Comments Add Comment

दुर्भाग्यचाहिँ गोर्खाको छ क्या !

डा. हर्कबहादुरको प्रश्न– ‘एक्स्ट्रीम राइट’ लाई सघाउने पनि कम्युनिष्ट हुन्छ ?

२७ चैत, काठमाडौं । भारतमा संसदीय निर्वाचनको माहौल सुरु भइसकेको छ । पहिलो चरणको मतदान विहीबार हुँदैछ । पहिलो चरणको निर्वाचन हुने स्थानमा चुनावी प्रचार–प्रसार सकिएको छ । प्रथम चरणको मतदान हुन लागेका राज्यसँग जोडिने नेपालको सीमाना भारतले शिलबन्दी गरेको छ । नेपालीभाषीहरुको बसोबास रहेको दार्जीलिङ पहाडमा भने दोस्रो चरणमा, अर्थात् बैशाख ५ गते मतदान हुँदैछ ।

दार्जीलिङका प्रायः सबै उम्मेवारले गोर्खाल्याण्ड वा अलग गोर्खा राज्यको मागलाई आफ्नो चुनाबी एजेण्डा बनाउने गरेका छन् । दार्जीलिङबासीको भोट तान्नका लागि उनीहरु त्यसो गर्न बाध्य छन् ।

दार्जीलिङको चुनावको अर्को विशेषता के पनि छ भने उनीहरुले जति नै गोर्खाल्याण्डको माग गरे पनि भोट दिने बेलामा बाहिरकै उम्मेद्वारलाई जिताउँदै आएका छन् । यसपटक पनि बीजेपीले मणिपुरका युवा व्यवसायी राजु विष्टलाई पहाडमा उम्मेदवार बनाएको छ ।

आँखा चुनाव चिन्ह लिएर दार्जीलिङमा नयाँ राजनीतिक शक्ति निर्माण गरेका जनआन्दोलन पार्टी (जाप) का अध्यक्ष डा. हर्कबहादुर क्षेत्रीले पनि लोकसभा चुनावमा उम्मेवारी दिएका छन् । अहलेसम्म पश्चिम बंगालको विधानसभामा प्रतिनिधित्व गर्दै आएका क्षेत्री दार्जीलिङको नयाँ राजनीतिक शक्तिका चर्चित नेता हुन्, जसले आगामी चुनावमा बीजेपीसँग टक्कर गर्ने लक्ष लिएका छन् ।

राम्रो वाक् क्षमता भएका डा. हर्कबहादुरले हालै त्यहाँको स्थानीय मिडियालाई दिएको भिडियो अन्तरवार्ता सुन्ने हो भने गोर्खाल्याण्डको राजनीति बुझ्न सजिलो हुन्छ । यही सोचेर हामीले क्षेत्रीको रोचक अन्तरवार्ताका मुख्य अंशहरु यहाँ प्रस्तुत गरेका छौं ।

दार्जीलिङमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले बीजेपीका उम्मेवारलाई सघाएको गुनासो गर्दै क्षेत्रीले अन्तरवार्तामा भनेका छन्– ‘एक्स्ट्रिम लेफ्टले एक्स्ट्रिम राइटलाई समर्थन गरेको छ, अब आफैंलाई कम्युनिस्ट भन्न सक्छन् कि सक्दैनन्, उनीहरुको कुरा हो ।’

क्षेत्रीले दार्जीलिङको मिडियालाई दिएको अन्तरवार्ताको प्रमुख अंश:

चुनावको मुख्य एजेण्डा के छ ?

योपटक भिन्नै प्रकारले गर्दैछु । पहिला, जहाँ धेरै मान्छेहरु जम्मा हुन्छन्, त्यहाँ गएर भन्छु, म तपाईहरुको जेजे एजेण्डा छन्, तपाईको आवाजलाई संसदमा पुर्‍याउँछु । जस्तो–दार्जीलिङको समस्या हेर्‍यो भने जनताको ११० वर्षदेखिको आकांक्षा छ । त्यो सही छ कि छैन हामी जान्दैनौं । तर, त्यसका लागि तीन पटक आन्दोलन भएको छ, १५ सयजति मान्छे मरेका छन् ।

यहाँको अर्थ व्यवस्था तहस नहस भएको छ, मान्छेले पीडा खेपेका छन् । र पनि त्यो माग छोडेका छैनन् भने मैले जितेको खण्डमा संसदमा प्रश्न सोध्छु– एकपटक भनिदिनुस्, यो माग कहिलेसम्म पूरा हुन्छ, हामीले के गर्नुपर्छ ? पूरा हुँदैन भने के कारणले हुँदैन । त्यसमा हामी सहमत भयौं भने अर्को प्रश्न सोध्छौं– त्यसोभए अब के ? किनकि राजनीतिक सुरक्षा र परिचयको प्रश्न छ । यसलाई एकै पटकमा समाधान गर्न केन्द्र सरकारले पहल गर्नुपर्छ ।

हामीले जाने अनुसार गोर्खाल्याण्ड सम्भव छ । संविधानले राज्यको भौगोलिक आकार, जनसंख्या तोकेको छैन । हाम्रो भन्दा कम जनसंख्या भएको सिक्किम पनि राज्य छ, सानो आकारको गोवा पनि राज्य छ ।
यो पनि पढ्नुहोस लोकसभा चुनावमा दार्जीलिङका नेपाली भाषीको रुझान कता ?

बंगाल राज्य सरकार घरिघरि आर्थिक सम्भाव्यताको कुरा गरी बस्छ । दार्जीलिङ १०५ दिन बन्द हुँदा दशौं दिनमा हाइकोर्टले राज्य सरकारलाई सोधेको थियो, ती नोक्सान भयो, त्यसको हिसाव बुझाऊ ।’

राज्य सरकारले डेढ सय करोडको हिसाब बुझायो, जसमा २० करोड राज्य सरकारको नोक्सान भएको जोडेको थियो । १० दिनको नोक्सानी १३० करोड हो भने एक महिनामा ३९० करोड र एक वर्षमा चारहजार ६८० करोड । यदि सही तरिकाले सञ्चालन गर्ने मान्छे आयो भने हामी आर्थिक रुपमा सम्भव मात्र होइन, सबल हुन्छौं ।

भनेपछि गोर्खाल्याण्ड सम्भव छ ?

असम्भव त कांग्रेस र बिजेपीले पनि भन्न सकेको छैन ।

तर, एक समय हर्कबहादुर क्षेत्री आफैंले भनेको थियो नि इन्द्रेको बाउ चन्द्रे आए पनि गोर्खाल्याण्ड ल्याउन सक्दैन ।

पत्रकारहरुले घिरिघरि यसो भन्छन्, तर फस्ट पार्ट मात्र । सेकेन्ड पार्ट कहिल्यै भन्दैनन् । मैले इन्द्रेको बाउ चन्द्रे आए पनि एकै खेपमा गोर्खाल्याण्ड ल्याउन सक्दैन भनेको थिएँ । एकै खेपमा भन्ने शब्दावली बिर्सिए । अनि मैले भनेको कुराको एउटा टुक्रा टिपेर दोषी देखाउने कोशिस गर्छन् । हर्कबहादुर क्षेत्रीले इन्द्रेको बाउ चन्द्रे आएपनि एकै खेपमा गोर्खाल्याण्ड ल्याउन सक्दैन भनेको थियो । तर, हामीले ल्यायौं भन्न कोही आओस् न, अनि मानौंला ।

तपाईको नेतृत्वमा जनआन्दोलन, पार्टी गठन भएका बेला अलग राज्य गोर्खाल्याण्ड भन्नुभएको थियो ?

सेक्सपियरले ४०० वर्ष अगाडि भनेको ‘ह्वाट इज देयर इन म नेम, इफ यू कल अ रोज बाइ सम अदर नेम…’ हाम्रो मान्छेहरुले अहिलेसम्म बुझेका छैनन् । हामीलाई नाम त्यति महत्व हो ? नाम उच्चारण गर्नेहरुले यति थोत्रे बनाए कि चुहिने थाल बरु राम्रो होला । गोर्खाल्याण्डलाई त्यसरी थोत्रे बनायो । हामी त जनतालाई दुःख नदिई माथिल्लो स्तरमा चर्चा मात्र गरेर त्यहाँ पुर्‍याउन सक्छौं भन्ने आत्मविश्वास राख्छौं । क्षमता पनि छ ।

चुनावका बेला त गोर्खाल्याण्ड नै जनताले बुझ्ने सजिलो मुद्दा हुन्छ नि ?

फरक केही छैन । अलग राज्य भनेको पनि यही हो । अलग राज्य नभन्दा हठात बंगालीहरु आएर यहाँ बस्ने होइन । जो मान्छे यहाँ छन्, उनीहरुकै आकांक्षा पूरा गर्ने हो ।

चुनाव धेरै टाढा छैन । तपाईको पार्टीका कतिपय नेता भोटिङको दिनसम्म पनि छुट्टीमा रहेछन्, किन ?

महेन्द्र लामाले म भ्याइनँ, अरु काम थुप्रो छ भन्यो । अमर भाइको त्यस्तै भयो । घरी फुपू बिमार हुन्छ, घरी काकी ! जनआन्दोलन पार्टीमा नेतृत्वको अभाव छैन । कसैले छुट्टी माग्दा समस्या छैन । ठीक छ, जहिले भ्याउछौ आउ भनेका छौं ।

हाम्रो एउटा टोलीले सिलगुढीमा काम गरेको छ भने अर्को खर्साङमा । महासचिवहरु दार्जीलिङ आएर धेरै दिन बसे । अहिले म आएको छु । हाम्रा महासचिवहरु आएर एक हप्ता बसे, तपाईहरुले थाहा पाउनु भएन होला । खबर भन्नुपर्ने खालको भयो भने खबरबालाहरुलाई बोलाइन्छ, अरु बेला गरिँदैन । मोदीले पनि आक्रमण गर्दा मात्र न्यूज आयो नि । मिसाइल बनाएको, हवाइजहाजमा तेल हाल्दै गरेको देखाउन थाल्यो भने कहिले देखाइसक्नु ?

योपटक साझा उम्मेदवार बनाउने पहल सफल नहुनुको दोष तपाईमाथि लाग्यो नि ?

बागडोगरामा हाम्रो मिटिङ हुँदै गर्दा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले आरबी राईको उम्मेदवारी घोषणा गर्‍यो । त्यसलाई हेरेर वाई लामाले हाम्रो सम्भावित उम्मेदवार कि महेन्द्र पी लामा, कि त मनिष तामाङ हुन सक्छ भने । केही नभन्ने त हामी मात्र थियौं । जनआन्दोलन पार्टीले मात्र सर्वसम्मतिका लागि सोचेको थियो ।

२९ तारिखमा हामी दार्जीलिङ आएर क्रामाकपालाई सोध्दा चुनाव लड्ने नै भन्यो । त्यसोभए यस्तो रणनीति बनाउँ, हामी चुनाव प्रचारमा हामीलाई भोट नदिने हो भने क्रामाकपालाई दिनू भन्छौं । तपाईहरुले पनि हामीलाई भोट नदिने हो भने जाप (जनआन्दोलन पार्टी) लाई दिनू भन्नुहोस् भन्यौ। त्यसको आधा घण्टामा त आरबी राईले उम्मेदवारी फिर्ता पो लिएछन् ।

भनेपछि क्रामाकपाले भाजपाका उम्मेदवारलाई समर्थन गरेर राम्रो गरेन ?

यो उनीहरुको कुरा हो, म केही भन्दिनँ । उम्मेदवारी फिर्ता लिएपछि चुप लागेर बस्दा पनि हुन्थ्यो । तर, एउटा एक्स्ट्रिम लेफ्टले एक्स्ट्रिम राइटलाई समर्थन गरेको छ । अब आफैंलाई कम्युनिस्ट भन्न सक्छन् कि सक्दैनन्, उनीहरुको कुरा हो । तर, सिद्धान्ततः आफूलाई कम्युनिस्ट भन्ने आधार पूराका पुरी तोडेका छन् ।

५ वर्ष विधानसभामा हुँदा तपाईले गोर्खाल्याण्डको आवाज नउठाएको आरोप छ नि ?

विचरा तिनीहरुलाई के चिज कहाँ माग्नुपर्छ थाहै छैन । कुन कुरा कहाँ उठाउने भनेर संविधान पढेकै छैन । यहाँ हल्ला गर्ने मान्छेलाई नेता भन्छन्, काम गर्नेलाई नेता भन्दैनन् । दुर्भाग्यचाहिँ गोर्खाको छ क्या !

विधानसभामा मैले जबरजस्ती त्यो कुरा उठाएँ वा लेखेर दिएँ भने पहिले त स्पिकरले नै काटिदिन्छ । किनभने, यो विषय त्यहाँ उठाउने विषय होइन । र, पनि म जबरजस्ती कराएँ भने मार्सलले बोकेर बाहिर निकाल्छ ।

ल, हर्कबहादुरले त उठाएन । मोर्चाका तीनजना विधायक गए नि, अहिले पनि छन्, किन बोलेनन् ? किनकि बोल्नै पाइँदैन । पागल वा अब्बल दर्जाको इडियट हो भनेचाहिँ बोल्छ ।

तर, चुनावमा त मुद्दा गोर्खाल्याण्ड नै थियो नि त ?

थियो । तर, एकजना लोकसभामा पनि जितेर गएको थियो । ऊ बोल्ने ठाउँमा जितेर गयो, तर बोलेन । अनि बिँड तातेर हुन्छ ?

भनेपछि, विधानसभामा गोर्खाल्याण्डको माग उठाउन सकिँदैन ?

कसैले उठाउँछ भने खबर बनाउनका लागि उठाउँछ, एकपटक जनताको आँखामा धुलो छर्न उठाउँछ । हामी त्यो खालको सस्तो राजनीति गर्दैनौं । जुन कुरा जहाँ उठाउँदा हुन्छ, त्यहाँ उठाउँछौं ।

मैले कालिङपोङ जिल्ला बनाउँदा पनि मिति भनिनँ । कहिले हुन्छ भनेर सोधिँदा भोलि पनि हुन सक्छ, चार वर्ष पनि लाग्न सक्छ भनें । राजनीति भनेको एक्सपायरी डेट हुने औषधि होइन । राजनीतिक इच्छाशक्ति भयो भने भोलि पनि हुनसक्छ, भएन भने त्यसै टारेर जान सक्छ ।

अहिलेसम्म गोर्खाल्याण्डको नाममा जति जना लोकसभामा गए, कसैले पनि त गोर्खाल्याण्डको माग उठाएनन् हैन ?

यो हाम्रो पनि गल्ती हो ।

जित्नुभयो भने तपाईले पनि गोर्खाल्याण्डको आवाज उठाउनुहुन्छ भन्ने के ग्यारेन्टी छ ?

हाम्रो पार्टी बनेको तीन महिनामा नै विल (कानून) बनायौं । दिल्ली गएर दुई वर्ष लगातार संसदको हरेक सेसनमा धर्ना दियौं, कन्स्टिच्युसनल क्लबमा दुईपटक समगोष्टि गर्‍यौं । यो सबै कामकारबाही हाम्रो म्युनिसिप्यालिटी, ग्राम पञ्चायतलाई ध्यानमा राखेर गरेनौं, पुरा कार्यक्रम दिल्लीमा केन्द्रित गर्‍यौं । बिल पेश गर भनेर आरुवालियाको घर जाँदा पुलिस लगाएर हाम्रा केटाहरुलाई २४ घन्टा हिरासतमा राख्यो । हामीले भनेका थियौैं– तिमीले गोर्खाल्याण्डको लागि म्याण्डेट लिएको हो, त्यो गर्न सक्दैनौं भने राजीनामा दिनुपर्छ ।

तर, जो सत्तामा थिए उनीहरुले यसो भनेनन् । यहाँ अचम्म छ, गोर्खाल्याण्ड ल्याउँछु भनेर एउटा ठूलो पार्टी बन्छ । पत्रकार चाहिँ जनता जसलाई चुनेकै छैन, उसलाई के भो गोर्खाल्याण्ड भनेर सोध्छ । गोर्खाल्याण्ड बनाउँछु भनेर चौकीमा बस्ने मान्छे घुस खाइरहेको छ, घर बनाइरहेको छ, गाडी किनिरहेको छ, अरु केके गरिरहेको छ ।

रुलिङ पार्टीले प्रश्न नआओस् भनेर घुमाएर विपक्षीलाई सोध्न लगाउँछ । विपक्षी पनि स्वाँठ हुन्छ, तिमीले यो प्रश्न मलाई किन सोधेको भन्ने आँट गर्दैन । त्यति बुद्धि पनि छैन, जुक्ति पनि दिन सक्दैन ।

ममता बेनर्जीसँग सम्बन्ध राम्रो हुँदासम्म तपाई राज्य सरकारसँग दार्जीलिङ पहाड एकसाथ हिँड्छ भन्नुहुन्थ्यो नि ?

भनेको थिएँ । जनताले के बुझ्नुपर्छ भने विधानसभामा पनि पार्टीले छानेर पठाउने हो । त्यहाँ काम गर्न पठाएको हो न कि झगडा गर्न । त्यहाँ नमिलेको भए कुनै एमएलएले आफ्नो निर्वाचन क्षेत्रमा ५/५ वटा कलेज र सबडिभिजनलाई डिस्ट्रिक बनाउन सक्छ ? यो त मिसाल हो, भविश्यमा आउने कसैले गर्न सक्दैन भन्छु म त, जुन मैले गर्न सकेँ ।

जबकि, १९९७ मा आएको एउटा कलेज बाहेक अरु के आएको थियो ? राजनीतिबाट कसैले केही गरेको छ भने त्यो हर्कबहादुरले गरेको छ आजसम्म । मभन्दा बेसी कसैले गर्छ भने सलाम गर्छु, केही नगर्ने मान्छेलाई ध्यानै दिन्नँ ।

पर्जापट्टाको मुद्दालाई पनि ध्यान नदिएको देखिन्छ नि ?

त्यो कुरा त मैले एनआरसीको कुरामा पनि भनेँ । एनआरसी लगाउ तर, पहिला चिया बगानमा बस्ने ६० प्रतिशत जनसंख्यालाई पर्जापट्टा देऊ । भारत स्वतन्त्र भएको ७०/७५ वर्ष भयो, तर २०० वर्षदेखि बसेकाहरुलाई न्याय गर्न सक्दैन । हामी माइग्रेन्ट (आप्रवासी) हौं भने सिनियर माइग्रेन्ट हौं, इण्डिया जुनियर माइग्रेन्ट हो । जुनियरले सिनियरमाथि औंला उठाउन सक्दैन ।

हालै ममता बनर्जीले पर्जापट्टाका लागि कमिटी बनाउने घोषणा गरेकी छन्, यो चुनावी स्टन्ट मात्र हो ?

त्यो त मुख्यमन्त्रीले नै भन्न सक्छ । तर, गर्‍यो भने त्यो गोर्खाल्याण्डका लागि हुन्छ । तर, गर्ने हो भने चुनाव अगाडि गर्नुपर्छ । होइन भने जनता अण्डा पार्ने पोथी जस्तो हुन्छ ।

आफ्ना प्रतिस्पर्धीहरुलाई कसरी लिनु भएको छ ?

अमरसिंह राई जेन्टल म्यान हुन् । उहाँ त्रिणमुल कांग्रेसको उम्मेदवार हो, गोर्खाल्याण्डको मुद्दा उद्दा उठाउने कुरा आएन । अर्को पट्टि राजु विष्ट छ, जो आफूलाई फयाक्ट्रीको मालिक र जनतालाई काम गर्ने नोकर सम्झन्छ । त्यसलाई जितायो भने यो दार्जीलिङको मान्छे धुरुधुरु रोइरहेको हुनेछ ।

अनि बीजेपीले मुद्दा नै उठाउँदैन । मोदी खाली राम्रो भाषण गर्ने मान्छे हो । आज उसले सर्जिकल स्ट्राइकको क्रेडिट लिँदैछ । यस्तो पाराले भन्दैछ कि प्लेन मोदी आफैंले उडाएर बम खसालेको हो । आफूले गरेको कामको कुरा गर न । कति ल्यायौं कालो धन ? १५ लाख सबैको खातामा पस्छ भनेका थियौं, पस्यो ? लु राष्ट्रिय मुद्दा छाडौं, हाम्रो तहमा आऊ । २०१४ मा चियालाई मिनिस्ट्री भित्र हाल्छु भनेका थियौ, हाल्यौ ? गोर्खाको सपना मेरो सपना भनेका थियौ, त्यो के भयो ?

एकपटक झुक्किएको हो भने माफ दिन सकिन्छ । दुई पटक झुक्किए कस्तो मान्छे हो भन्न सकिन्छ । तीनपल्ट झुक्कियो भने त्यसको भाग्यमै झुक्किनु लेखेको छ भनिन्छ । राजु विष्ट भन्दैछ, उसलाई नहेर्नु रे, मोदीलाई हेर्नु रे । अरे, त्यही मोदीले त अधोगति बनाइराखेको छ, फेरि त्यसलाई नै किन हेर्नु ? दुई–दुई पटक ठगेको बीजेपीलाई फेरि किन चान्स दिने ?

भनेपछि हर्कबहादुर क्षेत्री मात्रै ठिक हो ?

मैले आफूलाई बेठीक सम्झेको भए त उठ्ने नै थिइनँ नि । कस्ता कस्ता बेठीकहरुले आफूलाई ठीक सम्झिराखेको छ, म त सम्पूर्ण बंगालले चिन्ने एकजना मात्र हो । पाँचवटा कलेज ल्याएँ, कालिङपोङलाई जिल्ला बनाएँ ।

१८ अप्रिलका लागि मतदातालाई के अपील गर्नुहुन्छ ?

राजनीति र नेतृत्व भनेको गम्भीर चिज हो । म मान्छेलाई किन हँसाउछु भने जर्ज बर्नहाटले भनेका छन्– ह्युमर छैन भने त्यो इन्टेलेक्चुल होइन । समाजमा जुनखालको असन्तुलन छ, त्यो हेरेर हाँस्छ मान्छे । कार्टुन हेरेर किन हाँस्छ भने जिउ मिलेको तर, नाक लौका जस्तो हुन्छ । त्यो अनुपात मिलेन भनेर हाँसेको हो ।

राजनीति सबभन्दा अनुपात नमिलेको चिज हो । गोर्खाल्याण्ड भन्छ, पैसा ल्याउँछ र अर्कै काम गर्छ । मान्छेहरु थपडी मार्छन् । म ती मूर्खहरुलाई देखेर हाँस्छु ।

म्युनिसिप्यालिटीको चुनाव गोर्खाल्याण्डको मुद्दामा लड्यो । अब पञ्चायतमा पनि गोर्खाल्याण्डका लागि भोट दिनुस् भन्छ । गोर्खाल्याण्ड माग्नुपर्ने ठाउँमा कुरै उठाउँदैन । मान्छेहरु फेरि थपडी मार्छन् ।

त्यसैले मैले भन्ने गरेको छु– थपडी नमार । अहिलेसम्म भरिया भएका छौ । सुवास घिसिङको पालादेखि जहिल्यै एउटा लस्कर बागडोगरा झर्छ र एकजना बाहिरिया उम्मेदवारलाई थपडी मार्दै, पटका पड्काउँदै, बाजा बजाउँदै लिएर आउँछ ।

तीन वर्षपछि ‘बालक हराएको सूचना’ भन्दै त्यही मान्छेको फोटो टाँस्छ र जथाभावी गाली गर्छ । जसवन्त सिंह पनि हराएको सूचना टाँसियो, गाली गरियो । हिजो स्वागतमा थपडी मार्नेहरु गालीको भाषणमा पनि थपडी नै मारिरहेका हुन्छन् ।

जुन जातिमा आफ्नो क्षेत्रबाट एउटा उम्मेदवार चुन्ने क्षमता र आत्मविश्वास छैन, यत्रो चलाउँछ अलग राज्य ! अलग राज्य चलाउन त यहाँ (दिमाग देखाउँदै ) पो हुनुपर्छ त । अलग राज्य कसैले ल्याएर लु चला भन्ने होइन, ‘मेन्टालिटी’ हुनुपर्छ ।

मोदीको दललाई ठूलो समर्थन छ । भोलि त्यत्रै समर्थन मेरो दललाई भयो चने हर्कबहादुर क्षेत्री प्रधानमन्त्री हुनुहुँदैन भनेर संविधानमा लेखेको छैन । म पनि प्रधानमन्त्री भएर चलाउन सक्छु । नागरिकको हैसियतमा मोदी र म समान हो, धेरैले समर्थन गरेकाले ऊ ठूलो मान्छे भएको हो । कुनै दिन धेरैको समर्थन पाएँ भने मेरा लागि पनि त्यो ठाउँ सुरक्षित छ भन्ने आत्मविश्वास भएन भने राजनीतिमा जहिल्यै झोला बोकेर ‘हजुर’ भन्नुपर्ने हुन्छ । म दार्जीलिङको जनतालाई रैती नबन, जनता बन भन्दैछु । हामी जनता हुने मौका दिन आएका हौं भन्दैछु ।

स्रोतः डीटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment