Comments Add Comment

भिनाजुसँग मिलेर श्रीमानको हत्या !

१९ चैत, बुटवल । बुटवलको मैनाबगरमा भएको भारतीय नागरिक फिरोज खानको हत्यामा श्रीमती र साढु दाइको संलग्नता रहेको खुलेको छ ।

मैनाबगरको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लका अनुसार खानको हत्यामा संलग्नको आशंका गरिएका अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका नागरिक हुन् । खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुलेको थियो । खानको हत्या गरेर अन्सारी भारततिरै भागेको प्रहरीले बताएको छ ।

अन्सारी र खातुन विगत केही वर्षदेखि सम्बन्धमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको थियो । फिरोजलाई उनै अन्सारीको योजना र श्रीमती खातुनको सहमतिमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार फिरोजको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानेर हत्या हुँदा श्रीमती खातुन छोराहरुसँगै कोठाभित्र थिइन् । छोराहरुले बाहिर के को आवाज आयो हेर्न जाऔं भनेर निस्कन खोज्दा खातुनले बाहिर जान नदिएको प्रहरीसंग बताएपछि शंकाको सुई खातुनतिरै सोझिएको र उनीमाथि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

खातुनले प्रहरीसँग दुई दिनसम्म भिनाजु अन्सारीको मोबाइल नम्बर आफूलाई थाहा नभएको बताएकी थिइन् । तर मोबाइलको कल डिटेल हेर्दा उनले अन्सारीसंग पहिले गरेको फोन रेकर्ड भने डिलिट गर्दै आएको बयानमा बताएकी प्रहरीले जानकारी दिएको छ ।

अन्सारीलाई पक्राउ गर्न भारतीय सुरक्षा निकायसंग समन्वय गरिने डीएसपी मल्लले बताए । मृतक खान बुटवल उपमहानगरपालिका वडा नं. १ मैनावगरस्थित ज्योति इन्जिनियरिङ वर्कसपमा १५ वर्षदेखि काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment