Comments Add Comment

कालोपत्रे छिटो गर ! ठेकदारलाई कारवाही गर !

२६ वैशाख, काठमाडौं । चुच्चेपाटी-टुसाल-बौद्ध-जोरपाटी सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले  स्वतस्फूर्तरुपमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत-जावत रोकेका थिए । यद्यपि प्रहरीले सडकका अवरोधहरु हटाएको छ । तर, उनीहरुको प्रदर्शनका कारण यातायात आवागमन प्रभावित भएको छ ।

लामो समयदेखि सडक मर्मत नहुँदा विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समस्या छ । सो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलो हुने गरेको छ ।

यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सडक जीर्ण भएकाले मानव स्वास्थ्यमा असर परेको र व्यापार व्यवसाय पनि संकटमा परेको गुनासो उनीहरुको छ ।

यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा नगरेर अलपत्र छाडिएको छ । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरेको छ ।

यो पनि पढ्नुहोस सडक अनुगमनः माधव नेपालले ब्यंग्य हाने, मन्त्रीले जुत्ता टकटक्याए

लामो समयदेखि सडक नबन्दा वर्षाको बेला ताल नै बन्ने गरेको छ । ढल निकासको समेत राम्रो प्रवन्ध हुन सकेको छैन ।  सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्र संरक्षित स्मारकबाट समेत हट्न सक्ने खतरा भएको भन्दै यसअघि मानव अधिकार तथा नागरिक समाजले पनि चिन्ता व्यक्त गरेको थियो ।

सो सडकखण्डमा पर्ने मेडिकल कलेज, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल, स्तूपा सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थामा बिरामी पुर्‍याउन हिँडेका एम्बुलेन्ससमेत सडकमै फस्दा बिरामीले सास्ती व्यहोर्नुपरेका घटनाहरु पनि भएका छन् ।

त्यसैले सडकको स्तरोन्ततिका लागि स्थानीयवासीले निरन्तर दबाबमूलक विरोधका कार्यक्रम गर्दै आएका छन् । स्थानीयले यसअघि सडकमै विरोधसभा, सडक रोपाइँ, कवि गोष्ठीलगायतका कार्यक्रमसमेत गरेका थिए ।

थप तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment