Comments Add Comment

संसदको घटनामा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : देउवा

२६ वैशाख, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख २४ गते संसदमा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नुपर्ने बताएका छन् ।

संसदमा प्रधानमन्त्रीले अमर्यादित शब्द बोलेर गल्ती गरेको भन्दै माफी माग्नुपर्ने बताएका हुन् । बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत वीरगञ्जमा आयोजित कार्यक्रममा उनले भने ‘जथाभावी बोलिदिने, मान्छेबाट गल्ती हुन सक्छ, सरी है गल्ती भयो भन्नुपर्दैन ?’

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले माफी नमागेर प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति देखाएको बताए । ‘ओली तानाशाह हुन्, यीनीहरु गल्ती गर्ने तर गल्ती नै गरेको छैन जस्तो गर्ने खालका छन् ।’

वैशाख २४ गते संसदमा कांग्रेस सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन रोष्टममा गएका प्रधानमन्त्रीले सांसदहरुको प्रश्नलाई निम्छरो भनेपछि विवाद भएको थियो । कांग्रेस सांसदले प्रधानमन्त्रीले असंसदीय भाषा बोलेको भन्द त्यसलाई रेकर्डबाट मेटाउन माग गरेका थिए । तर प्रधानमन्त्रीले रोष्टमबाटै कांग्रेस सांसदसँग सवालजवाफ गरेका थिए ।

सभापति देउवाले सभामुखप्रति पनि आक्रोश पोखे । ‘सभामुखले त डिलिट गर्छु पनि भन्न सक्नुभएन, कस्तो कमजोर सभामुख ?’

प्रजातन्त्रमा संकट आएको बताउँदै देउवाले प्रजातन्त्रलाई बचाउनका लागि एकजुट भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीभित्रको प्रसंगमा देउवाले कांग्रेस सच्चा समावेशी पार्टी भएको दावी गरे । ‘दलित महिला मुस्लिम जनजाति, थारु सबैलाई आरक्षणको व्यवस्था गरेको छ । यस्तो व्यवस्था अरु कुनै पार्टीले गरेको छैन, त्यसैले नेपाली कांग्रेस सच्चा मानेमा समावेशी पार्टी छ’ उनले भने ।

सहमहामन्त्री डा प्रकाशसरण महतले कम्युनिष्ट फुट्लान र हामी बलियो बनौंला भनेर नबस्न कार्यकर्तालाई आग्रह गरे । ‘पछिल्लो चुनावमा नेपाली कांग्रेसले विगतको तुलनामा राम्रो मत ल्याए पनि कम्युनिष्ट एक भएकाले जिते, उनीहरु फुटलान र जितौला भनेर भएन । एक अर्कालाई गाली गर्ने, निन्दा गर्न छोड्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment