Comments Add Comment

नागढुंगा सुरुङमार्गको जिम्मा बीपी राजमार्ग बनाएको जापानी कम्पनीलाई

२९ जेठ, काडमाडाैं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ ।

ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा सकस परेको थियो । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको हाज्मा/आन्दो जेभीको आर्थिक प्रस्ताव भने अन्य कम्पनीको भन्दा बढी थियो ।

यसका कारण एक चिनियाँ कम्पनीले ठेक्का पाउने अवस्था आएको थियो । ठेक्कामा एक जापानी र ५ चिनियाँ कम्पनी प्रतिस्पर्धामा थिए ।

तर, जापानी सहयोग नियोग (जाइका)ले चिनियाँ कम्पनीबाट हुने काम गुणस्तरीय नहुने भन्दै चिनियाँ कम्पनीलाई ठेक्का दिन अस्वीकार गरेको थियो । तर, खरिद ऐन र नियमावलीले कम मूल्य कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने व्यवस्था कारण सडक विभागलाई दाताको दबाव मान्न असहज अवस्था आएको थियो ।

तर, अन्तिममा हाज्मासँग वार्तामार्फत उसको प्रस्तावभन्दा ७० करोड कममा सुरुङमार्गको ठेक्का दिने सहमति गरिएको सडक विभागका एक इन्जिनियरले जानकारी दिए । अब हाज्माले यसअघि कबोल गरेको भन्दा ७० करोड रुपैयाँ काममा नै सुरुङमार्ग निर्माणको जिम्मा लिँदैछ । उसले स्टमेटभन्दा बढीमा ठेक्का कबोल गरेको थियो ।

दातृ निकाय जापानी सहयोग नियोग (जाइका)ले जापानी कम्पनीले ठेक्का नपाए नेपालमा सहयोग कटौति गर्नेसम्मको चेतावनी दिएपछि हाज्माको प्रस्तावमा नै रकम घटाएर सम्झौता हुन लागेको हो । सम्झौताका लागि लागि जाइका स्वीकृति आवश्यक पर्छ ।

यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने महाशाखा प्रमुख थापाले जानकारी दिए ।

हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । काटेश्वर-सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । उसले नै बिपी राजमार्गको निर्माण गरेको हो ।

यो सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा यो सुरुङमार्ग निर्माणको कमा थाल्न ढिलाइ भएको छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

यो सुरुङमार्ग दुबैतर्फका सडक बेला-बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्काेपट्ट िएक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटरको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ ।

तीन लेनको सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ । यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नुपर्ने छैन ।

यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको इन्धन पनि बचत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment