Comments Add Comment

संस्मरण : म मुसलमान बन्नुपर्ने !

अमेरिका, १५ अगस्ट १९९८ को दिन ।

छात्रवृत्तिको प्राप्तिपछि कलेज सुरु भएको भोलिपल्ट दुईजना पाकिस्तानी केटीहरुसँग मेरो चिनजान भयो । उनीहरु एउटै परिवारका दिदीबहिनी थिए । उमेरमा २५ वरिपरि । चिटिक्क परेको जिउडाल, लाम्चो अनुहार, हँसिलो चेहेरा, छोटो कपाल । दुवैजना अलि ठट्यौली पाराका ।

उनीहरुले पालैपालो आफ्नो परिचय दिए र हात मिलाए । फराह सिद्दीकी–पुनम सिद्दीकी । अनि मैले मेरो नाम बताएँ । उनीहरुले मेरो नाम सम्झन सके वा सकेनन् तर उनीहरुको नाम र थर मेरो दिमागमा घुसिहाल्यो । अझ थर सुन्नेबित्तिकै मेरो स्मरण नेपालतिर गइहाल्यो ।

वि.सं.०४९ र ०५० मा म बाँके जिल्लाको नेपालगन्जमा जागिरे थिएँ । खानेपानी कार्यालयमा काम गर्थें । कार्यालय नजिकै सिद्दीकी थर भएका व्यक्तिको खाद्यान्न पसल थियो । म उनैको पसलमा दाल–चामल तथा मर–मसला किन्ने गर्थें । उधारो र सापटी पनि चल्थ्यो । तर, अहिले उनैको थर भएकी पाकिस्तानी केटीहरु अमेरिकामा भेट हुँदा मैले अनौठो मानें । र, रमाइलो मान्दै बोलें ।

‘अहो ! तिमीहरुको थर भएका व्यक्तिहरु नेपालमा प्रशस्त छन् । कस्तो संजोग । त्यति टाढा भएर पनि एउटै थर हुन पुगेको ।’

‘हो ! हामीहरु अबु बकरका सन्तति । मुसलमान समाजमा हाम्रो उच्च स्थान छ । विश्वमा हामीहरु चारैतिर फैलिएका छौ । हामीलाई नचिन्ने को छ र ?’

त्यतिबेलासम्म म पो अन्योलमा रहेंछु । नेपालगन्जमा भेटिएका सिद्दीकीलाई मैले कहिल्यै बुझ्न सकिनँ । उनले कहिल्यै पनि मलाई मुसलमानको जस्तो व्यवहार गरेनन् । मलाई थाहै भएन कि उनी मुसलमान हुन भन्ने । जे होस् त्यही नाताले सिद्दीकी बहिनीहरुसँग मेरो नाता बढ्दै गयो ।

अमेरिका आएपछि पाकिस्तान र नेपाल नजिकै पो लाग्दो रहेछ । एउटै आँगन जस्तो । दुबैले सहज मानेको हिन्दी बोलेपछि भाषा पनि एउटै । यसले सिद्दीकी बहिनीहरुसँग मेरो सामिप्यता नजिकिँदै गयो । खानपिन, लुगाफाटो, गरगहनाले त्यत्तिकै बलियो बनाउँदै लग्यो । हाम्रो कलेजको मित्रता घर–परिवारमा समेत देखिन थाल्यो । उनीहरु मेरो डेरामा आउन थाले । मेरो छोराहरुसँग उनीहरु रमाइलो मानी–मानी जिस्किरहन्थे । श्रीमती सँग पनि उनीहरुको गफ मिल्दै गयो ।

उमेरले हुन सक्छ वा आदत नै त्यस्तो हो, पुनमभन्दा फराह नै बढी बोल्थी । घर–व्यवहारको उत्तरदायित्व पनि उनैको बढी थियो । खर्च र हिसाव–किताव उसैले लिएकी थिई । काम र पैसाको बाँडफाँड उसैले गर्थी ।

‘मेरी आमा पाकिस्तानबाट आउनुभएको छ ।’ एकदिन पराहले मलाई आफ्नो घरमा उसको प्रिय मानिस आएको जानकारी दिई ।

मैले यसलाई सामान्य रुपमा लिएको थिए । आफ्नो छोरा–छोरीलाई भेट्न आउनु खास ठूलो थिएन । नेपाल–पाकिस्तानबाट अमेरिका आउने–जाने चलिरहन्छ । तर यसलाई फराहले भने दिलचस्पीको रुपमा लिएकी रहिछ । उसले केही दिनपछि त्यही कुरा दोहोर्‍याई ।

‘मेरी आमा पाकिस्तानबाट आउनुभएको छ ।’ उसले दोहोर्‍याएरै आफ्नो खुसी व्यक्त गरी ।

‘अनि बुवा ?’ मैले सोधेँ ।

‘मेरो बुवा हुनुहुन्न ।’

‘के भयो ?’ मैले फेरि जिज्ञासा राखेँ ।

‘धार्मिक शहिद ।’

‘धार्मिक शहिद ? के हो यो धार्मिक शहिद भनेको ?’

‘१९९८ को जनवरीमा…’ फराहले बताउन सुरु गर्दै थिई । तर, पुनमले बीचैमा रोक्दै बोली ‘किन बताउनुपर्‍यो सबैकुरा ।” तर पनि फराह रोकिइन, बताउँदै गई, ‘रमादानका बेला लाहोरमा ठूलो हत्याकाण्ड भयो । उत्सव मनाइसहेको बेला शुन्य मुसलमानहरुले हामीलाई आक्रमण गरे । धेरै मान्छेहरु मरे, ठूलो संख्यामा घाइते भए । त्यसमा मेरो बुवा पनि धार्मिक शहिद हुनुभयो । हामीहरु टुहुरा भयौँ ।’

राणा शासनदेखि नै शहिदको नाम सुनिदैँ आएको हो । जानी–जानी प्रहरीले मारेको होस् वा आन्दोलनमा झुक्किएर । नेपालमा शहिदको सुची लामै छ । तर, धार्मिक शहिदका बारेमा मलाई केही थाहै थिएन । कता–कता मेरो मनमा उनीहरुप्रति सहानुभूति जाग्यो । धार्मिक शहिदबारे उत्सुक भएँ । धार्मिक शहिदकी पत्नीलाई भेट्न इच्छा प्रकट गरेँ ।

फराहले दिएको साथअनुसार नै हामी परिवारका सबै सदस्यहरु उनको निवासमा साँझको ६ बजे पुग्यौँ । चारैतिर रुखैरुखले घेरिएको उनको ठूलो अर्पान्टमेन्ट कम्प्लेक्स । कम्प्लेक्सभित्र ससाना फुच्चे घरहरु । हामीहरुले त्यही फुच्चे घरहरुमध्ये फराहको घरको घण्टी बजायौँ ।

ढोका एउटी महिलाले खोलिन् । मनमनै मैले अड्कल काटेँ । पक्कै यिनी फराहको आमा हुनुपर्छ । हल्का आकाशे रङ्गको कुर्ता–सुरुवाल, अनि काँधमा खरानी रङ्गको सल ओढेकी खाइलाग्दी महिला, पाकिस्तानी सिरियलमा आमाको भुमिकाका पात्र जस्ती –गोरी,अग्ली, सलक्क परेकी । हामीलाई चिनजानको आवश्यक नै थिएन । कसैले परिचय गराउने जरुरत थिएन । तर, उनले सुरुमा नै आफ्नो नाम बताइन्, ‘म सोफिया, फराहकी आमा ।

“मैले चिनें । अनुहार मिल्छ ।’ मैले उत्तर दिएँ ।

हाम्रो कुराकानी सुरु भइहाल्यो । तर मैले मात्र नभई भगवतीले पनि खरर हिन्दी बोलेको सुनेपछि फराहकी आमा (सोफिया) लाई अनौठो लागेछ । सोधी हालिन् ।

‘नेपालको आफ्नै राष्ट्रभाषा छ भन्ने सुनेको थिएँ । के उर्दु नै हो र ? तिमी त उर्दु पनि त्यति राम्रोसँग बोल्न सक्दा रहेछौ ।’ मैले तुरुन्त उत्तर दिएँ, ‘हामीले उर्दु बोलेका होइनौँ । हिन्दी बोलेका हौँ ।’

‘हे ! त्यसोभए नेपालको राष्ट्रभाषा पनि हिन्दी नै हो ? इण्डियाको मात्र जस्तो लागेको थियो । नेपालको पनि रहेछ ।’

मलाई झन् अर्को संकट पर्‍यो । तर, त्यसमा मैले संकट मानिनँ । बरु उनको भनाइले मलाई गौरव पनि लाग्यो र अपसोच पनि । गौरव यस अर्थमा कि हामीहरुलाई दोस्रो देशको भाषा पनि बोल्न आउँछ । अपसोच यस मानेमा कि हामीले हिन्दी बोल्यौ भन्दैमा नेपालको राष्ट्रभाषा पनि हिन्दी नै सम्झनु सोफयाको आमाको संकीर्ण मानसिकता । तर, पनि हामीले हिन्दी बोल्न छाडेनौँ । किनकि सोफियालाई अंग्रेजी बोल्न कठिन भएपछि उनले उर्दूमा नै जोड गरिरहेकी थिइन्

भाषाको कुरा सकिनासाथ सोफियाको विषयवस्तु दुःखदायी घटनातिर गयो । त्यो दुःखदायी घटना थियो –पाकिस्तानी एयरलाइन्सको । कुनै बिर्सेको कुरा झट्ट सम्झेको जस्तो गरेर सोधिन् –‘साँच्ची ! पाकिस्तानी एयरलायन्स दुर्घटना भएको ठाउँ तिम्रो घरबाट नजिकै पर्छ ? पाकिस्तानी एयरलायन्स नेपालमा दुर्घटना भएको थियो नि ! तिमीलाई थाहा छ ?’

‘किन थाहा नहुनु । तर, हाम्रो घरबाट धेरै टाढापर्छ ।’

‘नेपालमा धेरै पहाडै–पहाड छन् हगि ! हवाईजहाज दुर्घटना भइरहन्छ । एयरपोर्ट नजिक पनि पहाड छ ?’

उनले एकैपटक धेरै कुराहरु सोधिन् । नेपालप्रति उनको निकै चासो देखियो । तर, मेरो मानसपटलमा विगतको तीतो घटनातिर गयो । म त्यो सम्झन थालेँ । त्यो वर्ष नेपालमा पाकिस्तानी मात्र होइन, थाई एयरलायन्सको जहाज पनि दुर्घटना भएको थियो । एउटै वर्ष दुई ठुल्ठुला बोइङ जहाजहरु नेपाली आकाशबाट पातालमा खसे । दुई महिनाको फरकमा त्यति बडेमानका बोइङ्गहरु खस्नु कम दुखदायी थिएन ।

०४९ श्रावण १६ गते थाई एयरलायन्सको विमान नुवाकोट जिल्लाको घोप्टे भीरमा ठोक्कियो । जहाजभित्रका ११३ जना यात्रुहरु जहाजभित्र नै खरानी भए । त्यसको ठीक दुई महिनापछि असोज १२ गते पाकिस्ताको बोइङ्ग ललितपुरको भट्टे डाँडामा खस्यो । विमानभित्रका १६७ जना यात्रुहरु टुक्राटुक्रा भए यो दुखदायी घटनालाई न थाई जनताले भुल्न सकेका छन् न पाकिस्तानीले ।

जो नेपाली भेट हुँदा पनि यो प्रश्न उठ्नु स्वाभाविक थियो । फराहकी आमाले पनि उठाइहालिन् । म धेरैबेर नबोलेपछि फेरि उनले सोधिन् ।

‘नेपालमा कत्राकत्रा पहाडहरु छन् जहाजै ठोकिने ?’

मैले केही धैर्य बनेर उत्तर दिएँ, ‘नेपाल पहाडै–पहाडले बनेको देश हो, यहाँ प्रशस्त अग्ला–अग्ला पहाडहरु छन् । तर, यसरी जहाजै ठोकिने गरी दुर्घटना कमै हुन्छ । त्यो बेला मौसम पनि ठीक थिएन ।’

त्यहीबेला फराहले हामीहरुलाई खानेकुराको जानकारी दिदैँ हाम्रो सामुन्ने आएर ठट्यौली पारामा बोलिन्, ‘खानेकुराचाँही ममीले बनाउनुभएको हो तर कप र प्लेटचाँहि मैले तयार पारेकी हुँ । अब खान सुरु गरौँ ।’

हामी सबैजना भान्सातिर गयौँ । लहरै खानेकुराको परिकार एक छेउमा पानीको जग, अर्को छेउमा चम्चा र प्लेटहरु । हामीहरु खानेकुरा प्लेटमा हाल्दै अगाडि बढ्यौँ र खान सुरु गर्‍यौं । तर अघिसम्मको सोफियाको हँसिलो अनुहार अँध्यारो भयो । साँच्चै उनी खुस्रुक्क परिन् ।

‘ओहो ! पहिलै भन्नुपर्दैन । मासुका परिकार त सबै खेर जाने भए । तिमीहरु त शाकाहारी पो रहेछौ ।’

सोफिया जतिसुकै उदास देखिए पनि हामीहरु हाम्रो अठोटबाट पछाडि हटेनौँ । हामीहरु मासुको परिकारबाट टाढै रह्यौँ ।

एकपल्ट फराहले घुमाउरो पारामा हाम्रो घरमा आउने इच्छा प्रकट गरिन् । सम्भवतः उसकी आमाको इच्छा नै उसले राखेकी थिई । अझ मैले थाहा पाइसकेको थिएँ, नेपाली रहन–सहन र पाकिस्तानी रहन–सहनसँग सोफिया तुलनात्मक रुपमा नियाल्न चाहन्थिन् ।

एकदिन तीनैओटी आमा–छोरी मेरो डेरामा आए । जसरी उनीहरुले हाम्रो आदर–सम्मान गरे । त्यसैगरी नै हामीले पनि गर्‍यौं । यो हाम्रो कर्तव्य मात्र नभई उत्तरदायित्व पनि थियो । तर, उनीहरु घरभित्र छिर्नेबित्तिकै फराहले मलाई कोठाको एउटा कुनामा लगी र सुस्तरी भनी, ‘मैले तिमीहरु मुसलमान हौ भनेको छु ,यदि मेरी ममीले सोध्नुभयो भने तिमी आफूलाई मुसलमान हो भनेर भन है ।’

फराहको कुरा सुन्नासाथ मेरो जीउ सर्‍याङ–सुरुङ्ग सुक्यो । अपमान र रिसले रातो–पिरो भयो । आफ्ना घरका पाहुना भनेर सम्मान गर्न सकिनँ । धेरै दिनदेखि शहिद पत्नीको सहानुभूति खरानी भयो । मैले कडा स्वरमा सुस्तरी सोधेँ, ‘किन ? किन हामी मुसलमान बन्ने ? म यस्तो कुरा मान्दिनँ ।’

म कडा स्वरमा उत्रे पनि फराह कडा स्वरमा आउन सकिन । बरु अनुनय भाव देखाउँदै बोली, ‘मेरो ममी मुसलमान बाहेक अरुको घरमा खानेकुरा खानुहुन्न । मुसलमानको घरमा पनि दाल–भात मात्र खानुहुन्छ । उहाँलाई खुब चोखो हुनुपर्छ ।’

मलाई लाग्यो– कुनै पनि व्यक्तिको रुप र पढाइले मात्रै व्यक्तित्व कमाउन सक्दैन । माया, ममता दिएर पनि प्यारो बन्न सकिदो रहेछ । पाहुना भएर आइसकेपछि धर्म र जातलाई अगाडि राख्न नहुने । म भित्र–भित्र मुरमुरिएँ । मलाई के गरौँ, कसो गरौँ भयो । एकमन लाग्यो, अहिले नै सम्बन्ध बिगारिदिऊँ । मैले पुलुक्क फराहको अनुहारतिर हेरेँ । उसका निर्दोष आँखाले मलाई हेरिरहेको रहेछ । म रिसाएको छु भन्ने उसलाई परेकै रहेनछ ।

छोरी फराहले हिन्दु–मुसलमानको कुरो उठाएर मेरो दिमाग खल्बल्याउन खोजे पनि, मलाई मुसलमान बनाउन खोजे पनि आमा सोफियाका बारेमा चासो गएन । उनले कुनै पूर्वसर्त गराएकी रहिनछिन् । धर्मका बारेमा कुराकानी भएन । उनीहरुले खानेकुरा मीठो मानी–मानी खाए । रमाइलो, हाँसो–ठट्टा गरेर निकै रात छिप्पिएपछि फर्किए ।

म रातभर निदाउन सकिनँ । मेरो दिमाग भुट्भुटी रह्यो । सम्भवतः अहिले फराहले जोडेको वर्तमान प्रसंगले मैले अतीतमा देखेको पीडा स्मृतिगर्न थालेँ ।

गोरखा जिल्लाको मध्यभागमा दुईवटा गाउँहरु पुरै मुसलमानको वस्ती छ । त्यस भेकका मुसलमानहरु व्यापार–व्यवसायका लागि जिल्लाको विभिन्न ठाउँमा छरिएर रहेका छन् । तीमध्ये एकजना मुसलमान हाम्रो गाउँमा पसल गर्न आए । उनको व्यापार खुब चल्यो । उनको सहनशीलता र मेहनतले व्यापार खुब चम्कियो । तर, कुनै पनि हिन्दुले उनको पानी चलाएनन् । उनको घरमा खाना खाएनन् । उनको स्थान नेपाली समाजले चलाएको कथित पानी नचल्ने समूहमा नै रह्यो । उनी सुनपानी र छिटोमा रहे ।

त्यतिले मात्र म शान्त हुन सकिनँ । मलाई निन्द्रा लागेन ।

मनमनै सम्झन थालेँ, ‘फराहको एकवचनले त म रातभरि निदाउन सकिनँ भने नेपालमा दलित समाजले कसरी रात काटेको छन् ?’

हामीले छुवाछुतको अन्त्य गर्‍यौं । तर, हाम्रो मानसिकताबाट कहिल्यै हटाउन सकेनौँ । सामाजिक समानता ल्याउन खोज्यौँ तर परम्परागत सोच त्याग्न सकेनौँ ।

आजभोलि सोफिया पाकिस्तान फर्केकी छन् । तर, जब–जब फराह र पुनम दिदी– बहिनीलाई भेट्छु, म नेपाल सम्झन थाल्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment