२६ वैशाख, जनकपुरधाम । दुई वर्ष पुरानो कहाली लाग्दो दिन भुल्न नपाउँदै धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरस्थित साह परिवारमाथि अर्को वजपात आइलागेको छ ।
अढाई वर्षे बालकको हत्या भएपछि परिवारका सदस्यहरुले आफूलाई सम्हाल्न सकेका छैनन् ।
अनलाइनबखरको टोली बिहीबार बिहान घर पुगेपछि महिलाहरुको रुवाईप्रष्ट सुनिन्थ्यो । बालककी हजूरआमा ‘हमर पोता कहाँ ?’ अर्थात् ‘मेरो नाति खोई ?’ भन्दै रोइरहेकी थिइन् । आर्यनकी आमा रेणु आँगनमा टोलाइरहेकी थिइन् । हजुरबुवा पिताम्बर एउटा कोठामा निःशब्द बसिरहेका थिए ।
घरमा चुल्हो बलेको छैन ।
आफन्त तथा गाउँले आउने र सम्झाउने गरिरहेका छन् तर, परिवारका सदस्यहरु आफूलाई सम्हाल्न सकेका छैनन् ।
आर्यनका पिता शम्भु वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । माइलो काका जयकुमार भतिजाको हत्या भएको सुन्नेवित्तिकै बुधबार राति घर फर्केका छन् । ‘दाइपनि छुट्टी मिलाइरहनुभएको छ । दुई चार दिनभित्रै घर आउनुहुन्छ’ जयकुमारले भने ।
दुई दाजुभाई मलेसियामा रोजगारी गर्दै आएका छन् । कान्छो भाइ संजयसहित उनका माता, पिता, मृतक बालकसहित उनकी आमा र दुई दिदी घरमा थिए ।
‘मेरो आमाबुवा एउटा विवाह घरमा गएको थियो, म खरभुजा ल्याउन कमला नदी गएको थिएँ’ सञ्जय भन्छन्, ‘त्यस दिन घरका सबै महिला घरमै थिइन् । आर्यन एक्लै घर अगाडिको दरबाजामा खेलिरहेका थिए । एक्कासी वेपत्ता भयो ।’
आमा रेणुका अनुसार आफूसँग दाल, भात मागेर खाएका आर्यन घर अगाडि खेलिरहेका थिए । सोमबार साँझ ५ बजेदेखि उनी एकाएक वेपत्ता भएका थिए ।

परिवारका सदस्यहरुले चारैतिर खोजे पनि उनी फेला परेनन् । धामीले मानिस हराएको सूचना दिन्छ भन्ने सुनेर आर्यनका हजुरबुवा पिताम्बर सोमबार राति नै सर्लाहीको हरिवन पुगे । मृतकका काका सञ्जयले भन्छन् ‘धामीले घरदेखि उत्तरतिर आर्यन छ भनेपछि रातारात गएर खोज्नुभयो तर, फेला परेनन् ।’
भोलिपल्ट विहान आर्यनको शव बारीमा फेला पर्यो । अघिल्लो रात त्यहाँ खोज्दा केही भेटिएको थिएन । भोलिपल्ट पछाडिबाट घाँटी काटिएको अवस्थामा शव भेटियो ।
र, बिहान उनको शव फेला पर्यो । आर्यन परिवारका सदस्यहरुमाझ प्रिय थिए । घरमा सबै खुसी थिए । आर्यनकी जेठी दिदी अर्चनाले भनिन्, ‘त्यो खुशी लुटियो ।’
आशंका पुरानै दुश्मनीतिर
साह परिवारमाथि दुई वर्ष पहिले अर्को आपत परेको थियो । परिवारका एक महिला सदस्यको बलात्कार प्रयास भएको थियो तर, प्रतिवाद मात्र भएन, अपराधी जेल गए ।
तर, त्यही कारण अहिले दुधे बालकको हत्या भएको आशंका गर्छन् परिवारका सदस्यहरु । बलात्कारको प्रयास गर्ने किशोरलाई सजाय सुनाएर सुधार केन्द्रमा पठाइएकाले उनकै परिवारले आर्यनको बालकको हत्या गरेको हुन सक्ने आशंका छ ।
‘गाउँमा कसैसँग कुनै रिसइबी छैन’ मृतक बालकका कान्छो काका सञ्जय साहले भने, ‘त्यही बलात्कारीका पिता र दाइले खुल्लेआम धम्की दिँदै आएका थिए ।’
‘तिमीहरुले मेरो छोरालाई जेल पठायौं, तिम्रो परिवारका मान्छेलाई पनि देखाइदिन्छौं’ भन्दै हप्तामा दुईदेखि तीन पटकसम्म धम्की दिन्थे’ सञ्जयले भने, ‘यसबारे हामीले वडा सदस्य सिताराम महतोलाई पनि जानकारी गराएका थियौं ।’
दुई बर्षअघि गाउँकै दिनेश भनिने शिवकुमार महतोका छोरा रञ्जीतले जर्वजस्ती करणीको प्रयास गरेका रहेछन् । अभियोग प्रमाणित भएपनि १५ बर्षको भएका कारण रञ्जितलाई सुधार केन्द्रमा राखिएको छ । त्यही रिसइबीका कारण रञ्जितका पिता दिनेश र दाइ प्रदीपले धम्क्याउँदै आएको संजयले सुनाए ।
मृतक बालककी आमा रेणुदेवीले आर्यन ८ महिनाको हुँदा उनीहरुले पालेका कुकुर खोलेर आफूलाई टोक्न लगाएको बताइन् । धम्की पनि दिइरहन्थे, उनले भनिन् ।
प्रहरीको आशंका पनि त्यतै
प्रहरीले मृतक परिवारले आशंका गरेको व्यक्तिलाई नियन्त्रणमा लिएको छ । दिनेश र प्रदीपसहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले भने, ‘उनीहरुको संलग्नता हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी घट्नाको सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4