Comments Add Comment

तारागाउँ होटल्सको छानबिनमा ठूलो दबाव आयो : अग्नि सापकोटा

२७ चैत, काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाव आएको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता सापकोटाले होटल सञ्चालकबाट भेट्न प्रस्ताव आएको र विभिन्न शक्ति केन्द्रबाट दबाब आएको बताए ।

‘पूर्वभूमिसुधारमन्त्री जितु गौतममार्फत मलाई दिनेशलाल श्रेष्ठले भेट्न खोजेको प्रस्ताव आएको थियो । मैले उपसमितिमा आउनुहोस् म बैठकको व्यवस्था गरिदिन्छु भनें । तर, पछि उहाँहरु आउनुभएन’ उनले भने ।

बडे–बडे शक्ति केन्द्रबाट पनि आफूलाई प्रभाव पार्नको लागि दबाव आएको उनले जिकिर गरे । नेता सापकोटाले भने, ‘कसैले परिवारमार्फत नै दबाब दिए । कसैले शक्तिकेन्द्रमार्फत दबाब दिए । कसैले त यीनीहरुको ठूलो पहुँच छ, देश तथा विदेशमा पहँुच छ भनेर पनि भने । तर, हामी कसैको प्रभाव र दबाबमा परेनौं । देशको हितमा काम गर्यौं । हामीले आग्रह र पूर्वाग्रहमा राखेर छानबिनमा हात हालेका हैनौं ।’

देशलाई केन्द्रमा राखेर र तथ्यमा आधारित भएर सत्य खोज्ने प्रयास गरेको र सोहीअनुसार यो प्रकरणबारे प्रतिवेदन तयार पारेको उनको भनाइ छ । नेता सापकोटाले यो प्रकरणको उजागरसँगै मुलकमा बहुआयामिक भ्रष्टाचारको रहस्योद्घाटन भएको बताए । ‘अहिले हाम्रो देशमा बहु–आयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ । एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन्’ उनले भने ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ रिजेन्सी होटल्समा भएको अनियमितता छानबिन गर्न सापकोटाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले समितिमा प्रतिवेदन बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment