+
एनपीएल २०२५ :

विदेशी खेलाडी चलेको खेलमा लुम्बिनीको जित

२०८२ मंसिर  ४ गते २१:५७ २०८२ मंसिर ४ गते २१:५७

लुम्बिनीको जितमा विशेषगरी विदेशी खेलाडीकै भूमिका निर्णायक रह्यो । रुबेन ट्रम्पलमनको शानदार बलिङ अनि गुल्बादिन नाइबको अलराउन्ड प्रदर्शनमा लुम्बिनीले चितवनमाथि सहज किसिमको जित दर्ता गर्‍यो । 

विदेशी खेलाडी चलेको खेलमा लुम्बिनीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ।
  • रुबेन ट्रम्पलमनले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिएर प्लेयर अफ द म्याच बनेका छन्।
  • चितवनका रवि बोपाराले ४५ बलमा अर्धशतक बनाएका थिए भने अम्पायरको विवादास्पद निर्णयले खेलमा असर परेको थियो।

४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार लुम्बिनी लायन्सले पहिलो खेल खेल्दा विजयी सुरुवात गर्‍यो ।

गत सिजन एकमात्र जित निकालेको लुम्बिनीले यसपटक धेरै परिवर्तनका साथ मैदानमा उत्रिँदा प्रतियोगितामा बलियो सुरुवात गर्दै पहिलो खेलमा जित निकालेको चितवन राइनोजलाई पराजित गर‍्‍यो ।

गत सिजन पुछारमा रहेर प्रतियोगिता सकाएको लुम्बिनीले त्यसबेला पनि चितवनलाई नै हराएको थियो । यसपटक पनि सोही नतिजा दोहोर्‍याएर प्रतियोगितामा दमदार सुरुवात गरेको हो ।

कप्तान रोहित पौडेलले खेलपछि प्रतियोगितामा विजयी सुरुवात गर्नु महत्वपूर्ण भएको बताएका थिए । ‘पहिलो जित महत्वपूर्ण हुन्छ, जुनसुकै पनि प्रतियोगितामा यसले धेरै अर्थ राख्छ।टिम एफर्ट भयो’ उनले भने ।

लुम्बिनीको जितमा विशेषगरी विदेशी खेलाडीकै भूमिका निर्णायक रह्यो । रुबेन ट्रम्पलमनको शानदार बलिङ अनि गुल्बादिन नाइबको अलराउन्ड प्रदर्शनमा लुम्बिनीले चितवनमाथि सहज किसिमको जित दर्ता गर्‍यो । सन्दीप जोरा र डार्शी शर्टको ओपनिङ पनि ठीकठाक रह्यो ।

फिनिसरको भूमिकामा खेल्ने जोराले आज ओपनिङ गरेका थिए । लुम्बिनीका कप्तान रोहित पौडेलले लेफ्ट-राइट कम्बिनेशन मिलाउन जोरालाई ओपनिङ गराएको उल्लेख गरेका थिए ।

चितवनका लागि पनि सदाजस्तै रवि बोपाराले ब्याटिङमा राम्रो प्रदर्शन गर्दा अन्यबाट खासै योगदान हुन सकेन । बोपाराले एनपीएल इतिहासकै ढिलो अर्धशतक बनाउने क्रममा ४५ बल खेलेर अर्धशतक बनाएपनि चितवनले त्यति राम्रो योगफल भने बनाउन सकेन ।

यस्तै अम्पायरको केही निर्णय पनि विवादास्पद देखिँदा चितवनका लागि आज राम्रो दिन रहेन ।

ट्रम्पलमनको बलिङमा फसेको चितवन

एसोसियटकै उत्कृष्ट बलरमध्येका एक नामिबियाका रुबेन ट्रम्पलमनले चितवनलाई सुरुवातमै झट्का दिए ।

इंग्ल्यान्डका पावर हिटर डाविड मलान आज गोल्डन डकआउट भए । उनलाई ट्रम्पलमनले पहिलो बलमै बोल्ड गरेका थिए ।

ट्रम्पलमनले त्यसपछि १६औं ओभरमा कप्तान कुशल मल्ल तथा १९औं ओभरमा सेफ अली जैबको विकेट लिए ।

संयोगको कुरा के रह‍्यो भने तीनजना बाँयाहाते ब्याटर बाँयाहाते बलरकै शिकार बने । मलानको विकेटले सुरुवातमै धक्का खाएको चितवनले आक्रामक साबित हुनसक्ने कप्तान कुशललाई पनि गुमाएपछि योगफलबाट १५ देखि २० रन घटेको थियो । त्यसमाथि सेफ जैब पनि आउट हुँदा फिनिसिङ गर्ने कोही भएन ।

४ ओभरमा २३ रन मात्र दिएर ३ विकेट लिएका ट्रम्पलमन खेलको प्लेयर अफ द म्याच चुनिए ।

नाइबको अलराउन्ड प्रदर्शन

अफगानिस्तानका स्टार अलराउन्डर गुल्बादिन नाइबले पनि लुम्बिनीको जितमा महत्वपूर्ण भूमिका खेले । बलिङमा २ विकेट लिएका उनले ब्याटिङमा अविजित ४४ रन बनाए ।

बलिङमा उनले २०औं ओभरमा नै २ विकेट लिएका थिए । सेट ब्याटर रवि बोपारा र सोहेल तनविरको विकेट प्राप्त गरे । तर उनको बलिङभन्दा पनि ब्याटिङ योगदान महत्वपूर्ण रह्‍यो ।

नाइबले २४ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । ८१-३ को अवस्थामा लुम्बिनी हुँदा क्रिजमा आएका उनले कप्तान रोहितसँग मिलेर ६० रनको साझेदारी गरे ।

बुधबार काठमान्डुले योभन्दा सहज अवस्थाबाट हतासिएर खेल नै गुमाएको थियो । आजको खेलमा कप्तान रोहित पौडेलले स्लो इनिङ खेलेपनि नाइब आएपछि पावर हिटिङ गर्न थाले र लुम्बिनीका लागि खेल सहज बनाए ।

अभिशेषको राम्रो बलिङ

लुम्बिनी लायन्सका स्पीनर अभिशेष गौतमको बलिङ पनि किफायती रह्‍यो । उनले ३ ओभरमा १५ रन मात्र दिएर २ विकेट लिए ।

उनले खेलको चौथो ओभरमा चितवनका अर्का ओपनर दीपक बोहरालाई तथा आठौं औभरमा देव खनालको विकेट लिँदै चितवनलाई दबाबमा राखेका थिए ।

खेलपछि कुरा गर्दै लुम्बिनिका कप्तान रोहित पौडेलले ट्रम्पलमबाट राम्रो सुरुवात भएको र अभिशेषले पनि राम्रो बलिङ गरेको बताए । ‘रुबेनले नयाँ बलबाट राम्रो सुरुवात गरे, अभिषेशको बलिङ पनि राम्रो भयो। त्यसपछि नाइबले पनि अलराउन्ड योगदान दिए’ रोहितले भने ।

कहाँ चुक्यो चितवन ?

चितवन राइनोजले ब्याटिङ गर्दा कुनैपनि समय खेलमा पकड जमाउन सकेन । रवि बोपाराको अर्धशतक बाहेक अन्य ब्याटरहरू क्रिजमा जम्नै सकेनन् ।

सुरुवातमै २ विकेट गुमाएको चितवनका लागि बोपाराले संयमित पारी खेलेपनि अन्य ब्याटरको राम्रो साथ नपाउँदा इनिङ बिल्ड गर्न सकेन ।

मिडल अर्डरमा रन जोड्न नसकेको चितवनले अन्तिम ओभरतिर पनि राम्रो फिनिसिङ गर्न सकेन ।

यस्तै बलिङमा रिजन ढकालले पावरप्लेभित्रै २ विकेट लिएपनि पर्याप्त हुन सकेन । खराब लाइनका कारण बढी बाउन्ड्री बेहोरेको चितवनले फिल्डिङमा पनि त्यति दमदार प्रदर्शन देखाउन सकेको थिएन ।

लुम्बिनी भने फिल्डिङमा पनि राम्रो देखिएको थियो । केही क्याच ड्रप र मिसफिल्डका कारण चितवनले खेलमा मोमेन्टम प्राप्त गर्न सकेन । अम्पायरको एक विवादास्पद निर्णय पनि चितवनको विरुद्धमा गयो ।

१४औं ओभरको पहिलो बलमा रोहित पौडेल हल्का अगाडि बढ्दा चितवनका विकेटकिपर अर्जुन साउदले स्टम्पिङ अपिल गरेका थिए । लामो समय चेक गरेपछि टिभी अम्पायर विनय कुमार झाले नटआउट दिएका थिए । त्यसबेला रोहितको फूट भने हावामा नै देखिएको थियो । रिप्लेमा पनि लगभग प्रष्ट फूट हावामा देखिएको भएपनि उनलाई आउट घोषित गरिएको थिएन ।

यो निर्णयबाट चितवनका खेलाडीहरू पनि अचम्मित भएका थिए । रोहितको विकेट गएको भए खेलको मोमेन्टम परिवर्तन पनि हुन सक्ने सम्भावना रहन्थ्यो ।

खेलपछि कुरा गर्दै चितवनका अलराउन्डर बोपाराले योगफल कम भएको बताएका थिए । ‘आज हाम्रो योगफल नै कम भयो, त्यति योगफलले पुग्ने थिएन’ बोपाराले भने, ‘अन्तिम पाँच ओभरमा राम्रो ब्याटिङ नगर्नाले १५० भन्दा माथिको योगफल हुन सकेन।’

‘अम्पायरका केही निर्णयहरू पनि सन्तुष्ट हुने खालको भएन, त्यो पनि एउटा दु:खद कुरा थियो’ उनले थपे ।

लुम्बिनीका कप्तान रोहितले पनि अम्पायरिङमा देखिएका समस्या सुध्रिनुपर्ने कुरा भने उल्लेख गरे । ‘अम्पायरबाट कहिलेकाहीँ इरोर हुन्छ नै, कलेक्टिभली मिस्टेक भइरहेको छ, पिनपोइन्ट गर्नेभन्दा पनि सुध्रिँदै जानुपर्ने कुरामा जोड दिन्छु’ उनले भने ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५ चितवन राइनोज लुम्बिनी लायन्स
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय