+
+
Shares

इन्द्रजात्राको साइत सार्वजनिक, भोलि लिङ्गोका लागि रुख काटिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १६:२८
फाइल तस्वीर

२७ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्र शुक्ल द्वितीयादेखि सुरु हुन्छ ।

इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९:५३ को रहेको समितिका अध्यक्ष एवं सह प्राडा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

रुख काट्ने साइत राति ८:४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उनले बताए ।

लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८:०५ बजे रहेको समितिले जनाएको छ ।

इन्द्रध्वजोत्थानको साइत असोज ७ गते बुधबार बिहान ७:४७ बजे रहेको पनि सह प्राडा. भट्टराईले बताए ।

यसैगरी, इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ । यसैदिन राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उनले बताए ।

असोज १० गते शनिबार माथिल्लो टोल यात्रा गराइने छ ।

असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ ।

यसै दिन राति ९:२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ ।

लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?