Comments Add Comment

नरेन्द्र मोदीलाई अत्याउने कन्हैया कुमार !

कट्टरपन्थीहरुमा भय उत्पन्न गराउने विद्रोही युवाको चर्चा

२४ चैत, काठमाडौं । भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावको सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीच नै हुने भएता पनि अन्य दलका पनि केही उम्मेदवार निकै चर्चामा छन्, जसमध्येका एक हुन् बिहारका कम्युनिष्ट उम्मदेवार– कन्हैया कुमार ।

भारतीय राजनीतिमा एक समय अरविन्द केजरीवालको व्यापक चर्चा थियो । अहिले पनि केजरीवाल र उनको आम आदमी पार्टीले भारतीय सत्तारुढ दललाई दिल्लीमा हाराबारा खेलाइरहेकै छ ।

र, यसैवीच अहिले बिहारमा प्रखर युवा कन्हैया कुमार खडा भएका छन् नरेन्द्र मोदीको पार्टीलाई चुनौती दिन । तर, ती युवाले बेग्लै पार्टी खोलेर नभई कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा बीजेपीलाई वैचारिक चुनौती दिँदैछन् ।

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) बाट बिहारको बगुसरायमा खडा भएका यी युवाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध नारा लगाउँदा उनलाई राष्ट्रद्रोहको मुद्दामा जेल हालिएको थियो ।

कन्हैया कुमार यतिबेला भाजपा सरकारको साम्प्रदायिक राजनीतिबाट पीडित अल्पसंख्यक भारतीयहरुका लागि एक विद्रोही आवाज बनेका छन् ।

इन्डिया टुडेले हालै कन्हैयाको घरमै पुगेर एउटा भिडियो रिपोर्टिङ गरेको छ, जसबाट उनको पृष्ठभूमि बुझ्न सहयोग मिल्छ । खपडाले छाएको जीर्ण अवस्थाको उनको घरभित्र अहिले पनि दाउरामा खाना पाक्छ । मान्द्रोले बेरिएको भान्सा छ, जहाँ केही टेबुलहरु राखिएका छन् । घरमा एउटा असाध्यै थोत्रो साइकल छ ।

घरको अवस्था हेर्दा नै कन्हैयाप्रति जो कसैको श्रद्धा जागृत हुन्छ । पीएचडीसम्मको अध्ययन सिध्याएका उनले चाहेमा गतिलो जागिर खाएर मज्जाको लाइफस्टाइल बिचाउन सक्थे । तर, उनी व्यक्तिगत सुख सयलको तृष्णालाई बिर्सेर एउटा निष्ठा र समर्पणको राजनीतिमा होमिएका छन् ।

को हुन् कन्हैयाकुमार ?

सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार । उनका बुवा जयशंकर सिंह केही वर्षदेखि प्यारालाइसीसबाट थलिएका छन् । आमा मिनादेवी एउटा बालस्याहार केन्द्रमा काम गर्छिन् । दाजु मणिकान्त एउटा प्राइभेट अफिसका जागिरे हुन् । कन्हैया उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् ।

आफ्नो गाउँ नजिक रहेको मस्नापुरस्थित एक विद्यालयमा कन्हैयाले ६ कक्षासम्म पढेका थिए । त्यसपछि बराउनीमा रहेको आरकेसी स्कुलबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । १० कक्षा पास भएपछि उनले छिमेकी गाउँ मोकामामा रहेको आरआर सिंह कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यहाँ प्रमाणपत्र तहको अध्ययनपछि स्नातक पढ्न पटना गए । २००७ मा कलेज अफ कमर्सबाट उनले भूगोलमा स्नातकतकोत्तर अध्ययन पूरा गरे ।

अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरु युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ अध्ययन गर्ने क्रममा नै उनको जीवनले नयाँ मोड लियो र उनी देशब्यापी चर्चित बने ।

आमाले कन्हैयालाई प्रोफेसर बनाउन चाहन्थिन् । तर, कलेजका दिनहरुमा कन्हैया राजनीतितर्फ आकृष्ट भए । उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए । एआईएफसीले जेएनयू स्टुडेन्ट यूनियनमा अध्यक्ष जितेको त्यो पहिलोचोटि थियो ।

के भएको थियो जेएनयूमा ?

जेएनयूमा पढ्दै गर्दा सन् २०१६ को फेबु्रअरीमा कन्हैयार्लाइ प्रहरीले केही साथीहरुसहित पक्राउ गर्‍यो । उनीहरुविरुद्ध क्याम्पसभित्र अराजक गतिविधि गरेको आरोप लगाइएको थियो ।

भारतीय संसदमा भएको आक्रमणका आरोपी अफजल गुरुलाई फाँसी दिने निर्णयको विरोध गर्दै कन्हैयाको नेतृत्वमा क्याम्पसमा प्रदर्शन गरिएको र काश्मिरलाई समेत जोडेर राष्ट्रविरोधी नारा लगाइएको भन्दै भाजपाका एक नेताले प्रहरीमा उजुरी गरेका थिए । क्याम्पस प्रशासनले समेत उनलाई १० हजार भारु जरिवाना गराएको थियो । तर, कन्हैयाले राष्ट्रविरोधि नारा लगाएको आरोप अस्वीकार गरेका थिए । पछि अदालतले क्याम्पसको निर्णयलाई अवैध र अविवेकी ठहर गरेको थियो ।

कन्हैया कुमारको गिरफ्तारीको विपक्षी पार्टी, विद्यार्थी तथा बुद्धिजिवीहरुले कडा विरोध गरे । जेएनयूका विद्यार्थीहरुले लामो समय हड्ताल गरे । पटियाला हाउस कोर्टमा कन्हैयालाई उपस्थित गराइँदा त्यहाँ पुगेका जेएनयूका प्रोफेसर विद्यार्थीका साथै पत्रकारमाथि आक्रमण भएको थियो । आक्रमणमा भाजपाका सांसद समेत संलग्न थिए ।

सन् २०१६ को मार्च २ मा दिल्ली उच्च अदालतले कन्हैयालाई ६ महिनाका लागि १० हजार भारुको अन्तरिम धरौटी दियो । न्यायाधिस प्रतिभा रानीले कन्हैयाले राष्ट्रविरोधि नारावाजी गरेको कुनै प्रमाण नभेटिएको बताइन् ।

रिहा भएको भोलीपल्ट कन्हैयाले जेएनयू क्याम्पसको भरिभराउ अडिटरियममा भाषण दिए । जसमा उनले भारतबाट स्वतन्त्रता खोजेको नभएर भारतभित्र स्वतन्त्रता खोजेको बताएका थिए । भाजपा समर्थित राष्ट्रिय स्वयम्सेवक संघले भारतलाई सम्प्रदायका आधारमा विभाजन गर्न खोजेको उनले आरोप लगाएका थिए । उनले आजादी ­(स्वतन्त्रता) को नारा लगाएर भाजपाइतर सम्पूर्ण शक्तिहरुलाई आफूतर्फ ध्यानाकर्षण गराउन सफल भए ।

अदालतबाट धरौटीमा छुटपछि कन्हैयालाई ज्यान मार्ने धम्कीहरु आउन थाले । भाजपाको युवा संगठनका एक नेताले त उनको जिभ्रो काट्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा नै गरे । साथै उनलाई गोली हान्नेलाई ११ लाख दिने भनेर नयाँ दिल्लीमा पोस्टरहरु टाँसिएका थिए ।

८ मार्च २०१६ मा अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सम्वोधन गर्दै कन्हैयाले काश्मिरी महिलाको बलत्कारमा भारतीय सेना संलग्न भएको आरोप लगाएका थिए ।

भाजपासँग टक्कर

बगुसराय परम्परागतरुपमा कम्युनिष्ट पार्टीको गढ हो । तर, पछिल्लो समयमा भने भारतीय जनता पार्टीले यो गढ भत्काएर आफ्नो पकडमा लिएको छ । यसपालि भाजपाका भेट्रान उम्मेदवार गिरिराज सिंहसँग कन्हैयाको भिडन्त हुने छ । गिरिराज पूर्वमन्त्रीसमेत हुन् । त्यसो त त्यसो त आरजेडीका तनवइीर हसन पनि प्रतिस्पर्धामा धेरै पछाडि छैनन् ।

भूमिहार समुदायको हुनु कन्हैयाको प्लस प्वाइन्ट हो । यस क्षेत्रमा भूमिहारको जनसंख्या साढे ४ लाख छ । सीपीआईले उनलाई ‘सन अफ सोयल’ (भूमिपुत्र) भनेर प्रोजेक्ट गरिरहेको छ ।

अर्को उनको बलियो पक्ष हो राष्ट्रिय छवि । उनी देशले नै आशा गरेका युवा नेता हुन् । खासगरी अल्पसंख्यक र सिमान्तकृत जनताको समुहले उनलाई भरोसा गरिरहेको छ । मुस्लिम समुदायले समेत कन्हैयाप्रति सहानुभूति राख्छन् । तर, आरजेडीले मुस्लिम उम्मेदवार उठाएकाले उनलाई घाटा लाग्नेछ ।

सीपीआई भने कन्हैयाको जितमा ढुक्क देखिएको छ । एक स्थानीय नेता भन्छन्, ‘यस क्षेत्रमा लामो समयपछि हाम्रो पक्षमा उभार आएको छ । हामीसँग प्रतिस्पर्धामा कोही पनि देखिएको छैन ।’

आर्थिक रुपमा विपन्न भएकाले कन्हैयाले जनसहयोगबाट चुनावी अभियान सञ्चालन गरिरहेका छन् । उनका लागि निर्वाचन आयोगले तोकेको अधिकतम सिमा ७० लाख भारु जम्मा गर्ने अभियान चलिरहेको छ । अहिलेसम्म करिब ३५ लाख संकलन भएको कन्हैयाले इन्डिया टुडेलाई बताएका छन् ।

भारतमा अतिवादी राजनीति गर्नेहरुले भने कन्हैया कुमारलाई देखि सहन्नन् । हालै हिन्दूवादी कट्टरपन्थी दल शिव सेनाका नेता सञ्जय राउतले एउटा लेख लेख्दै कन्हैयालाई कुनै पनि मूल्यमा हराउनुपर्ने उल्लेख गरेका छन् ।

यदि कन्हैयाले जितेको खण्डमा भारतीय संविधानको हार हुने समेत राउतको तर्क छ । यतिसम्म कि उनले आवश्यक पर्‍यो भने इलेक्ट्रोनिक भोटिङ मेसिनमा गडबडी गरेर भए पनि हराउनुपर्ने बताएका छन् । यसबाट पनि थाहा हुन्छ कि कट्टरपन्थीहरुमा कन्हैयाको भय कति छ ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment