१६ मंसिर, लन्डन । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ ।
बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो ।
ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ ।
त्यसक्रममा उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ ।
ढकालको बलात्कार र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने एक जनालाई उनले लन्डन पुगेर दुराचार गरेका थिए ।
स्थानीय समुदायमा एक जना विश्वासिलो सदस्य र एक धार्मिक व्यक्तिको रुपमा समेत बनाएको सहज पहुँचलाई दुरुपयोग गर्दै उनले यौन दुराचार गरेको ठहर अदालतले गरेको छ ।
पीडितमध्ये धेरै ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् । उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको खुलेको छ ।
पिटरबरोस्थित नेपाली समुदायका अगुवाबाट प्राप्त जानकारीअनुसार सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल त्यसक्षेत्रकै पुरानामध्येका एक नेपाली हुन् ।
सन् १९९८ मा लन्डन आएका उनी त्यसअघि लन्डनमा बस्ने गरेका थिए ।
ढकालको पुख्र्यौली घर धादिङ र अहिले काठमाडौंमा पनि छ । पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई स्थानीय नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।
उनले पाएको सजायबारे बीबीसी लगायतका मिडियाहरूले समाचार लेखेका छन् ।
बीबीसीले क्याम्ब्रिज क्राउन कोर्टको फैसलालाई उद्धृत गर्दै लेखेको छ । अभियोजक क्लेयर म्याथ्युजले अदालतलाई बताएको विवरण अनुसार पीडितले ढकाललाई ‘दोस्रो बाबु’ जस्तै मान्ने गर्थिन् । त्यसको फाइदा उनले लिए । साँचो बोलेमा अझ बढी हानि हुन्छ भनेर दबाबमा राख्थे ।
प्रतिक्रिया 4