Comments Add Comment

मैनालीले ल्याए ‘शिलान्यास’

१५ वैशाख, काठमाडौं । इतिहास अध्येता सुजित मैनाली आफ्नो नयाँ गैरआख्यान पुस्तक शिलान्यासः नेपाल निर्माणको नालीबेली लिएर पाठकमाझ आएका छन् । सो पुस्तकको शनिबार राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको थियो ।

बुक हिलले प्रकाशन गरेको पुस्तकमा नेपाल निर्माणको जग कसरी बस्यो र देशलाई विदेशी उपनिवेश बन्नबाट तत्कालिन भारदारहरुले कसरी जोगाए भन्ने वर्णन गरिएको छ । नेपाल निर्माणको सन्दर्भमा पृथ्वीनारायण शाहको भूमिकालाई लेखकले विश्लेषण गरेका छन् ।

लोकार्पण कार्यक्रममा पत्रकार सुधीर शर्मा, अन्तर्राष्ट्रिय मामला विज्ञ लीला न्याइच्याई र मानवशास्त्री गौरव केसीले पुस्तकका विविध पक्षहरुको विवेचना गरेका थिए । तीनैजनाले लेखकको सरल प्रस्तुतिको तारिफ गरे ।

पत्रकार शर्माले किताबमा इतिहासको जगमा टेकेर वर्तमान नेपालबारे लेखकले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको बताए ।

‘पुस्तक क्रमवद्धताको नियममा बाँधिएको छैन, लेखकले आफ्नो रुची र प्राथमिकताका आधारमा विषयवस्तुको छनोट गरेका छन् । यसमा उनको चलाखी झल्किन्छ,’ शर्माले भने । उनले कतिपय सन्दर्भहरुको वर्णनमा गहिराइ नपुगेको बताए । यद्यपि, नेपालको इतिहासको सरसर्ती ज्ञान लिन चाहनेहरुका लागि किताब उपयोगी हुने उनको भनाइ छ ।

मानवशास्त्री केसीले पृथ्वीनारायण शाहको विषयमा दुई किसिमका अतिवादी धारहरु प्रकट भइरहेको बेलामा लेखक मध्यविन्दूमा उभिएको चर्चा गरे ।

‘उहाँले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्नुभएको छ, तर यसलाई एउटा राज्यविस्तारको अभियानका रुपमा व्याख्या गर्नुभएको छ,’ केसीले भने ।

न्याइच्याईले पुस्तक इतिहासमा रुची राख्नेहरुका लागि निकै उपयोगी रहेको बताइन् ।

लेखक मैनालीको यो दोस्रो कृति हो । यसअघि उनले सौरभसँगको सहलेखनमा ‘ब्रेकिङ नेपाल’ नामक पुस्तक ल्याएका थिए । समाजशास्त्रका विद्यार्थी भए पनि मैनालीको इतिहासमा बलियो दख्खल छ । उनी ऐतिहासिक विषयवस्तुहरुलाई वर्तमानसँग जोडेर व्याख्या विश्लेषण गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment