Comments Add Comment

जनयुद्ध प्रतिष्ठानका लागि मेयरले ८ विघा जग्गा दिने

३१ जेठ, विराटनगर । जनयुद्ध प्रतिष्ठान नेपालले निर्माण गर्ने संग्रहालयका लागि मोरङको बेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ८ विघा जग्गा दिने भएका छन् ।

बेलवारी नगरपालिका– २ लालभित्तीमा संग्रहालय निर्माणका लागि मेयरले व्यक्तिगत ८ विघा जग्गा दिने घोषणा गरेका हुन् ।

उनले प्रतिष्ठानका लागि हस्तान्त्रण गर्ने जग्गाको मूल्य ८ करोड रुपैयाँ पर्छ ।  नेकपा प्रदेश १ का सहइञ्चार्ज साबित्रीकुमार काफ्लेको अध्यक्षतामा जनयुद्ध प्रतिष्ठान गठन भएको थियो । सो प्रतिष्ठानले नेपाल र विश्वमा भएका कम्युनिष्ट आन्दोलनलाई संग्राहलयमा समेट्ने जनाएको छ ।

‘संग्रालय स्थापना गर्ने विषय आए पछि हिजोको वोर्ड बैठकमा जग्गा दिने घोषणा गरेँ’ मेयर सुवेदी भन्छन् ‘ जग्गाको भ्यालु विघाको एक करोडको होला ।’

मेयरले जग्गा उपलब्ध गराएपछि संग्राहलय सहितको पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम सुरु गर्ने प्रतिष्ठानका अध्यक्ष साबित्रीकुमार काफ्लेले बताए । ‘विश्व कम्युनिष्ट आन्दोलन, नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी जनयुद्ध झल्कने विषय संग्राहलयमा राख्छौ‌ं’ उनी भन्छन् ‘ संग्रहालयसँगै पार्क पनि निर्माण हुन्छ ।’

उनका अनुसार जग्गा उपलब्ध भएपछि प्रतिष्ठानले संग्राहलय निर्माणका लागि रकम व्यवस्थापनको काम गर्नेछ । स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकारबाट स्रोत व्यवस्थापन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment