Comments Add Comment

जित्दाजित्दै हार्‍यो दिल्लीले, आठ रन बनाउँदा गुमायो सात विकेट

Photo Credit : आईपीएल

१९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीले नसोचेको हार ब्यहोरेको छ ।

सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाबसँग दिल्लीले १४ रनको अकल्पनीय हार ब्यहोरेको हो । १६ ओभरको समाप्तिमा दिल्लीको तीन विकेटको क्षतिमा १३७ रन बनाएको थियो । अब दिल्लीलाई जितको लागि २४ बलमा ३० रन आवश्यक थियो भने अझै सात विकेट बाँकी थियो ।

तर एकाएक खेलमा परिवर्तन ल्याए पञ्जाबका बलर मोहम्मद शामीले । उनले १६.४ ओभरमा ब्याट्सम्यान रिसभ पन्तलाई ३९ रनमा आउट गराएपछि दिल्लीको विकेट पतन सुरु भयो । यसपछि दिल्लीले जम्मा आठ रन मात्रै बटुल्न सक्यो ।

लगतै अर्को बलमा क्रिस मोरिस शून्यमै रनआउट भएपछि दिल्ली दबावमा आएको थियो । लगतै १७ औं ओभर बलिङ गर्न आए साम कुरान । उनले पनि पञ्जाबका लागि सनशनीपूर्ण बलिङ गरे । साम कुरानले १७.४ ओभरमा कोलिन इन्ग्रामलाई ३८ रनमा आउट गराए । यही ओभरको अन्तिम बलमा हर्षल पटेललाई शून्य रनमै आउट गराएका कुरानले यो ओभरमा मात्र ४ रन खर्चिए ।

त्यस्तै, १९ औं ओभरमा शामीले अर्को विकेट लिएपछि दिल्लीले ८ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । साम कुरानले २०औं ओभरको पहिलो बलमा कागिसो रबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई शून्य रनमै आउट गराएपछि दिल्ली १५२ रनमै समेटिएको थियो ।

दिल्लीले यो सात विकेट गुमाउँदा मात्र ८ रन जोड्न सक्यो । विकेट पतन रोक्न नसक्दा दिल्लीले हार ब्यहोरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । पञ्जाबका लागि डेभिड मिलरले ४३ रनको योगदान दिएका थिए ।

बलिङतर्फ क्रिस मोरिसले तीन विकेट लिँदा रबडा र सन्दीपले समान २-२ विकेट लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment