१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले भौगोलिक, सांस्कृतिक पहिचान सहितको संघीयता र समुदायमा आधारित समाजवादलाई मुख्य नारा बनाएर नयाँ दल खोलेको बताएका छन् ।
निर्वाचन आयोगमा बिहीबार दल दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने, ‘नेपालको राजनीति अत्यन्त धुमिल भयो । राजनीति गर्नेहरूले नै नागरिकमाथि राजनीति गर्न थाले । त्यसकारण देश जोगाउन, राष्ट्र र राष्ट्रियताका लागि सही, सत्य र यथार्थ राजनीति गर्नुपर्छ भनेर नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) लाई राजनीतिक दलको रूपमा दर्ता गराएका हौं ।’
नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षको रूपमा जेनजी पुस्ताकै कबिर सोबलाई अध्यक्ष बनाएको भन्दै उनले कबिर पढेलेखेको विद्वान व्यक्ति, देश-विदेशको भ्रमण गरेको र नागरिकको आम यथार्थ बुझ्ने टिकापुरकै चौधरी परिवारको चेलीबेटी र एउटा दलितको पुत्र भएको बताए ।
‘कबिरले टिकापुरको घटना आफ्नै आँखाले देख्नुभयो । टिकापुरमा विभेद् र दमनको अवस्था र परकाष्ठा र सिंगो समुदायमाथिको ज्यादती उहाँले आफ्नै आँखाले नियाल्नु भयो । हामीले उहाँलाई बनाएका छौं,’ उनले भने ।
उनले अगाडि भने, ‘माननीय अब्दुल खानजी यसभन्दा अगाडि अर्को पार्टीमा हुनुहुन्थ्यो । उहाँ यसभन्दा अगाडिको सरकारमा मन्त्री हुनुहुन्थ्यो। एउटा समितिको सभापति हुनुहुन्थ्यो । उहाँ पनि हाम्रो वैकल्पिक बाटोमा डोरिन सक्छौं भनेर हातेमालो गर्नुभएको छ ।’

नागरिक उन्मुक्ति पार्टी नेपालको महासचिवमा डाक्टर उमाशंकर चौधरीलाई समेत ल्याएको उनले बताए । उनले भने, ‘उहाँ थारू आयोगलाई सम्हाली सक्नु भएको व्यक्ति हो । यी यावत समस्यालाई देशमा भएका विद्यमान समस्यालाई निराकरणका निमित्त हाम्रो दल स्थापित भएको छ । अब यसले हाम्रो देशको राजनीतिक सुशासन र समृद्धिमा टेवा पुर्याउने छ भन्ने मैले अपेक्षा गरेको छु ।’
नयाँ दलभित्र आफू संरक्षकको भूमिकामा रहेको उनले जानकारी गराए ।
उनले अगाडि भने, ‘त्यसो त अहिलेको सरकार लगायत सबै राजनीतिक दलका प्रमुखहरूले र कानुन व्यवसायीहरूले रेशमजी आफ्नो संयोजकत्वमा पार्टी दर्ता गरोस् भन्ने सुझाव दिनुभएको थियो । तर, मैले मानिनँ । निर्वाचन आयोगले विगतमा ममाथि एउटा फैसला गरेको नाताले, मेरो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन पनि छ ।’
चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका थिए ।
प्रतिक्रिया 4