+
+
Shares

यूएईले भिसा कडाइ गरेपछि रोकियो ४ हजार बढी नेपालीको अनुमतिपत्र

दिनहुँ समस्यामा फस्दै नेपाली

यूएईको भिसा दिन कडाइपछि ‘मोल’ अर्थात् यूएईको श्रम मन्त्रालयले जारी गर्ने अनुमतिपत्र पाएका ४ हजारभन्दा बढी नेपाली समस्यामा परेका छन् । जेनजी आन्दोलनपछि मोल आएका उनीहरूले भिसा पाउन सकेका छैनन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ कात्तिक १३ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईले जेनजी आन्दोलनपछि नेपालीलाई भिसामा कडाइ गर्दै ३० भदौदेखि भिजिट भिसा बन्द गरेको थियो, तर वर्किङ भिसामा कडाइ यथावत छ।
  • यूएईको श्रम मन्त्रालयले जारी गरेको अनुमतिपत्र (मोल) पाएका ४ हजारभन्दा बढी नेपालीले भिसा पाउन सकेका छैनन्।
  • नेपाल सरकारले यूएईको भिसा कडाइबारे औपचारिक जानकारी नपाएको र कूटनीतिक पहल नगरेको श्रम मन्त्रालयका प्रवक्ताले बताए।

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन लगत्तै युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गर्‍यो । ३० भदौदेखि भिजिट भिसा बन्द गरेको यूएईले पछि त्यसमा कडाइ गर्दै खुला गरेको थियो । तर, वर्किङ भिसामा गरिएको कडाइ भने यथावत छ ।

यसले गर्दा वैदेशिक रोजगारीमा यूएई जान खोज्ने नेपाली समस्यामा परेका छन् । उनीहरूले यूएईको विकल्पमा अन्य देशतर्फ जान थालेका छन् ।

यूएईको भिसा दिन कडाइपछि यूएईको श्रम मन्त्रालयले जारी गर्ने अनुमतिपत्र   अर्थात् ‘मोल’  पाएका ४ हजारभन्दा बढी नेपाली समस्यामा परेका छन् । जेनजी आन्दोलनपछि मोल आएका उनीहरूले भिसा पाउन सकेका छैनन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव तथा निलकमल ह्युमन रिसोर्स प्रालिका अध्यक्ष मेघनाथ भुर्तेलका अनुसार मोल आएका ४ हजारभन्दा बढी नेपालीले भिसा पाउन नसकेका हुन् ।

‘मोल आएका ४ हजारभन्दा बढी श्रमिक समस्यामा छन्, यूएईका कम्पनीले सेलेक्सन गरेर सबै प्रक्रिया पूरा गरेर मोल आएर बसेका छन्, उनीहरूलाई भिसा दिइएको छैन्,’ भुर्तेलले भने, ‘त्यो मोल लिँदासम्म एउटा नेपाली नागरिकले काठमाडौं आएर इन्टरभ्यु फेस गरेर मेडिकल गरेर घर फर्किंदासम्म २५ देखि ३० हजार रुपैयाँ खर्च गरिसकेका हुन्छन् ।’

निम्न आयस्रोत भएका तथा ऋण निकालेर विदेश जान खोजेका युवाहरूको त्यत्रो पैसा खर्च भइसकेको छ । सामान्य लेबर काममा जान्छु भनेर प्रक्रिया पूरा गरेका युवाको त्यत्रो पैसा खर्च भइसके पनि भिसा नआएपछि उनीहरू समस्यामा परिरहेको उनको भनाइ छ ।

मेडिकल गरेर, मेडिकल पास भएर, इन्टरभ्यु फेस गरेर, इन्टरभ्यु पास भएर, डकुमेन्ट फाइनल गरेर सबै प्रक्रिया पूरा गरेर मोल आएकाहरूको हालत बिजोग रहेको उनको भनाइ छ ।

मोल आएपछि भिसाका लागि पैसा तिर्नुपर्ने हुन्छ । तर, त्यो नै आइसकेकाहरूले भिसा रोकिएपछि पैसा तिर्न र जान नपाएको उनको भनाइ छ ।

जेनजी आन्दोलनका कारण आफ्नो देशमा सुरक्षा खतरा हुने भन्दै यूएईले नेपालीलाई भिसा दिन कडाइ गरेको हो । यसअघि गत वर्ष बंगलादेशमा भएको हिंसापछि समेत त्यहाँका नागरिकलाई भिसामा कडाइ गरेको थियो । जुन अहिलेसम्म यथावत छ ।

यूएई बस्ने नेपालीहरू समेत भिसा समस्या लिएर दैनिक दूतावासको सम्पर्कमा पुग्ने गरेका छन् ।

यूएईस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार भिसाको समस्या लिएर दूतावासमा दैनिक फोन तथा ह्वाट्सएप मार्फत म्यासेज गर्नेहरूको संख्या बढिरहेको छ ।

‘धेरैजसोले भिजिट भिसाको समस्या लिएर फोन गर्छन्, भिजिट भिसामा गएर काम गरिरहेकाहरूको भिसा अवधि सकिन लागेकाले कहिले खुल्छ, के हुन्छ भनेर फोन गर्छन्,’ दूतावासका ती अधिकारीले भने ।

त्यस्तै एउटा कम्पनीमा काम गरिरहेका, तर कम्पनी चेन्ज गर्न खोज्दा भिसा समस्या भयो भनेर समेत फोन गर्ने गरेको उनले बताए ।

त्यस्तै यूएईमा काम गरिरहेका, तर नेपालबाट परिवार ल्याउन खोज्दा समेत समस्या भइरहेको भनेर फोन आउने गरेको उनको भनाइ छ ।

भिजिट भिसामार्फत यूएई गएकाहरूले आफ्नो भिसा वर्किङमा परिणत गर्ने सुविधा छ । तर, अहिले भिजिट भिसामा निकै कडाइ गरेसँगै उनीहरूलाई थप मर्का परेको छ ।

भिसाको मिति सकिँनै लाग्दा उनीहरू न वर्किङ भिसामा कर्न्भट गर्न सक्ने अवस्थामा छन्, न भिजिट भिसाको म्याद थप गर्न सक्ने अवस्थामा छन् । जसले गर्दा उनीहरू निकै मर्कामा परेको देखिन्छ ।

अनलाइनखबरको सम्पर्कमा आएका केही युवाले भिजिट भिसामा निकै कडाइ तथा वर्किङ भिसामा समेत कडाइ गरेपछि समस्या भइरहेको बताए ।

‘भिसामा कडाइ गरेपछि घर फर्किनुपर्ला भन्ने सोचेको थिएँ, भिजिट भिसामा नयाँ मापदण्ड लागु गरेपछि म्याद थप गर्न सकिएन,’ एक युवाले भने, ‘भिजिटबाट वर्किङमा कन्भर्ट गर्नसमेत दिएको छैन, मजस्ता धेरै साथीहरू के गर्ने भनेर तनावमा छौं ।’

भुर्तेल भने नेपाली श्रमिकहरू दिनहुँ भिसाको समस्यामा फस्दै गइरहेका बेला नेपाल सरकारले केही पहल नगरेको बताए । म्यानपावर व्यवसायीहरूको संस्था वैदेशिक रोजगार व्यवसायी संघले समेत केही पहल नगरेको उनको भनाइ छ ।

नेपालमा भएको जेनजी आन्दोलन क्रममा विभिन्न जेलबाट फरार भएका कैदी आफ्नो देशमा आउने यूएईको दाबी तर्कसंगत नभएको उनको भनाइ छ ।

‘अहिले जेलबाट भागेकाहरू आफैंमा ब्ल्याकलिस्टेड हुन्छन्, तिनीहरूको हातमा पासपोर्ट हुँदैन,’ भुर्तेलले भने, ‘तिनीहरू आजको आजै पासपोर्ट बनाएर, भिसा लगाएर यूएई जान सक्ने अवस्था हुँदैन ।’

सुरक्षा चुनौती बढ्ने खतराका हकमा तत्कालको प्रहरी रिपोर्ट अनिवार्य गरेर पठाउन सकिने र त्यसका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनले बताए ।

‘सरकारले कूटनीतिक पहल गरेन, सरकारविहीन भएको अवस्थामा संघले समेत आफ्नो सम्बन्धित मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराउनुपर्ने हुन्थ्यो तर त्यो पनि देखिएको छैन्,’ भुर्तेलले भने ।

भिसा कडाइ गरिएको विषयमा संघले हालसम्म एउटा विज्ञप्ति समेत जारी गर्न नसकेको उनको आरोप छ ।

संघ सचिव कुन्छादोर्जे डिम्दोङले भिसामा देखिएको समस्या समाधानका लागि संघले पहल गरिरहेको बताए । सरकारको ध्यानाकर्षण गराउनेदेखि विभिन्न पहल भइरहेको उनको भनाइ छ ।

सरकारले समेत यूएईले भिसा रोकेको तथा कडाइ गरेको विषयमा औपचारिक जानकारी नआएको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले भिसामा समस्या देखिएको विषयमा औपचारिक जानकारी नआएको बताए ।

‘भिसा रोकिएको तथा कडाइ गरिएको विषयमा मन्त्रालयलाई औपचारिक जानकारी छैन, त्यो विषय सञ्चारमाध्यममा आएका थिए,’ घिमिरेले भने, ‘भिसाको विषय परराष्ट्र मन्त्रालय मार्फत हुने भएकाले हामीलाई केही जानकारी छैन् ।’

व्यवसायीहरूका तर्फबाट पनि अनौपचारिक गफगाफ हुँदा भिसाको विषय आएको तर औपचारिक जानकारी नआएको उनको भनाइ छ । वर्किङ भिसाका हकमा तत्कालको प्रहरी रिपोर्ट मागिरहेको भन्ने विषय आइरहेको उनले बताए ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?