Comments Add Comment

अर्को विश्वकपमा पुग्न नेपाललाई साँघुरो बाटो : वर्ल्डकप क्रिकेट लिग २

विश्वकपको २ सिटका लागि नेपालसहित २४ देशले प्रतिस्पर्धा गर्ने

१५ वैशाख, काठमाडौं । एकदिवसीय क्रिकेटको विश्वकप नेपालले खेलेको हेर्न आतुर छन् नेपाली क्रिकेट प्रेमी । तर, आईसीसीले विश्वकपलाई १० वटा टिममा खुम्च्याइदिएपछि नेपालजस्ता उदियमान क्रिकेट राष्ट्रहरुलाई ठूलो धक्का लागेको छ ।

सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप पुग्नलाई नेपालले ठुलै पापड बेल्नुपर्ने हुन्छ । विश्वकपको १३ औं संस्करणमा भाग लिनका लागि एक मात्र बाटो हो वर्ल्डकप क्रिकेट लिग २, जुन यसैपालिदेखि आईसीसीले सुरु गरेको हो ।

अक्टोबरमा आईसीसीले विश्वकप छनोट प्रणालीमा व्यापक फेरबदल गर्दै लिग २ को घोषणा गरेको थियो । लिग २ बारे जान्नुअघि विश्वकप छनोटको नयाँ प्रणालीबारे चर्चा गरौं ।

२०२३ को विश्वकपमा पनि १० वटा टिम मात्रै सहभागी हुने त पहिल्यै तय छ । १० मध्ये आईसीसी ओडीआई र्‍याङ्किङमा अगाडि रहेका ८ वटा टिमले सिधै विश्वकपमा स्थान बनाउने पहिलेको प्रावधान थियो । तर, अब १३ वटा देशहरुको ‘क्रिकेट वर्ल्डकप सुपर लिग’बाट टप ८ देशको छनोट हुनेछ । अन्य सबै देशले भिड्ने भनेको बाँकी २ स्थानका लागि हो । अर्थात् ओडीआई लिगको पुछारमा रहेका ५ टिम र १९ एसोसिएट्स गरी २४ टिमले दुई वटा सिटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

क्रिकेट वर्ल्डकप सुपर लिग खेल्ने १३ वटा देशमध्ये १२ वटा आईसीसीका १२ फुल मेम्बर टिम हुन् । बाँकी एउटा चाहिँ नेदरल्यान्ड्स हो, जुन तीन वर्ष लामो विश्व क्रिकेट लिग च्याम्पियनसीपमा विजेता बनेको थियो । सन् २०२० मा सुरु हुने सुपर लिग दुई वर्षसम्म चल्नेछ । यसमा प्रत्येक टिमले १२ मध्ये ८ वटा टिमसँग प्रतिस्पर्धा गर्नेछन् । चार वटा होम र चार अवे सिरिज हुनेछन । प्रत्येक सिरिजमा ३ म्याचको दरले प्रत्येक टिमले २४ म्याच खेल्नेछन् ।

सबैले २४ म्याच खेलिसकेपछि अंक तालिकामा शीर्ष ८ स्थानमा रहने टिमहरु भारत विश्वकपका लागि छानिने आईसीसीले जनाएको छ । बाँकी पाँच टिमहरुले दोस्रो मौकाका रुपमा वर्ल्ड कप क्वालिफायर खेल्न पाउनेछन् ।

अब जाउँ लिग २ मा

हालै नामिबियामा सम्पन्न भएको डिभिजन २ प्रतियोगिताबाट थप ४ वटा देशले ओडीआई मान्यता पाए । ती देशहरु हुन्, अमेरिका, ओमान, पपुवा न्यूगिनी र नामिबिया । अमेरिका र ओमानले पहिलोचोटि ओडीआई स्टाटस पाएका हुन् ।

चार देश थपिएपछि ओडीआई स्टाटसप्राप्त टिमको संख्या २० पुगेको छ, जसमध्य १२ फुल मेम्बर हुन् भने ८ वटा एसोसिएट्स । एसोसिएट्समध्ये नेदरल्यान्डले सुपर लिग खेल्ने भइसकेपछि नेपालसहित ओडीआई मान्यताप्राप्त सात टिमले लिग २ खेल्नेछन् । सात टिम हुन्, नेपाल, यूएई, स्कटल्यान्ड र अहिले थपिएका चारवटा ओडीआई राष्ट्र ।

सात टिमको लिग २ यसै वर्षको जुलाईमा सुरु भएर २०२१ को अन्त्यमा सकिनेछ । लिग २ मा प्रत्येक टिमले एक–अर्कासँग होम र अवे सिरिज खेल्नेछन् । प्रत्येक सिरिजमा ३ म्याच हुनेछन् । यस प्रकार प्रत्येक टिमको भागमा ३६ वटा म्याच पर्नेछ ।

प्रत्येक म्याचहरु एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात् ओडीआई मान्यता प्राप्त हुनेछन् । प्रतियोगिता सकिँदा अंक तालिकाको शीर्ष तीन टिमले वर्ल्डकप क्वालिफायर खेल्नेछन् । बाँकी चार वटा टिमहरुले वर्ल्ड कप क्वालिफायर प्लेअफका रुपमा अर्को मौका पाउनेछन्, जसलाई यसअघि वर्ल्ड क्रिकेट लिग डिभिजन २ भनेर चिनिन्थ्यो ।

डिभिजन ३, ४ र ५ पनि रहेनन्

आईसीसीले वर्ल्ड क्रिकेट लिग डिभिजनको संरचनामा पनि फेरबदल गरेको छ । यसअघि प्रत्येक डिभिजनमा ६ वटा टिमबीच प्रतिस्पर्धा हुन्थ्यो र टप २ टिम माथिल्लो डिभिजनमा उक्लिन्थे । पुछारमा रहेका दुई टिम रेलिगेसनमा पर्थे । साथै डिभिजन २ र सोभन्दा माथिका म्याचहरु तथा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका म्याचहरुलाई मात्रै ‘लिस्ट ए’ को मान्यता दिइन्थ्यो । डिभिजन ३, ४ र पाँचलाई ‘अन्य ५० ओभर क्रिकेट’ को रुपमा वर्गिकरण गरिन्थ्यो ।

गत नोभेम्बरमा सम्पन्न डब्लुसीएल डिभिजन ३ बाट २ टिम डिभिजन २ मा उक्लिए । यही महिना भएको डिभिजन २ प्रतियोगिताले चार टिमहरु ओडीआई स्टाटस प्राप्त बने । अब डिभिजन तीनदेखि ५ सम्मका टिमहरुलाई सँगै ल्याएर ६–६ टिमका दुई समूहमा विभाजन गरिने छ । दुई ग्रुपलाई ‘क्रिकेट वर्ल्ड कप च्यालेन्ज लिग ए र लिग बी’ मा विभाजन गरिनेछ । दुवै समूहमा रहेका टिमहरुले आगामी अगष्टदेखि २७ महिनासम्ममा २७ म्याचहरु खेल्नेछन् । यी सबै म्याचहरुलाई लिस्ट ए स्टाटस दिइने छ, जसको हैसियत भनेको टेस्ट राष्ट्रहरुमा हुने घरेलु वान डे लिग बराबर हो ।

लिग ए र लिग बी दुवैका विजेताहरु विश्वकप क्वालिफायर प्लेअफमा लिग २ को ‘बटम ४’ मा परेका ४ टिमसँग भिड्नेछन्, जुन पहिलेको डिभिजन २ जस्तै हो । यो प्लेअफबाट टप २ टिमले विश्वकप क्वालिफायरमा अन्य ८ टिमसँग खेल्नेछन् । यही प्रतियोगिताका टप टिमले विश्वकपको रिक्त २ स्थान पूर्ति गर्नेछ ।

यसरी नेपालको लागि आगामी विश्वकप २०२३ को यात्रा जटिल र चुनौतिपूर्ण देखिएको छ । नेपालले यो यात्रामा वेस्ट इन्डिज, जिम्बाब्वे, अफगानिस्तान, आयरल्यान्ड, नेदरल्यान्ड्सजस्ता बलिया देशहरुसित भिड्नुपर्ने हुन सक्छ ।

नेपाल गत वर्षको फेबु्रअरीमा नामिबियामा सम्पन्न भएको विश्वकप डिभिजन २/विश्वकप क्वालिफायर प्लेअफको टप २ मा परेर जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरका लागि छानिएको थियो । उक्त क्वालिफायरबाट अफगानिस्तान र वेष्टइण्डिजले विश्वकपमा स्थान बनाएका थिए भने नेपालले ओडीआई मान्यता पाएको थियो । नेपालले टि–२० विश्वकपमा एकपटक खेले पनि एकदिवसीय विश्वकपमा खेल्ने सपना भने अहिलेसम्म अधुरै छ ।

गणितीय रुपमा हेर्दा २०२३ को विश्वकपका लागि हाल डिभिजन ५ मा रहेका टिमहरुलाई पनि ढोका खुल्ला छ । तर, केवल गणितीय रुपमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment