
सरकारी जागिर छोडेपछि के गर्ने भन्ने अन्योलमा थिएँ । फेरि बाग्लुङ फर्कने वा अन्तै जाने ? यसबारे मनमनै घोत्लिरहेको थिएँ । नजिकका केही मित्रले मधेसतिर बस्ने सल्लाह दिए । त्यस बेला बाग्लुङबाट बुटवल, भैरहवा र त्यस आसपासका भेगमा हाम्रै आफन्त र छिमेकीहरू समेत बसाइँ सरिरहेका थिए ।
जागिर छदाँ जोहो गरेको नगद १६६५ रुपियाँ थियो मसँग । नयाँ ठाउँमा बस्न र बालबच्चाको भविष्यका लागि पनि घर हुनु आवश्यक थियो । त्यही पैसाले आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर ०२२ साल फागुनको पहिलो साता नवलपरासीतिर लागें ।
नवलपरासी जानुअघि मैले त्यहाँका आफन्तमार्फत् जग्गा किन्न लगाएको थिएँ । पहिलो गाँसमा ढुंगा भनेझैं मैले जग्गा किन्ने क्रममै ठक्कर सहनुपर्यो । तत्कालीन समयमा झन्डै तीन बिघाहा जग्गा आउने रकम पठाउँदा पनि एक विघाहा मात्र हात लाग्यो । त्यो पनि पानी नलाग्ने टारी जग्गा । आफन्त नै संलग्न भएकाले मैले त्यो घाटा चुपचाप सहें ।
पहाडमा हुर्केको हाम्रो सम्पन्न परिवारलाई मधेसले धेरै कुरामा साथ दिएन । त्यसमाथि उग्र गर्मी सहनु हाम्रा लागि अर्को ठूलो सजाय बन्यो । थोरै जग्गामा अलिअलि तोरी र धान फल्थ्यो । त्यो जग्गा अधियामा लगायौं । दुःखजिलो गरेर गुजारा चलाउँदै केही वर्ष त्यहीँ बिताइयो ।
मूलघर बाग्लुङ छोडेपछि सिमरीमै बस्ने पूर्वयोजनाले गति पाएन । यहाँको बसाइँ जति लम्बियो उति आर्थिक र व्यावहारिक सङ्कट बढ्ने भएपछि हाम्रो परिवार ०२५ सालमा सिमरीबाट भैरहवा सर्यो। एकजना थारू मित्रको सहयोगमा भैरहवाको बसाइले टेको पायो । तर, भवितव्य अर्कै रहेछ, अन्तै रहेछ । करिब ५÷६ महिनाको अल्पकालीन भैरहवा बसाइपछि हामी बुटवल नजिकको ठाउँ रानीगन्ज सर्यौं ।
बुटवलपारि तिनाउ खोलाको किनारमा पर्ने रानीगन्जको तल्लो भेगमा सुरुमा बसेका थियौं । त्यहाँ बसेको केही महिनामै रानीगन्जको माथ्लो भेगमा सर्नुपर्यो । सानो छाप्रोमै सही, रानीगन्जको बसाइ स्थिर होला भन्ने आशा थियो । तर, सिद्धार्थ राजमार्ग खन्दा बनेका पहिरोका कारण वर्षायाममा बहुलाउने तिनाउ नदीसँग झन्डै एक दशक लामो पैंठेजोरी खेल्नुपर्यो हाम्रो परिवारले ।
०२७ साल असार ३ गते तिनाउमा आएको भीषण बाढीले सिंगै दाउरेटोल बगायो । सयौं मानिसले अनाहकमा ज्यान गुमाए भने हजारौं परिवार अलपत्रमा परे । पछि तिनाउ नदीले बहाव फेर्दा हाम्रो घर र खेतसमेत बगायो । बाढी निरीक्षणका लागि राजा महेन्द्रको सवारी भएपछि भने त्यहाँ तटबन्ध बनाइयो ।
बेलाबेलामा भयानक बाढी आउँथ्यो । घरमा श्रीमती र नानीबाबुहरू मात्रै हुन्थे । म कामको सिलसिलामा बाहिरै हुन्थें । बाढीको विपत झेल्ने मीठू मात्रै हुन्थिन् । म टाढा भएर पिल्सिन्थें । छटपटी सुरु हुन्थ्यो ।
त्यस्तै एउटा वर्षामासमा आएको बाढीले हाम्रो उठीबास नै गरायो । आज पनि उनी बाढीले मान्छे, भैंसी, घर सबै बगाएको कुरा सम्झिराख्छिन् । हाम्रै भैंसी पनि बगाइसकेको रहेछ । पटकपटक बाढीरूपी महाकाल आतङ्क हाम्रो खेतबारी, गोठ हुँदै घरतिर लम्किँदा छोराछोरी सबै बाढीले लाने भयो भनेर चिन्ता पाके पनि उनले हिम्मत भने हारेकी थिइनन् । चिच्याइरहेका कलिला सन्तानका रोदनले एक्ली महिलालाई अवश्य अत्यायो होला । तर, उनले धैर्य छाडिनन् र बाँच्ने र बचाउने साहस निरन्तर गरिरहिन् । त्यो सङ्घर्ष र अथक साहसलाई सधैं धन्यवाद दिन्छु । यदि उनले धैर्य छाडेकी भए आज म कहाँ हुन्थें ? मेरा परिवार कता पुग्थे ?
मेरी मीठू त्यति कमजोर थिइनन् । तिनै बालबच्चाकै लागि भए पनि हिम्मत हार्न नहुने सोच बलियो बनाएपछि पछिल्लो वर्षको ठूलो बाढीमा उनले नानीहरूलाई अँगालोमा च्यापेर बाहिर निस्किने आँट गरिछन् । डराइडराई बाढीको भेलबाट जोगिने साहस बटुल्दै गर्दा पारिबाट आवाज आएछ, ‘‘सुब्बिनीसाब ! नआत्तिनुस् । पानी घट्दै छ ।’’ छिमेकका मानिसको त्यही बोलीले उनको मन थोरै भए पनि शान्त भएछ ।
यो घटना घटेको भोलिपल्ट मात्रै म घर पुगेको थिएँ । बाढीको विपतबारे यी सबै कुरा मीठूले मलाई आँखाभरि आँसु पार्दै सुनाएकी थिइन् । उनका भरिला आँखा र निर्दोष सन्तानका मुहार हेरेर म भित्रभित्रै भक्कानिएको थिएँ । आज पनि त्यस्तो कठिन घडीमा परिवारको साथमा हुन नपाएकोमा मलाई खेद हुन्छ ।
हिजो त्यत्रो बाढी आउने त्यो बगरमा आज अग्ला भवनहरूसहितको सहर बसेको छ । तर मान्छेले प्रकृतिलाई चुनौती दिने दुस्साहस नगरेकै जाति । भारतको उत्तराखण्ड आएको ‘हिमालयन सुनामी’बाट पनि त पाठ सिक्न सकिन्छ । तिनाउ नदीमाथि बनेको पुरानो पुल पहिरोले गर्दा बगायो । अहिलेको पुल पनि थोत्रिइसकेको छ । यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । अव्यवस्थित बसोवासले हामीलाई जहाँसुकै असुरक्षित बनाउँदै लगेको छ । सोच्नुपर्ने हामीले नै त हो ।
बाढीको कारणले छोराछोरी डराए । हामी पनि त्रसित भयौं । यही भयले हाम्रो बास फेरियो । घर र खेतबारी छोडेर हामी बुटवल बजारको चौराहामा डेरावासी भयौं । बडो दुःखले आर्जन गरेको रानीगन्जको उब्जाउपूर्ण जमिन र त्यसमा ठड्याएको राम्रो काठे घर छोडेर डेरामा बस्नु पर्दा त्यसैत्यसै मन कुँडिन्थ्यो । कान्छी छोरी डा. लक्ष्मी जन्मेको ठाउँ रानीगन्ज छोडेर हामी बुटवल राजमार्ग चौक सर्यौं ।
व्यापारको सपना तुहियो
आर्थिक कारणले कहिले के गरौं कहिले कसो गरौं बनाइदिन्छ मान्छेलाई । घर परिवारको चिन्ताले, आफ्नै भविष्यको त्रासले ऊ सदैव चिन्तित बन्छ । सक्रिय पत्रकारिता सँगसँगै अरू पनि केही गर्ने रहर र बाध्यता दुवै मसँग थिए ।
जागिर छोडेपछिको सङ्क्रमणकालीन अवस्थामा केही समय लेखन्दास भएर काम चलाइयो । कामले लेखन्दास भए पनि मलाई सबैले सुब्बासाब नै भनेर बोलाउँथे । यो अनौठो विरोधाभास अवस्था थियो । सप्तरीमा जागिर खाँदा परिचय भएका एकजना न्यायाधीश मित्रले रुपन्देही जिल्ला अदालतमा फैसला सार्ने काम खोजिदिएका थिए । आफ्नै जीवनको आरोहसँगै अवरोहका कडीहरू सम्झँदा स्वतन्त्र लेखन्दास भएर काम गरेको अनुभव महत्त्वपूर्ण लाग्छ मलाई ।
बुटवल पुरानो समयमा हाटबजार लाग्ने थलो हो । यो व्यापारिक नाकामा टाढाटाढबाट घ्यू, नुन बेच्ने व्यापारीहरू आउने गर्थे । व्यापारिक केन्द्रको पुरानो विरासतलाई निरन्तरता दिँदै यो सहर बिस्तारै उद्योगीकरणतिर लम्किँदै थियो त्यो बेला । बुटवलमा मुख्यतः बाग्लुङ, गुल्मी र पाल्पातिरका व्यापारी उद्यमीहरू छन् । मेरो बाल्यकालका बाग्लुङे दौंतरीहरू व्यवसायका लागि यतै झरेका थिए । म पनि उनीहरूका स∙तले व्यवसाय गर्न सकिन्छ कि भनेर तम्सिरहेको थिएँ ।
यसैबीच तत्कालीन सरकारले लुम्बिनी अञ्चलमा कोल्ड स्टोर (शीत गृह) बनाउन अनुमति दिने भनेर गोरखापत्रमा सूचना प्रकाशित गर्यो । बुटवलका केही व्यवसायीहरूसँग मिलेर हामीले तुरुन्तै ‘लुम्बिनी कोल्ड स्टोरेज एण्ड आइस फ्याक्ट्री प्रा. लि.’ दर्ता गरायौं र बुटवलको राजमार्ग चोकमा जग्गा पनि लियौं । तत्कालीन एनआइडिसीबाट ऋण सुविधाका लागि काम सुरु गर्यौं ।
तत्कालीन प्रधानमन्त्री तुल्सी गिरीले सद्भावना देखाए । उद्योग वाणिज्यमन्त्री रवीन्द्रनाथ शर्माले यसको शिलान्याससमेत गरे । दुई वर्षको दौडधुपपछि डिजाइन तयार भयो । प्रारम्भिक काम सुरु भए पनि एनआइडिसीबाट ऋण सुविधा पाउन नसकेपछि एउटा उद्योग खोल्ने रहर त्यसैत्यसै तुहिएर गयो । त्यो उद्योग खुलेको भए सायद मेरो परिचय र पेसा नै अलग हुने थियो भन्ने लाग्छ आज । तर, हुनु हार दैव नटार भन्छन् नि !
दुई÷तीन वर्षको कडा परिश्रम खेर गयो र केही गर्ने सपना तुहियो । विफल भएको सपनाको चोटमा रुमल्लियो जिन्दगी केही समय । एउटा सपना बिग्रिएपछि फेरि अर्को सपना त्यसैगरी देख्न असम्भव त हुन्न तर समय लाग्ने रहेछ । मलाई पनि समय लाग्यो फेरि नयाँ सपना देख्न ।
सुखा नगरका सुखदुःख
बुटवलको राजमार्ग चोकमा तीन वर्ष भाडाको घरमा बसेपछि हामीले घडेरी किनेर घर बनायौं । इँटाको गारो लगाई टिनको छाना हाली बनाइएको घर भए पनि यसले परिवारका सदस्यदेखि धेरै आफन्तलाई आश्रय दियो । उनीहरू यहीँ हुर्किए, बढे, लेखपढ गरे । यही घर मेरा लागि खुब लच्छिनको ठहरियो ।देश–विदेशको यात्रा पनि यसै घरबाट सुरु गरें । यहीँ हुदाँ मीठू मस्को गइन् ।
यो घर बौद्धिक जमघट र सम्पर्कको थलो बन्यो । योगी नरहरिनाथ, डा. डिल्लीरमण रेग्मी, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य, काशीप्रसाद श्रीवास्तव, कमलराज रेग्मी, रुसी अन्तरिक्ष यात्री युरी मालिसेफ, पर्वत पाङका राजा दुर्गाबहादुर बममल्ल, भारतीय पत्रकार श्रीकृष्ण श्रीवास्तव, अधिवक्ता कृष्णप्रसाद भण्डारी, इन्जिनियर प्रताप खत्री, वरिष्ठ पत्रकार गोविन्द वियोगी, करुणानिधि शर्मा, प्रेम कैदी, शक्ति लम्साल, राजेन्द्र मैनाली, आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई हाम्रो घरले स्वागत गर्यो ।
सबै कुरा ठिकठाकसँग चलिरहेको थियो । अचानक, सुखानगरको सुखद आकाशमा कालो बादल फेरि मडारिन थाल्यो । ठूलो छोरा डा. दिनेश रुसमा भएकै बेला उनी स्थानीय रुसी माफियाको अपहरणमा परे । बाध्यतावश हामीले त्यो घर बेच्नुपर्यो। सुकुम्बासी सरह भएर हामी खैरेनी देवदहमा सर्यौं ।
(डिल्लीप्रसाद आचार्यको स्मृति संग्रह “झझल्काहरु” को पुस्तक अंश ।)
प्रतिक्रिया 4