Comments Add Comment

राजमार्गमा खाल्डाखुल्डी : चालकलाई सास्ती, यात्रुलाई त्रास

३१ जेठ, डोटी । धनगढीबाट दिपायलतर्फ आउँदै गरेको ५८९५ नम्बरको हाइसका चालक शालिग्राम भट्टलाई सडकका खाल्डाखुल्डी छल्न हम्मेहम्मे छ । उनी घरीदायाँ काट्छन् घरी बायाँ । त्यति गर्दागर्दै पनि उनको हाइसको डम्फर ठाउँ ठाउँमा ठोकिन्छ । ‘वडाम्म’आवाजसँगै यात्रुहरु तर्सिन्छन् ।

यो दृष्य कुनै कच्ची वा ग्राभेल सडकको भने होइन । सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि यातायातका साधनहरु गुड्ने भिमदत्त राजमार्ग अन्तरगत स्याउले-गैरा सडक खण्डको हो । लामो समयदेखि मर्मत नहुँदा चालकहरुलाई त सास्ती छ नै यात्रुहरु पनि त्रसित छन् ।

‘के गर्नु सडकभरी खाल्डा छन्, कसरी चलाउनु ?’ गाडीधनीसमेत रहेका चालक भट्ट भन्छन्, ‘यात्रुहरु छिटो जाउँ भन्छन्, सडकको अवस्था यस्तो छ ।’ पटक पटक ब्रेक लगाउनु पर्दा गाडी तात्ने गरेको समेत भट्टले बताए ।

उनले सातैपिच्छे झण्डावाल गाडी यो सडकमा गुड्ने गरेका तर मर्मतका लागि कुनै कसैले चाँसो नदिएको आरोप लगाए । उनी थप्छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारका ८ मन्त्रीहरुमा मुख्यमन्त्रीलगायत पाँच मन्त्रीले आफ्नो गृहजिल्ला जानका लागि यसै सडकको प्रयोग गर्छन् तर उनीहरुको आँखा सडकमा लाग्दो रहेनछ ।’

सामान्य कार्यक्रमको उद्घाटनका लागिसमेत आफ्नो गृह जिल्ला पुग्ने मन्त्रीहरुलाई यो सडक मर्मत गरिदिन उनी आग्रह गर्छन् ।

यस्तै धारणा राख्छन् अर्का चालक मदन पनि । उनी भन्छन् ‘यो सडकमा गाडी हाक्नुभन्दा कच्ची सडकमा सजिलो हुन्छ । कम्तीमा कच्चीमा एक सुरले जान त पाइन्छ ।’

सडक मर्मत नहुनुमा सरकारको लापरवाही भएको आरोप लगाउँदै उनी भन्छन्, ‘सायद कमिसनको खेल मिलेन ।’ सडक मर्मतको जिम्मेवारी पाएका कार्यालयका ‘हाकिम साब’हरुका गाडी पनि यसै वाटो गुड्ने तर कुनैले चाँसो नराख्ने उनी बताउँछन् ।

चालकले खाल्डा छल्दा गाडी सडकको डिलमा पुग्ने गरेको वताउँछन् यात्रु शिववहादुर महरा । ‘मोडमा खाल्डा छन्, चालकले खाल्डा बचाउने भन्दै डिलमा पुर्‍याउँछ’ महरा थप्छन् ‘त्यतिवेला अब हामी मरेर बाँचेको अनुभूति गर्छौ,’ उनी थप्छन्, ‘यो सडकको यात्रा हाम्रा लागि जीवन मरण जस्तै भएको छ ।’

उनले वर्षेनी सडक मर्मतको नाममा टालाटुली गर्ने तर गुणस्तरीय कामनहुने भएकाले यो समस्या आएको बताए । उनी भन्छन्, ‘नेता, कर्मचारी, ठेकेदार सबै मिलेका छन्, काम गरे जस्तो मात्रै गर्छन्, बजेट सिध्याउँछन् ।’

अर्का यात्रु मीना जोशीको भनाइ पनि यस्तै छ । ‘तीव्र गतिमा गाडी आइरहेको हुन्छ, खाल्डा आउँदा घच्याक्क ब्रेक लाउँछन्, हामी यात्रुहरु छल्लिन्छौं । यो पीडा हामीले कसलाई सुनाउने ?’

सकड मर्मतका लागि चैत्रमै सम्झौता भइसकेको बताउँछन् संघीय सडक सुपरीवेक्षण तथा अनुगमनको डिभिजन सडक कार्यालय राजपुर डोटीका सब-इन्जिनियर भुवन खड्का । ‘बीएस भैरव शक्ति जेवीसँग चैत्र महिनामा सडक मर्मतका लागि ठेक्काभइसकेको छ,’ उनी भन्छन्, ‘असार मसान्तमाकाम सक्नु पर्ने हो तर सामग्री अभावका कारण काम सुरु भएको छैन ।’

खड्काले असारभित्रै काम सम्पन्न हुने दावी गरे । उनले थपे ‘सडकका खाल्डाखुल्डी पुर्ने काम हो । सुरु भएपछि छिट्टै भइहाल्छ ।’

तोकिएको समयमा निर्माता कम्पनीले काम नगरे कारवाही गरिने बताउँछन् डिभिजन सडक कार्यालयका प्रमुख बलीराज मल्ल । उनी भन्छन्, ‘ठेक्का भइसकेको छ, अव ठेकेदारले समयमै काम गर्नु पर्छ, ढिलो गर्‍यो भने प्यानल्टी भर्नु पर्छ ।’

भिमदत्त राजमार्गको स्याउले-गैरा सडकखण्ड अधिक सवारी दुर्घटना हुने क्षेत्र हो । सवारी दुर्घटना न्यूनीकरणका लागि यस क्षेत्रमा टाइम कार्डको समेत प्रयोग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment