Comments Add Comment

चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

२७ चैत, पोखरा । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ ।

विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो ।

विशेषतः चैतको अन्तिमतिर दुई/चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न भूभागबाट आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी एवं होटल एशियाका सञ्चालक धर्मराज पन्थीले बताए ।

नजिकिँदै गरेको नयाँ वर्षलाई लक्षित गरी पोखरामा होटल अग्रिम बुकिङ गर्ने क्रम पनि शुरु भएको उनले जानकारी दिए । पोखरा आउने पर्यटक प्रेमप्रकाश मल्लको ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरैछ, पोखरा त साँच्चिको नै पोखरा पो रैछ’ गीतमा भने जस्तै माछापुच्छ्रेले डुबुल्की मारेको फेवातालसहित यहाँका विभिन्न रमणीय दृश्य नियाल्न लालायित बन्ने गरेका छन् ।

पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथलाई लक्षित गरी जाने पर्यटकका कारण यतिखेर उक्त क्षेत्रमा पनि चहलपहल बढेको छ । चैते दशैँ शुरु भएयता मुक्तिनाथ मन्दिरमा दैनिक झण्डै चार पाँच हजारको हाराहारीमा दर्शनार्थी पुग्ने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

दर्शनार्थीको चापसँगै यहाँका होटेल भरिभराउ भएको स्थानीय समाजसेवी एवं होटल ग्राण्ड साम्बाला रानीपौवा बजार, मुक्तिनाथका सञ्चालक सुरज गुरुङले जानकारी दिए । ‘यतिखेर दैनिक झण्डै एक हजारदेखि एक हजार ५०० जनासम्म दर्शनार्थी रानीपौवा बजारका होटलमा बस्ने गरेका छन्’, उनले भने, ‘धार्मिक पर्यटकका साथै अन्य पर्यटकसमेतले यतिखेर यहाँको चहलपहल बढाएको छ ।’

पर्यटकहरू पोखराबाट हवाई यातायातका साथै स्थलमार्गबाट गाडी चढेर मुस्ताङ पुग्दछन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय मुक्तिनाथ मात्र पुगेर फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ हुँदै नेपाल–चीनबीचको नाका कोराला पुगेर फर्कन्छन् ।

पछिल्ला दिनमा स्थलमार्ग हुँदै दैनिक १५० बढी गाडी मुक्तिनाथ भित्रने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक विष्णु पल्ली मगरले जानकारी दिए । आन्तरिक पर्यटकका कारण जोमसोमका होटेलमा पर्यटक भरिए पछि त्यहाँ नजिकैको थकाली सामुदायिक घरवास, ठिनीमा पनि चहलपहल बढेको घरवासकी सचिव जुमा थकालीले जानकारी दिए ।

उनका अनुसार जोमसोमबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको ठिनीमा यस अघि पाँच घरमा घरवास कार्यक्रम चलाइएकोमा बढ्दो पर्यटकको आगमनसँगै हाल १४ घरमा सञ्चालन भएको छ ।

पोखरामा नयाँ वर्षका क्रममा आउने पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटेल सङ्घले फेवा नयाँ वर्ष महोत्सव गर्दै आएको छ । महोत्सव समेतका कारणले पनि यस समयमा यहाँको पर्यटकीय गतिविधि बढ्ने गरेको छ । फेवा नव वर्ष महोत्सवको १६औँ श्रृङ्खला यस वर्ष पनि यही चैत २९ गतेबाट वैशाख १ गतेसम्म हुने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

तालैतालको शहर पोखरामा पर्यटक लक्षित दुई पाँचतारे होटेल छन् भने १४ तीनतारे होटेल छन् । पोखरामा अन्य सुविधा सम्पन्न होटलको सङ्ख्या झण्डै ६०० रहेको छ । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेकोमा सन् १९८० को दशकदेखि यहाँको पर्यटनले गति लिएको हो ।

पोखराको सुन्दरतालाई विभिन्न गीतमा चित्रण गर्ने क्रममा मिलन लामा र विमाकुमारी दुराको ‘माझी दाइ पोखरा फेवातालको, लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’ गीतमा भने जस्तै पोखरा नवविवाहित जोडी एवं प्रेमी प्रेमिकाका लागि पनि उत्तिकै आकर्षक गन्तव्य बन्दै गरेको छ ।

पोखरामा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै यहाँका सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् । यी स्थलका साथै लेखनाथ क्षेत्रका वेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल पनि यहाँका महत्वपूर्ण स्थल हुन् । पछिल्ला समयमा पोखरा आसपासका विभिन्न स्थानमा पर्यटकको बसाइ लम्ब्याउने गरी पूर्वाधार निर्माण गरिएको छ ।

पोखरामा पर्यटकको बसाइ लम्ब्याउने सोचका साथ यहाँ नजिकैको पुम्दीकोटमा विशाल महादेवको मूर्तिसहितका संरचना बनाइँदै छ भने काहुँ डाँडामा बुद्ध मण्डला निर्माणको योजना अघि सारिएको छ । पोखरा बजार सहित यहाँका ताल र हिमाली दृश्यलाई एक साथ अवलोकन गर्न सकिने भरतपोखरीको हुडिकोट लगायतका स्थानको प्रवर्द्धनमा पनि यतिखेर स्थानीय तह क्रियाशील बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment