Comments Add Comment

छापामा आज : अदालतकै जग्गा कब्जा, किरिया नगर्दा परिवारै गाउँ निकाला

२७ वैशाख, काठमाडौं । अनियमितता, बेथिति, कुसंस्कार, कुशासनलगायतका विषय आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले किरिया नगर्दा गाउँ निकाला भएकोदेखि जिम्मेवार निकायले नै पुरातात्विक सम्पत्ति अतिक्रमण गर्न अनुमति दिएकोसम्मका विषय उठाएका छन् ।

कान्तिपुरले आज चिया बगानका मजदुरको कथा–व्यथा छापेको छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै थालेको आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक समस्यामा पर्न थालेको कान्तिपुरले लेखेको छ । समाचार अनुसार आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल पर्न थालेको छ । मजदुरहरुले गिट्ठाका भरमा छाक टार्ने गरेको गुनासो गरेका छन् ।

सरकारले मिडियामाथि नियमनका लागि सम्पूर्ण रुपमा नियन्त्रित मिडिया काउन्सिल गठनको तयारी गरेको दाबी पनि कान्तिपुरले गरेको छ । लोकतान्त्रिक मुलुकहरुमा मिडियाले स्वनियमन गर्ने अभ्यास बढिरहेका बेला नेपाल सरकारले भने आफूनियन्त्रित संयन्त्र खडा गर्न खोजेको कान्तिपुरको ठम्याइ छ ।

यसका लागि अहिलेको प्रेस काउन्सिललाई विस्थापन गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संसद् सचिवालयमा नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक दर्ता भएको कान्तिपुर समाचारमा उल्लेख छ ।

सार्वजनिक जग्गा अतिक्रमणबारे श्रृंखलावद्ध रिपोर्ट छाप्दै आएको कान्तिपुरले आज अदालतकै जग्गा कब्जामा परेको खुलासा गरेको छ । उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको हो । बुटवल उपमहानगरपालिका–४ स्थित जेसिज चोकदेखि उत्तर खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो । त्यस्तै स्वर्गद्वारीको ९५८ बिघा जग्गा पनि कब्जामा परेको छ ।

मानव तस्करहरुले पुरानो रुट बदलेर नयाँ रुट खोज्दै नेपालीलाई अवैध मुलुक लैजाने धन्दालाई निरन्तरता दिएकोदेखि डेडिकेटेड फिडर हटाउने तयारी भएकोसम्मका खबर कान्तिपुरको भित्री पृष्ठमा छन् ।

अन्नपूर्णले सामाजिक कुसंस्कारले निम्त्याएको एउटा घटनामाथि आज मुख्य समाचार लेखेको छ । समाचार अनुसार, बुबाको काजकिरिया नगरेको भन्दै एक परिवार गाउँनिकाला भएका छन् । बुबाको काजकिरिया नगरेको भन्दै बारा धरमपुरको एउटा परिवार गाउँबाट विस्थापित भएको हो ।

अन्नपूर्ण लेख्छ– सुवर्ण गाउँपालिका ६, धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्यष्टिपछि छोराहरु अवधेश र पप्पुले कपाल काटेनन् भने हिन्दू संस्कारअनुसार किरिया पनि गरेनन् । उनीहरुले परिवारले अपनाउँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके ।’

अन्नपूर्णका अनुसार संस्कार नमानेको भन्दै गाउँका अगुवाले समाजिक बहिष्कार गर्ने निर्णय गरेका छन् । गाउँलेको यस्तो निर्णयसँगै यादवको ९ जनाको परिवार गाउँ छाडेर हेटौंडाको कमानेमा बस्दै आएको छ । अवधेशले बहिष्कारपछि गाउँ छाडेको गुनासो गरेको अन्नपूर्णमा उल्लेख छ ।

महसुल नतिरी ट्रंक र डेडिकेटेड लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको खबरलाई पनि अन्नपूर्णले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ ।

नयाँ पत्रिकाले बूढीगण्डकीमा माफियाको चलखेल भएको ठहर गरेको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सरकार १२ सय मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकीलाई ८ सयमा झार्ने तयारीमा लागेको उसको दाबी छ ।

नागरिकले राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरुलाई नै प्रभावमा पारिएको दाबी गरेको छ ।

पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणको दायित्व बोकेको पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानूनी प्रक्रिया अपनाउनुको सट्टा सहयोगी भूमिका खेलेको नागरिकको दाबी छ ।

गैरकानूनी आर्जनविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आक्रामक कारबाही थाल्न लागेको खबर राजधानीमा छ भने सरकारी मुखपत्र गोरखापत्रले ‘अतिक्रमित जग्गा चाँडै सरकार मातहतमा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment