Comments Add Comment

धन ठूलो कि मन ?

‘धन ठूलो कि विद्या ?’ हामीले विद्यालय तहमा यही विषयमाथि वाद-विवाद गर्दै आयौ । अक्सर हामीलाई धन भन्दा विद्या ठूलो भनेर बुझाइयो । सानै उमेरदेखि हामीलाई भनियो कि, धन भनेको ठूलो कुरो होइन ।

तर, जब हामी व्यवहारिक जीवनमा प्रवेश गर्‍यौ, हामीलाई धनको खाँचो पर्‍यो । छाना, माना र नानाका लागि धन अपरिहार्य भयो । बिहान-साँझ छाक टार्नुपर्‍यो, धन चाहिन्छ । चाडपर्व मनाउनुपर्‍यो, धन चाहिन्छ । केही उद्यम-व्यवसाय गर्नुपर्‍यो, धन चाहिन्छ । जीवनलाई सहज र सरल बनाउन धन नै चाहियो । यतिबेला हामीलाई लाग्यो, धन पनि ठूलै कुरा रहेछ ।

धन अर्थात समृद्धि

हाम्रो पूर्विय संस्कार अनुसार बर्षभरमा विभिन्न चाडपर्व मनाउँछौ, त्यसमध्ये एक हो तिहार । तिहारलाई लक्ष्मीपूजा पनि भनिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । घरमा लक्ष्मीले वास गर्नु भनेको पारिवारिक समृद्धी मिल्नु पनि हो भन्ने यसको संकेत छ । यसर्थ जीवनमा धनले पनि खास अर्थ र महत्व राख्छ । जीवनका न्युनतम आवश्यक्ताहरु पुरा गर्न हामीलाई धनको खाँचो पर्छ ।

धनी हुनुलाई जीवनको पूरुषार्थ पनि भनिएको छ । एउटा भनाई छ, ‘तिमी गरिब जन्मियौ, त्यो तिम्रो दोष होइन । यदि गरिब नै भएर मर्‍यौ, त्यो तिम्रो दोष हो ।’

धन के होइन ?

एकातिर जीवन चलाउन धन अपरिहार्य भनेर भोग्दै र बुझ्दै जाँदैछौ, अर्कोतिर धन ‘केही होइन’ भन्ने आवाज पनि सुन्दैछौ । महान् विचारक, दार्शनिक, धर्मगुरुहरुले धनलाई त्यती महत्व दिएनन्, जति हामीमा यसप्रति आशक्ति रह्यो ।

वास्तवमा धन आफैमा पूर्णता भने होइन । धन नै सवैथोक होइन । धनले नै सबै समस्याको हल गर्ने पनि होइन । धन नै सुखको स्रोत पनि होइन ।

भनिन्छ नि, निद्रा मिठो कि ओछ्यान ? जवाफ, निद्रा । भोक मिठो कि भोजन ? जवाफ, भोक । भौतिक बस्तु नै जीवनको पर्याप्त होइन भन्ने कुराको दृष्टान्त हुन् यी । त्यसैले हाम्रा पूर्खाहरुले भन्दै आए, ‘धनप्रति आशक्ति नराख्नु ।’

धनको भोक

धन भनेका हाम्रा भौतिक आवश्यक्ता परिपूर्ति गर्ने साधन हुन् । यी आफैमा साध्य होइनन् । यी आफैमा उपलब्धी होइनन् । त्यसैले अन्धदृष्टि लगाएर धन आर्जन गर्ने जुन लालसा राखिन्छ, त्यसले हामीलाई सधै अतृप्त बनाउँछ । सधै असन्तुष्टि बनाउँछ । किनभने धन पाउने लालसा कहिल्यै मेटिदैन । जति कमाउँछौ, उत्तिनै त्यो भोक जाग्दै जान्छ ।

धनको भोक भयानक पनि हुन्छ । जब जब हामीले धनलाई आवश्यक्ता परिपूर्ति गर्ने बस्तुभन्दा माथि ठान्छौ, तब हामीभित्रको मनावियता हराउँछ । जसरी हुन्छ धन कमाउने चेष्टा गर्न थाल्छौ । यसका लागि जस्तोसुकै हर्कत गर्न पनि पछि हट्दैनौ । अन्नतः यहि मनोवृत्तिले हामीलाई नर्कमा पुर्‍याउँछ ।

संसारमा भएका धेरैजसो अपराधकर्ममा धन नै कारक देखिएको छ । धनले एउटै कोखका दाजुभाईलाई पनि अलग बनाइदिन्छ । त्यही कारण हाम्रो समाजमा उखान चलेको छ, ‘धनको मुख कालो ।’

धन एक साधन

दैनिक जीवन-यापन गर्न धन चाहिन्छ । कतिपय भौतिक आवश्यक्ता पुरा गर्न धन चाहिन्छ । तर, धन नै सबैथोक हो भनेर लम्पट भएर लाग्दा त्यसले हाम्रो जीवनको रस खोसिदिन्छ । जीवनको सुगन्ध खोसिदिन्छ । जीवनको सौन्दर्य खोसिदिन्छ । मृत्युको मुखसम्म पुग्दा हामी खोक्रो भइसक्छौ । अझैपनि मनमा भोक मरेको हुँदैन, धनको ।

यसको अर्थ यो होइन कि, धन तुच्छ चिज हो । जीवनका भौतिक आवश्यक्ताहरु पुरा गर्नका लागि धन चाहिन्छ । धन आर्जन गर्न सीप, श्रम र लगाव चाहिन्छ । यसरी आर्जन गरेको धनलाई समूचित ढंगले लगानी वा भोग गर्न पनि विवेकको आवश्यक्ता पर्छ । त्यसैले विवेक विनाको धनले आफुलाई दुःख दिन्छ वा आफ्नो नष्ट गर्छ भने, विवेकसहितको धनले आफुलाई सुख दिन्छ ।

धनप्रतिको आशक्ति चाहि त्याग्नुपर्छ भनिएको छ । धन नै सबैथोक हो भन्ने कुराले जब मनमा डेरा जमाउँछ, तब मन ढुंगा बन्छ । यस्तो कठोर मनले मानविय समाजको अन्त्या गर्छ । त्यसैले धन मात्र भएर हुँदैन, मन पनि चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment