+
एनपीएल २०२५ :

रोसिङटनको शतकले पारेको प्रभाव

२०८२ मंसिर  १६ गते २३:०५ २०८२ मंसिर १६ गते २३:०५

रोसिङटनको शतकले नै खेलमा ठूलो प्रभाव पार्‍यो । पहिलो इनिङ्समा उनले बनाएको शतक मदतमा पोखराले २०० माथिको स्कोर बनायो । बलरहरुको सहयोगमा त्यो स्कोर डिफेण्ड पनि गर्‍यो ।

रोसिङटनको शतकले पारेको प्रभाव

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध ५५ बलमा १०८ रन बनाउँदै एनपीएलमा पहिलो इनिङ्समा शतक प्रहार गर्ने पहिलो खेलाडी बने।
  • रोसिङटन र ज्यासन रोयले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गर्दै पोखराका लागि एनपीएलमा पहिलो शतकिय साझेदारी गरे।
  • पोखराले कर्णालीलाई ३४ रनले पराजित गर्दै अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना कायम छ।

१६ मंसिर, काठमाडौं । इंग्लिस विकेटकिपर ब्याटर एडम रोसिङटन सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि पोखरा एभेन्जर्समा अनुबन्ध हुँदा खासै धेरैले नोटिस नगरेका खेलाडी हुन् ।

विश्वकपदेखि आईपीएलसम्म खेलेका र जितेका खेलाडीहरु एनपीएलमा अनुबन्ध उनीहरुको चर्चा धेरै भयो । तर रोसिङटनको चर्चा धेरै भएन ।

उनले अहिले भइरहेको एनपीएलमा पोखरा एभेन्जर्सबाट सुरुवात देखि नै खेल्दै आएका छन् । तर पछिल्लो दुई खेलमा भने रोसिङटनको ब्याटिङ र उनले बनाएको रनको मजैले चर्चा भयो ।

पोखराको चौथो खेलमा रोसिङटनले लुम्बिनी लायन्सविरुद्ध यस सिजनकै ‘स्लोयस्ट’ अर्धशतक बनाएका थिए । पोखराको ब्याटिङ खराब हुँदा पनि ओपनर रोसिङटनले एक छेउबाट इनिङ्स सम्हाल्दै ५२ बलमा अर्धशतक पूरा गरेका थिए र ८० रन बनाएर आउट भए । त्यस खेलमा पोखरा पराजित भयो ।

तर मंगलबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भने उनै रोसिङटन मज्जैले छाए । पोखराले टस हारेर पहिले ब्याटिङ गर्दा रोसिङटनले सानदार शतक प्रहार गरे । ५५ बलमा शतक प्रहार गरेका उनले अन्तिमसम्म ब्याट क्यारी गर्दै अविजित १०८ रन जोडे । यस क्रममा उनले ५८ बल खेल्दै ११ चौका र ७ छक्का समेत प्रहार गरे ।

रोसिङटनको शतकले नै खेलमा ठूलो प्रभाव पार्‍यो । पहिलो इनिङ्समा उनले बनाएको शतक मदतमा पोखराले २०० माथिको स्कोर बनायो । बलरहरुको सहयोगमा त्यो स्कोर डिफेण्ड पनि गर्‍यो । पोखरा यस सिजन एनपीएलमा २०० रन बढी स्कोर गर्ने विराटनगर किंग्सपछि दोस्रो टिम पनि बन्यो ।

विराटनगरले पोखरा विरुद्ध नै पहिलोपटक कीर्तिमानी २२० रन बनाएको थियो ।

रोसिङले यस खेलमा पोखराका कप्तान कुशल भुर्तेलसँग ओपनिङ गरेका थिए । यसअघि दिनेश खरेलले ओपनिङ गरेपनि कर्णाली विरुद्ध खरेल ड्रप हुँदा भुर्तेलले नै रोसिङटनसँग ओपनिङ गरे । पहिलो विकेटका लागि रोसिङटनले कुशल भुर्तेलसँग ३४ रनको साझेदारी गरेका थिए ।

तर त्यसपछि भने विश्वकप जितिसकेका ज्यासन रोयसँग रोसिङटनको साझेदारी खुबै जम्यो । यो जोडीले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे । एनपीएलमा यस सिजन यो दोस्रो ठूलो साझेदारी हो भने पोखराका लागि पहिलो शतकिय साझेदारी हो । यसअघि विराटनगर किंग्सका लोकेश बम र मार्टिन गप्टिलले दोस्रो विकेटका लागि पोखरा विरुद्ध नै १३२ रनको साझेदारी गरेका थिए ।

रोसिङटनले रोयसँग ब्याटिङ गर्दा रमाइलो भएको बताए । ‘रोय धेरै राम्रो खेलाडी हुन् । उनीसँग पार्टनरसिप राम्रो रह्यो । म बाट प्रेसर हटाइदिए’ उनले भने ।

सोमबार दिउँसो मात्र नेपाल आइपुगेका रोयले भोलिपल्ट नै पोखराबाट खेल्दै एनपीएलमा डेब्यू गरेका हुन् । अर्धशतकबाट थोरैले चुकेपनि उनले महत्वपूर्ण ४६ रन योगदान गरे । रोयले ३४ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै रोय आउट भएपछि रोसिङटनले श्रीलंकन अलाराउण्डर धनन्जय लक्षनसँग अविजित ४० रनको साझेदारी गरेका थिए ।

एनपीएलमा तेस्रो शतक

३२ वर्षीय दायाँ हाते ब्याटर रोसिङटनले बनाएको शतक एनपीएल दोस्रो संस्करणमा दोस्रो शतक हो भने समग्रमा एनपीएलको तेस्रो शतक हो । यस्तै उनी पोखरा एभेन्जर्सका लागि एनपीएलमा शतक प्रहार गर्ने पनि दोस्रो खेलाडी हुन् ।

पहिलो संस्करणमा पोखराबाट खेलेका अमेरिकी विकेटकिपर ब्याटर आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध शतक प्रहार गरेका थिए ।

दोस्रो संस्करणमा कर्णाली याक्सका स्कटिस खेलाडी मार्क वाटले पनि लुम्बिनी लायन्सविरुद्ध नै शतक प्रहार गरेका थिए । वाट बलर भएपनि यस सिजन कर्णालीका लागि ओपनिङ गर्दै करियरकै पहिलो शतक प्रहार गरेका थिए ।

वाट समावेश टोली कर्णाली विरुद्ध रोसिङटनले शतक प्रहार गरे । अर्को रमाइलो संयोग एनपीएलमा लुम्बिनी बाहेक टिमलाई शतक प्रहार गर्ने रोसिङटन पहिलो खेलाडी बने ।

एनपीएलमा शतक प्रहार गर्ने खेलाडीको टिमले जित हात पारेको इतिहासला२ पनि पोखराले निरन्तरता दिएको छ । गत सिजन गौसले शतक प्रहार गर्दा पोखराले लुम्बिनीला२ १० विकेटले पराजित गरेको थियो । यस्तै यस सिजन वाटले शतक हान्दा कर्णालीले लुम्बिनीलाई ९ विकेटले हराएको थियो ।

रोसिङटनले शतक प्रहार गरेको खेलमा पनि पोखराले कर्णालीलाई ३४ रनले पराजित गर्‍यो । यसअघिका दुई शतक लक्ष्य पछ्याउने क्रममा बनेको थियो । तर रोसिङटनको शतक भने पहिलो इनिङ्समा थियो । रोसिङटन एनपीएलमा पहिलो इनिङ्समा शतक प्रहार गर्ने पहिलो खेलाडी नै बने । यस्तै शतक प्रहार गर्ने उनी दोस्रो विकेटकिपर ब्याटर बने ।

पहिलो पटक एनपीएल खेलिरहेका रोसिङटनले पछिल्लो दुई खेलमा अर्धशतक र शतक प्रहार गरेपछि उनी सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा समेत उक्लेका छन् । उनले ५ खेलमा कूल २५३ रन बनाएका छन् । सुरुवाती तीन खेलमा ६४ रन बनाएका उनले पछिल्लो दुई खेलमा १८९ रन बनाए ।

लक्षन र धवनको योगदान

कर्णाली विरुद्ध पोखराका रोसिङटनले शतक प्रहार गर्दा उनको नाम धेरै हाइलाइट भयो । तर पोखरालाई जिताउन रोसिङटनसँगै अन्य तीन विदेशी खेलाडी रोय, धनन्जय लक्षन र ऋषि धवनको प्रभाव पनि उति नै रह्यो ।

शतक बनाएका रोसिङटनले नयाँ आएका खेलाडीहरुले राम्रो प्रदर्शन गरेको र बिहीबार पनि यस्तै प्रदर्शनको अपेक्षा राखेको बताए ।

रोयले ब्याटिङमा ४६ रन योगदान गर्दा श्रीलंकन खेलाडी धनन्जय लक्षनले पनि लेट केमियो इनिङ्स खेले । रोसिङटन बाहेक तीन विदेशी खेलाडी रोय, लक्षन र ऋषी धवन सोमबारै काठमाडौं आएका थिए ।

लक्षनले चौथो क्रममा ब्याटिङ गर्दै ११ बलमा ३ चौका  र१ छक्का प्रहार गरी अविजित २३ रन जोडे । यस्तै लक्षन र धवनले बलिङमा पनि उत्तिकै प्रभाव पारे । विदेशी खेलाडीहरुले अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा खेलेको अनुभव एनपीएलमा भरपुर सदुपयोग गरे ।

लक्षन र धवन दुवैले समान ३ विकेट लिए । प्रियांक पान्चललाई आउट गर्दै कर्णालीको पहिलो विकेट लिएका लक्षनले अन्तिम दुई विकेट लिँदै एनपीएल डेब्युमा ३ विकेट हात पारे ।

यस्तै स्पीनर ऋषी भवनले मिडर अर्डरमा महत्वपूर्ण तीन विकेट लिए । उनले १३औं ओभरमा पवन सर्राफ (१९), १६औं ओभरमा नजिबुल्लाह जद्रान (२४) र १९औं ओभरमा कप्तान सोमपाल कामी (१३) को विकेट लिए । आवश्यक समयमा महत्वपूर्ण विकेट लिँदै कर्णालीलाई अलआउट गर्न लक्षन र धवनको योगदान रह्‍यो । साथै दुई पार्टटाइमिर किरण ठगुन्ना र सन्दीप खत्री क्षेत्रीले पनि १-१ विकेट लिएर योगदान गरे । कप्तान कुशल भुर्तेलले पनि ४ ओभर नै बलिङ गरेर १ विकेट लिए ।

कर्णालीलाई पराजित गरेपछि ५ खेलबाट ४ अंक जोडेको पोखरा अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । पोखराले अब बिहीबार काठमान्डु गोर्खाज र शनिबार चितवन राइनोज विरुद्ध खेल्नेछ । दुवै खेल जितेमा पोखराको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

रोसिङटनले पनि अब बिहीबार हुने खेल जित्दै शनिबार पनि त्यही किसिमको प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।

ऋषी धवन एडम रोसिङटन एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५ ज्यासन रोय धनन्जय लक्षन पोखरा एभेन्जर्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय