+
+
Shares

ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द

इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउदी अरबले बिहीबार भएको ड्रोन आक्रमणपछि पूर्व–पश्चिम तेल पाइपलाइन बन्द गरेको छ, जसका कारण पम्पिङ स्टेसनमा आगलागी र केही व्यक्ति घाइते भएका छन्।
  • साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै पटक आक्रमण भएको बताएको छ, तर अहिलेसम्म कुनै देश वा समूहले जिम्मा लिएको छैन।
  • साउदीले ड्रोन इराकबाट आएको दाबी गर्दै तत्काल जवाफी कारबाही नगर्ने निर्णय गरेको छ, जबकि इराकले अनुसन्धान गर्ने र आफ्नो भूमि आक्रमणमा प्रयोग हुन नदिने बताएको छ।

२७ भदौ, काठमाडौं । साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्।

इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो।

साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक आक्रमण भएको जनाएको छ। मन्त्रालयका टोलीहरू पाइपलाइन सुरक्षित गर्न र क्षतिको यकिन गर्न खटिएका छन्। हालसम्म कुनै पनि देश वा समूहले यस आक्रमणको जिम्मा लिएको छैन।

पम्पिङ स्टेसनमा आगलागी

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा पाइपलाइन नजिकै रहेका पम्पिङ स्टेसनहरूलाई निशाना बनाइएको थियो। शुक्रबार लिइएको स्याटेलाइट तस्बिरमा एउटा पम्पिङ स्टेसनमा आगलागीबाट ठूलो क्षति पुगेको र कालो धुवाँ उडिरहेको देखिएको छ।

पाइपलाइनमा प्रत्यक्ष रूपमा कति क्षति पुगेको छ र यो कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने स्पष्ट भइसकेको छैन।

इराकबाट ड्रोन आएको साउदीको दाबी

साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा पाइपलाइनमाथि धेरै ड्रोनमार्फत आक्रमण गरिएको जनाएको छ। साउदीका अनुसार यी ड्रोनहरू इराकबाट आएका थिए।

इराकी प्रधानमन्त्रीको आग्रहमा साउदीले तत्काल जवाफी कारबाही नगर्ने निर्णय गरेको छ। साउदी चाहन्छ कि इराकले पहिले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न कदम चालोस्।

उता, इराकले पनि आक्रमणको निन्दा गर्दै अनुसन्धान गर्ने र आफ्नो भूमि वा हवाई क्षेत्र अन्य देशमाथि आक्रमण गर्न प्रयोग हुन नदिने बताएको छ।

विकल्प पनि बन्द

साउदी अरबको अधिकांश तेल देशको पूर्वी भागमा उत्पादन हुन्छ। यसलाई अन्य देशमा पठाउन सामान्यतया पानीजहाजको प्रयोग गरिन्छ, जसले पर्सियन खाडीबाट बाहिर निस्कन होर्मुज स्ट्रेट पार गर्नुपर्छ।

तर इरान युद्धपछि होर्मुजको बाटो बन्द भएपछि साउदीले इस्ट-वेस्ट पाइपलाइनको सहारा लिएको थियो। यसले तेललाई देशको पूर्वी भागबाट सिधै पश्चिमी तटको यान्बु बन्दरगाहसम्म पुर्‍याउँछ।

अर्थात्, तेल होर्मुज भएर जानुपर्दैनथ्यो। होर्मुज बन्द भएपछि साउदीले यसै पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल यान्बु पठाइरहेको थियो, जहाँबाट पानीजहाजमार्फत अन्य देशमा पठाउन सकिन्छ।

लाल सागरको बाटो पनि बन्द हुने जोखिम

होर्मुजपछि अब लाल सागरको बाटो पनि बन्द हुने जोखिम बढेको छ। यमनका हुथी विद्रोहीहरूले बाब अल-मन्डेब स्ट्रेट क्षेत्रमा कब्जा जमाएको दाबी गर्दै साउदी जहाजहरूलाई यस बाटोबाट जान नदिने चेतावनी दिएका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी समर्थित सेनाले बाब अल-मन्डेबको बीचमा रहेको पेरिम टापु माथिको नियन्त्रण गुमाएको बताएका छन्। हुथीहरूले अहिले करिब ५,४०० वर्ग किलोमिटर क्षेत्रमा आफ्नो कब्जा रहेको दाबी गरेका छन्।

बाब अल-मन्डेब एसिया र युरोपबीच पानीजहाज आउजाउ गर्ने महत्त्वपूर्ण समुद्री मार्ग हो। तेलले भरिएका जहाजहरू पनि यही बाटो हुँदै लाल सागर पार गरेर युरोपलगायतका बजारमा पुग्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?