याणी खड्काले गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माणलगायतलाई प्राथमिकतामा राखेर काम गर्न प्राधिकरणलाई सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment