+
+
Shares

निर्वाचन २०८२ : थारू बहुल क्षेत्रमै खुम्चियो थारूको प्रतिनिधित्व

थारू बहुल पश्चिम नेपालका १६ निर्वाचन क्षेत्रहरुमध्ये २१ फागुन २०८२ को निर्वाचनमा थारू उम्मेदवारले दुई वटामा मात्रै प्रत्यक्ष जितेका छन् । यसलाई थारू नेताप्रति थारू समुदायकै विश्वास घटेको भनेर बुझ्नुपर्ने अनुसन्धाताहरु बताउँछन् ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८२ फागुन २६ गते ७:१८
बायाँबाट- रास्वपाबाट निर्वाचित बर्दिया क्षेत्र नं. १ का ठाकुरसिंह थारु र बाँके क्षेत्र नं. १ का सुरेश कुमार चौधरी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थारू बहुल पश्चिम नेपालको पाँच जिल्लामा थारू समुदायको प्रतिनिधित्व ५० प्रतिशतभन्दा बढी खुम्चिएको छ।
  • २०७९ को निर्वाचनमा थारू उम्मेदवारले १६ क्षेत्रमध्ये पाँचमा जितेका थिए, तर यसपटक दुईमा मात्र विजयी भएका छन्।
  • अनुसन्धानधाता तथा लेखक शेखर दहितको भनाइमा थारूहरूको प्रतिनिधि सभामा पहुँच खुम्चिनुको मुख्य कारण थारू नेताप्रति थारू समुदायको विश्वास घट्दै जानु हो ।

२५ फागुन, नेपालगन्ज । थारु बहुल पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङबाट थारू समुदायको प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको प्रतिनिधित्व ५० प्रतिशत खुम्चिएको छ ।

२१ फागुनको निर्वाचनमा थारू बहुल  जिल्लाका १६ वटा निर्वाचन क्षेत्रमध्ये थारू उम्मेदवारले दुई वटा क्षेत्र मात्रै प्रत्यक्ष जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बर्दिया क्षेत्र नं १ बाट ठाकुरसिंह थारू र बाँके क्षेत्र नं १ बाट सुरेशकुमार चौधरी मात्र निर्वाचित भए ।

जबकी २०७९ को आम निर्वाचनमा थारू समुदायका उम्मेदवारहरूले कैलालीमा दुई तथा बर्दिया र दाङमा एक–एक क्षेत्रमा जितेका थिए ।

गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट कैलाली–१ मा रञ्जिता श्रेष्ठ चौधरी र कैलाली–२ मा गंगाराम चौधरीले जितेका थिए । बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका लालवीर चौधरीपछि नाउपामा प्रवेश गरेका थिए ।
दाङ क्षेत्र नं १ मा गठबन्धनको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका थिए ।

ती जिल्लामा थारु समुदायको जनसंख्या कुल जनसंख्याको करिब ३२.८८ अर्थात एक तिहाइ छ । र प्रतिनिधित्व भने यस पटक साढे १२ प्रतिशत छ ।

जिल्लागत रुपमा बर्दियामा ५१.२ प्रतिशत, कैलालीमा ४१.९, दाङमा २९.७, कन्चनपुरमा २५.८ र बाँकेमा १५.८ प्रतिशत थारू छन् ।

१६ वटा निर्वाचन क्षेत्र मध्ये नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ५, नेपाली कांग्रेस र रास्वपाले २/२ र एमालेले एउटा निर्वाचन क्षेत्रमा थारू समुदायका उम्मेदवार उठाएको थियो ।

रास्वपा बाहेक अन्य पार्टीका उम्मेदवारले जित निकाल्न त सकेनन् नै जमानत जोगाउन समेत उनीहरूलाई हम्मे–हम्मे पर्‍यो ।

रेशम–रन्जिताको झगडा र नाउपाको घट्दो लोकप्रियता

थारु पहिचानलाई प्रमुख मुद्दा बनाएर २०७८ पुसमा स्थापना भएको नाउपाको शुरुआत शानदार थियो । पार्टी गठन भएको एक वर्ष नपुग्दै २०७९ को प्रतिनिधि सभा निर्वाचनमा ३, सुदूरपश्चिममा प्रदेशसभामा ७, लुम्बिनीमा ४ र मधेशमा १ सिट जितेको थियो ।

तर पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ बीचको झगडाले नाउपाको दोस्रो निर्वाचनमै शून्यमा झरेको छ । यो निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्ष श्रेष्ठले ‘नागरिक उन्मुक्ति पार्टी’ (नाउपा)लाई पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेकपामा विलय गराइन् ।

रेशम चौधरी र रञ्जिता श्रेष्ठ

नातामा उनका श्रीमान रेशमले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ (नाउपा, नेपाल) नामको छुट्टै दल दर्ता गरे । निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गर्‍यो । नाउपा नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राईको जनता समाजवादी पार्टीसँग एकल चिह्न (चकिया) बाट चुनाव लडेको थियो । तर प्रत्यक्षमा कुनै पनि सिट जित्न सकेन भने समानुपातिक तर्फ तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न सकेन ।

रेशम र रञ्जिता बीचको पारिवारिक झगडाले पार्टी तहसनहस भएपछि वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको समूह रास्वपामा प्रवेश गरे । त्यस्तै धर्मबहादुर चौधरी लगायतका युवा नेताहरू कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा लागे । केही थारू युवाहरूले हर्क साम्पाङको श्रम संस्कृति पार्टी रोजे ।

२०७२ को टीकापुर घटनापछि थारू समुदायमा रेशम निकै लोकप्रिय थिए । २०७४ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका उनले भारी मत ल्याएर चुनाव जिते ।

२०८२ को निर्वाचनसम्म आइपुग्दा भने उनको लोकप्रियताको ग्राफ निकै तल झरिसकेको थियो । त्यसैको प्रमाण हो, यो पार्टीले खातासम्म खोल्न नसक्नु ।

रेशमले मात्र होइन, रञ्जिता समाहित भएको प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले थारू बहुल क्षेत्रमा एक सिट पनि जित्न सकेनन् ।

थरूहट आन्दोलनको ‘इपिसेन्टर’को रुपमा रहेको टीकापुर (कैलालीको क्षेत्र नं १) बाट रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली १७ हजार ८२६ मत ल्याएर निर्वाचित भइन् । यो क्षेत्रमा नेपाली कांग्रेसका जनक चौधरीले १२ हजार ८६७ र नेकपाका रामलाल डगौराले ९ हजार ३९२ मत पाएर क्रमशः दोस्रो र तेस्रो स्थानमा आए ।

२०७९ मा जितेको क्षेत्रमा रेशम चौधरीको पार्टी नाउपा नेपालका उम्मेदवार खुशीराम थारूले १ हजार २५५ भोट पाएर छैठौं स्थानमा सीमित भए ।

नाउपा, नेपालका नेता रेशम चौधरी समर्थित स्वतन्त्र उम्मेदवार फागुराम थारूले ३ हजार ३८८ मत ल्याएर पाँचौ स्थानमा सीमित भए । उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले २ हजार ३५७ र श्रम संस्कृति पार्टीका विमल डगौराले ९०८ भोट पाए ।

कैलाली–२ मा रास्वपाका केपी खनाल १९ हजार ०५७ ल्याएर विजयी हुँदा नाउपा नेपालका पतिराम थारूले ११ हजार ९४९ मत पाए ।

२०७९ मा नाउपाका गंगाराम चौधरीले जितेको कैलाली–३ मा यसपटक रास्वपाका जगतप्रसाद जोशीले २० हजार ३५९ ल्याएर बाजी मारे । संविधानसभा सदस्य रहिसकेका नेकपाका नेता वीरमान चौधरीले ११ हजार ९५३ ल्याएर दोस्रो भए । नाउपा नेपालका विक्रम चौधरीले ६ हजार ७४७, पूर्वमन्त्री तथा नेकपा एमालेका गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याए ।

गत निर्वाचनमा एकीकृत समाजवादीका मेटमणी चौधरीले जितेको दाङ–१ मा रास्वपाका देवराज पाठक ४२ हजार ६०२ मतका साथ विजयी भए । त्यही क्षेत्रबाट उम्मेदवारी दिएका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २८० र नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरीले ४ हजार ९६५ मत पाए । साविक विजेता मेटमणिले जमानत समेत जोगाउन सकेनन् ।

रेशम चौधरीले जितेको क्षेत्रमा नाउपा नेपालका उम्मेदवार छैटौं

प्रदेश सभा सदस्यबाट राजीनामा दिएर बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधि सभा चुनाव लडेका उज्यालो नेपाल पार्टीका उम्मेदवार धर्मबहादुर चौधरीले जम्मा ४ हजार ४७२ भोट ल्याए ।

थारू समुदायको पचास प्रतिशत भन्दा बढी जनसंख्या भएको यो क्षेत्रमा रास्वपाका श्रीधर पोख्रेल २९ हजार ६७८ मत ल्याएर निर्वाचित भए ।

२०७९ मा जितेको क्षेत्रमा रेशम चौधरीको पार्टी नाउपा नेपालका उम्मेदवार खुशीराम थारूले १ हजार २५५ भोट पाएर छैठौं स्थानमा सीमित भए । राप्रपाका सुशील चौधरीले १ हजार १२७ भोट पाए ।

‘पहिचानको भावनात्मक नारा जनताले पत्याउन छाडे’

राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्य

यस पटकको आमनिर्वाचन ठूला पार्टीले थारू समुदायका नेतालाई पत्याएनन् । साना दलबाट उठेका उम्मेदवारलाई यो समुदायका मतदाताले विश्वास गरेनन् । प्रतिनिधित्व घट्नुको कारण पनि यही नै हो ।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्य यसपटकको निर्वाचनले थारू समुदायका जनताले आफ्नै समुदायका पहिचानको भावनात्मक नारा दिएर राजनीति गर्दै आएका नेताहरूलाई पत्याउन छाडेको बताउँछन् ।

अनुसन्धाता तथा लेखक शेखर दहितको भनाइमा थारूहरूको प्रतिनिधि सभामा पहुँच खुम्चिनुको मुख्य कारण थारू नेताप्रति थारू समुदायको विश्वास घट्दै जानु हो ।

थारू नेताहरू व्यक्तिगत स्वार्थमा बढी केन्द्रित देखिए । सत्ताकै लागि पार्टीलाई छिन्नभिन्न पारे । थारू पहिचानको मुद्दा लिएर संसदमा पुगेका थारु नेताहरूले एक पटक पनि संसदमा पहिचानका मुद्दा जोडदार रुपमा उठाएको सुनिएन ।

समुदायका मतदाताको सोच बदलिएको बताउँदै दहित भन्छन्, ‘जातीय पार्टी हाबी हुँदा स्थिरता र विकास हुँदैन, भ्रष्टाचार मात्रै बढ्छ भन्ने ठानेर यस पटक थारू र मधेशीले आफ्नो समुदाय, जात, धर्म भन्दा माथि उठेर एजेन्डा हेरेर रास्वपालाई भोट दिएको देखिन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?