Comments Add Comment

उपचुनावको टुंगो छैन, रवीन्द्रको उत्तराधिकारी खोजी तीव्र

२५ चैत, पोखरा । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन भएको छ । प्रदेशका पनि चार क्षेत्रमा सांसद छैनन् ।

उपचुनावको कुनै टुंगो छैन । तर, कास्की २ मा नेकपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने प्रश्न निरन्तर उठिरहेको छ ।

क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । कास्की–२ बाट निर्वाचित अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो ।

त्यसको तीन दिनपछि नै नेकपाका नेता बामदेव गौतमले कास्की २ मा आफू उम्मेदवार नहुने स्पष्टीकरण दिए । आफ्नाविरुद्ध कुप्रचार भएको भन्दै गौतमले अधिकारीको निधन भएपछि खाली भएको क्षेत्रमा उम्मेदवार नबन्ने बरु परिवारकै सदस्यलाई उम्मेदवार बनाउनुपर्ने बताए ।

उनीविरुद्ध कसले के प्रचार गरेको थियो त गौतमले अझैसम्म खुलाएका छैनन् तर, त्यसयता कास्की २ मा नेकपाको उम्मेदवार को भन्ने बहस रोकिएको छैन । नेकपाका हरेक नेता पोखरा पुग्दा यसबारे प्रश्न सोधिन्छ र उनीहरु उत्तर दिन बाध्य हुन्छन् ।

केही समय पहिले नेकपाका अध्यक्ष प्रचण्ड पोखरा पुगे, उनले पनि कास्की २ मा नेकपाको उम्मेदवार को भन्ने प्रश्न सामना गरे । पार्टीमा छलफल नभएको तर, परिवारको सदस्य हुन सक्ने बताए ।

पछिल्लो पटक पोखरा पुगेका नेकपाका नेता योगेश भट्टराई पनि यो प्रश्नबाट बच्न सकेनन् ।

भट्टराईले सिंगो पार्टीकै पहिलो प्राथमिकतामा रवीन्द्र परिवार पर्ने बताए । ‘उपनिर्वाचन छिट्टै हुन्छ । निर्वाचनमा पहिलो प्राथमिकता उहाँहरु नै हो,’ भट्टराईले भने, ‘पार्टीले प्रस्ताव गर्दा पनि मान्नु भएन भने मात्र अर्को विकल्प खोज्ने हो । परिवारको चाहना हुँदाहुँदै पार्टीले अर्को व्यक्ति उठाउँदैन ।’

यही प्रश्न पतिको निधनको शोकमै रहेका बेला रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई समेत आएको थियो, अहिले पनि आउँछ ।

तर, आरआर क्याम्पसमा स्थायी प्राध्यपकसमेत रहेकी विद्या दोधारमा रहेको परिवार स्रोतले बताएको छ ।

‘राजनीतिमा सक्रिय हुँदाहुँदै विवाह भएर कठिन अवस्थाको सामना गर्दै सरकारी नोकरीमा लाग्नुभयो । पेन्सन पाक्न ५/७ वर्षमात्रै छ । यस्तो बेला उहाँ धर्मसंकटमा हुनुहुन्छ,’ पारिवारिक स्रोतले भन्यो, ‘केही वर्षमात्र सेवाअवधि रहेको जागिर छोडेर राजनीतिमा लाग्दा भविष्य के हुने ? छोराहरु कसरी पढाउने, हुर्काउने ? भन्ने कुराको चिन्तामा हुनुहुन्छ । निर्णय लिनु भएको छैन ।’

नेकपा कास्कीका नेताहरु भने रवीन्द्रकी पत्नी भएकाले मात्र नभई योग्य र क्षमतावान राजनीतिक व्यक्ति पनि भएकाले विद्या नै उठ्नुपर्ने बताउँछन् । रवीन्द्र अखिलको महासचिव उहाँ विद्या सचिव थिइन् । अखिल हुँदै महिला संघतिर लागेर उनी विवाहपछि क्रियाशील राजनीतिबाट टाढा भएकी थिइन् ।

‘सक्रिय राजनीतिमा छँदै विद्याले रवीन्द्रका लागि त्याग गरिन् । प्राज्ञिक क्षेत्रमा लागेर रवीन्द्रलाई सहयोग गरिन् । अब रवीन्द्र रहेनन्’ एक नेकपा नेताले भने, ‘विद्या क्षमतावान छिन्, राजनीतिमा आउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment