Comments Add Comment

उपमेयरको दाबी : घरेलु रक्सी र वैदेशिक रोजगारीले समाज बिगार्‍यो !

'कनकाई नगरपालिकामा घरेलु मदिराको विक्रीलाई निषेध गरेका छौं'

३१ जेठ, काठमाडौं । झापा आन्दोलनका अगुवा शहीद रामनाथ दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक गुरु हुन् । उनै रामनाथकी छोरी मञ्जु दाहाल प्रसाईं अहिले झापाको कनकाई नगरपालिकामा उपमेयर छिन् ।

न्यायिक समितिमा भूमिकासमेत निभाउने भएकाले स्थानीय तहका उपप्रमुखहरुलाई समाजभित्रका समस्याबारे मिहीन जानकारी हुने गर्छ । त्यसैले उपमेयर दाहालसँगको भेटमा हामीले कनकाई नगरपालिकाभित्र के कस्ता सामाजिक समस्या देखिएका छन् भन्ने जिज्ञासा राख्यौं । जवाफमा उनले सम्बन्धविच्छेदका घटना बढेको बताइन् । मदिरा सेवन, लागूऔषध तथा वैदेशिक रोजगारीका नकारात्मक प्रभावहरु समाजमा परिरहेको उनले सुनाइन् ।

कनकाई नगरपालिकामा अपराध न्यूनीकरणका निम्ति घरेलु मदिरामाथि प्रतिबन्ध लगाएर लाइसेन्सप्राप्त मदिरामात्रै विक्री गर्न दिने निर्णय गरेको प्रसाईंले जानकारी दिइन् । तर, यसो गर्दा स्थानीय आदिवासी जनजातिमा केही असन्तुष्टि देखिएको उनले सुनाइन् ।

प्रस्तुत छ, उपमेयर प्रसाईसँग स्थानीय समस्यामाथि केन्द्रित रहेर अनलाइनखबरले गरेको कुराकानी –

स्थानीय तहमा उपप्रमुखको मुख्य जिम्मेवारी न्यायिक समितिमा रहेर झै झगडा मिलाउने र न्यायनिसाफ गर्ने हो । कनकाई नगरपालिकामा चाहिँ के-कस्ता सामाजिक समस्या देखिएका छन् ?

यहाँ धेरै प्रकारका समस्या छन् । अधिकांश चाहिँ जग्गा, जमिन, साँध-सीमाना, लेनदेन, कारोबारको समस्या लिएर आउनुहुन्छ । थुप्रै महिलाहरु सम्बन्ध विच्छेदका लागि आउनुहुन्छ । सम्बन्ध विच्छेद गर्न चाहनेको दर पनि ठूलो देखिन्छ । महिला, पुरुष दुवै सम्बन्ध विच्छेद गर्नका लागि आउने गर्नुहुन्छ ।

वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुने गरेको छ । विवाह गर्नेवित्तिकै छाडेर जाने चलन छ

कतिपय पतिले कुटपिट गरेर दुःख दियो भनेर आउनु हुन्छ । कुटपिटको घटना हामीले मिलाउन मिल्दैन भन्दा पनि उहाँहरु आउन छाड्नुहुन्न । यस्तो अवस्थामा हामी समन्वय गरेर प्रहरी कहाँ पठाउँछौं । सामान्य रहेछ भने आफैं पनि मिलाउँछौं । कहिलेकाहीँ प्रहरीमा गएकाहरुलाई पनि यतै पठाइदिन्छन् । सामान्य प्रकृतिका घटनामा छलफलमा लागि यता आउने गरेका छन् ।

समाजमा देखिने यी समस्याको कारण के होला ?

प्रमुख कारण त वैदेशिक रोजगारी नै देख्छु । वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुने गरेको छ । विवाह गर्नेवित्तिकै छाडेर जाने चलन छ । उहाँहरु नजिक भइसक्नुभएको हुँदैन । यस्तो अवस्थामा छाडेर गएर पछि नकारात्मक समस्या आउने गरेका छन् ।

श्रीमानले बाहिरबाट नियमितरुपमा मोटो रकम पठाइदिने र त्यसको श्रीमतीले दुरुपयोग गर्ने गरेको पनि देखिएका छन् । वैदेशिक रोजगारीले विरक्तैलाग्दो बनाएको छ ।

अर्को कुरा, लागूऔषध दुर्व्यसनीका कारण पनि समस्या देखिएका छन् । घरमै पनि श्रीमानले लागूऔषध खायो भनेर पनि उजुरी आउँछन् ।

यसको न्युनीकरणका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक छ । धेरैजसो स्वेदशमा काम गर्न हिच्किचाउँछन् । तर, विदेशमा गएर जे गर्न पनि तयार हुन्छन् । विदेशमा जे पनि गर्न सक्ने यहाँ नसक्ने भन्ने हुँदैन । त्यहाँ गरेको तुलनामा नेपालमा केही प्रतिशत मात्र गर्ने हो भने विदेश यहीँ हुन्छ ।

कतिपय ठाउँमा पुरुष पनि महिलाबाट पीडित भएको कुरा आइरहेका छन् । कनकाई नगरपालिकामा पनि पुरुषले आफू पीडित भएँ भनेर उजुरी दिन आएका छन् कि छैनन् ?

श्रीमतीको कुराचाहिँ श्रीमानले पटक-पटक पिट्ने गरेको भन्ने थियो । श्रीमानको कुरा चाहिँ श्रीमतीलाई बोलाइदिनुपर्‍यो भन्ने थियो । महिला-पुरुषका यस्तै घर झगडा आउँछन् । यसमा मदिराको कुरा पनि जोडिन्छ । मदिरा पिएर कुटपिट गरेको घटना धेरै छन् ।

कस्तो छ भने श्रीमान विदेश जान्छन्, श्रीमती यहीँ रहन्छिन् । श्रीमान आइसकेपछि श्रीमतीले छाडेर गइन् भन्ने उजुरी थुप्रै आएका छन् । श्रीमतीले अब मलाई खोज्नुपर्दैन भनेर हिँडेको एउटा घटना थियो । हामीले फोन गरेर दुवै पक्षलाई बोलाउने प्रयास गर्‍यौं । तर, माग के हो भनेर सोध्दा दुवैको कुरा सम्बन्ध विच्छेद पनि नगर्ने र मिल्ने कुरा पनि आएन ।

केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि रक्सीका कारण बलात्कार बढ्यो, अपराध बढ्यो भन्नुभएको थियो । कनकाई नगरमा तपाईंको अनुभवले के भन्छ ?

मदिरा एकदमै ठूलो समस्याको रुपमा देखा परेको छ । यो विषयमा झापा जिल्लाभरिका नगर तथा गाउँपालिकाका प्रतिनिधिलाई बोलाएर बृहत रुपमा छलफल पनि भएको छ । अहिले हामीले कनकाई नगरपालिकामा घरेलु मदिराको विक्रीलाई निषेध गरेका छौं । लाइसेन्स प्राप्तलाई मात्र विक्री गर्न दिने भन्ने प्रावधान ल्याएका छौं ।

तर, यो प्रावधानमा छिटपुटरुपमा असन्तुष्टि पनि बाहिर आएका छन् । नगरमा बस्ने कतिपय जातजातिका लागि मदिरा सेवन परम्परा नै हो । उहाँहरुको विरोध छ । त्यही पनि हामीले मध्यमार्गी बाटो निकाल्ने प्रयास गरिरहेका छौं ।

स्थानीय तहका प्रमुखबाट उपप्रमुख हेपिए भन्ने कुरा धेरैतिर उठ्ने गर्छ । तपाईं र मेयर राजेन्द्र पोखरेलबीचमा त्यस्तो विवाद हुन्छ कि हुँदैन ?

मैले पनि धेरैतिरको समस्या सुनेकी छ । तर, कनकाई नगरमा त्यस्तो समस्या छैन । मैले देखेको कुरालाई उहाँसमक्ष स्पष्ट रुपमा यो कुरा गल्ती छ भनेर राख्ने गरेकी छु । मेरो सिद्धान्तचाहिँ के हो भने नेतृत्वदायी पंक्तिले चालेको कदमलाई हामीले निगरानी गर्नुपर्छ, मूल्यांकन गर्नुपर्छ । त्यसमा केही समस्या देखियो भने विवाद मच्चाउनुभन्दा पनि चित्त नबुझेको कुरा स्पष्टसँग राखेर हल गर्नुपर्छ भन्ने म मान्छु ।

कतिपय ठाउँमा सवारी साधनको विषयलाई लिएर पनि मेयर र उपमेयरवीच समस्या भएको देखेकी छु, सुनेकी छु । तर, हाम्रो नगरमा ६/७ वर्षदेखि एउटा मात्रै गाडी छ, जुन हामी सबैले मिलेर प्रयोग गर्ने गरेका छौं । प्रमुख र उपप्रमुख यसैमा हिँड्छौं । प्रशासकीय अधिकृत पनि यसैमा हिँड्नुभएकै छ । विवाद पनि छैन । मुख्य कुरा भनेको बुझाइ हो ।

अब चाहिँ एउटा विद्युतीय गाडी किन्ने भन्ने योजना छ । तर, अझै टुंगो लागि सकेको छैन ।

मदिरा एकदमै ठूलो समस्याको रुपमा देखा परेको छ । यो विषयमा झापा जिल्लाभरिका नगर तथा गाउँपालिकाका प्रतिनिधिलाई बोलाएर बृहत रुपमा छलफल पनि भएको छ । अहिले हामीले कनकाई नगरपालिकामा घरेलु मदिराको विक्रीलाई निषेध गरेका छौं ।

तपाईं शहिद परिवारबाट जनप्रतिनिधि बन्नुभएको छ, उपमेयरका रुपमा अहिलेसम्मको कार्यावधिलाई कसरी मूल्यांकन गर्नु भएको छ ?

म शहीद परिवारबाट यहाँसम्म आएकी हुँ भन्दा आफैंलाई गौरव लाग्छ । शहीद परिवारको तर्फबाट जनप्रतिनिधि हुनुले मात्र आंकाक्षा पूरा हुँदैन । मैले केही कुरा आफैंसँग प्रण गरेकी छु । पद पाएँ भनेर खुशी हुने भन्दा पनि निमुखा जनताको हितमा केही गर्न भने त्यसमै म सन्तुष्ट हुनेछु । गरिब जनताको पक्षमा काम गर्न सकें भने नै शहिदका लागि मैले पनि योगदान दिएँ भन्ने महसुस गर्नेछु । अहिल्यैको स्थितिमा चाहिँ शहिदको सपना पूरा गरिसकेको छु जस्तो लाग्दैन ।

जनप्रतिनिधिका रुपमा अब तपाईंको कार्यअवधि अब चार वर्ष पनि पूर्ण रुपले बाँकी छैन । यो अवधिमा शहीदका सपना पूरा होलान् ?

चारै वर्षमा सम्भव होलाजस्तो चाहिँ लाग्दैन । तर, सकेसम्म प्रयत्न गर्नेछु । अहिले हामीले गाउँ गाउँमा महिलालाई सुत्केरी पोषण सेवा दिइरहेका छौं । निम्न आर्थिक स्तर भएका नगरका एक लाख एक सय ७६ जनालाई निःशुल्क पोषण बाँडिसकेका छौं । उनीहरु पहुँच नभएका महिला हुन् ।

अहिले कनकाई नगरपालिकामा ऐतिहासिक महत्वको जग पाण्डेको दरबार जाने बाटो खोल्ने काम पनि भइरहेको छ । हालसम्म जग पाण्डेको दरबार भएको ठाउँ जाने बाटोसम्म ६ सय मिटर बाटो खन्ने काम भइसकेको छ ।

यो वर्ष कनकाई नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न हामी सफल भइसकेका छौं । अर्को महत्वपूर्ण कुरा, हामीले नगरलाई विद्युत् चुहावट निषेधित क्षेत्र भनेर घोषणा गरिसकेका छौं । नगरपालिका जनता जसले मिटर बक्स पनि किन्न सक्नुहुन्न, उहाँहरुका लागि निःशुल्क मिटर बक्स बाँडेका छौं । यो आर्थिक वर्षमा सम्पूर्ण नगरलाई नै उज्यालो नगरीको रुपमा घोषणा गर्ने योजना पनि छ ।

गृहणी भएर रहँदा र सिंगो नगरको नेतृत्व गरेर उपमेयर हुँदा कस्तो फरक हुँदोरहेछ ?

म गृहणी भएर बस्दा पनि राजनीतिसँग जोडिएकै थिएँ । मेरा श्रीमान खड्ग प्रसाईं पनि तत्कालीन एमाले हाल नेपाल कम्प्युनिष्ट पार्टीको नेता हुनुहुन्छ । त्यसो हुनाले म गाउँ, समाजको गतिविधिबाट टाढा भने पक्कै थिइनँ ।

समाजमा हुने विभिन्न किमिसका विवाद र घटनालाई नजिकबाट हेरिरहेकी हुन्थें । गाउँमा हुने छलफल र अन्य कार्यक्रममा पनि सहभागी हुन्थें । म अखिल नेपाल महिला संघसँग पनि जोडिएकी थिएँ । त्यसैले जनप्रतिनिधिका रुपमा मेरो यात्रा त्यति धेरै नौलो पनि रहेन ।

उपमेयरको रुपमा न्यायिक प्रक्रियामा संलग्न भइरहँदा त गाह्रो होला नि ?

पहिले पनि गाउँमा हुने छलफलमा सहभागी भइरहेकाले धेरै गाह्रो भएन । यस्तो हुन सक्छ भन्ने अनुमान थियो । पहिले गाउँघरमा मिलाइने विषय अहिले नगरपालिकासम्म आइपुग्न थालेको छ । हामी चुनावबाट जितेर आइसकेपछि न्यायिक समिति केही समय कामविहीन जस्तै पनि भयो । समिति गठन हुन ढिलाइ भएको थियो । व्यवहारिक पाटो मिलाइसक्दा समितिमा पर्शुराम गिरी र नवलकिशोर दत्त पनि थपिनुभयो । त्यसपछि विभिन्न तालिम र प्रशिक्षण पनि भए ।

मेलमिलापसम्बन्धी ८ दिने तालिम पनि लिएका थियौं । त्यसले धेरै मद्दत गर्‍यो । तालिमबाट मुद्दाको निर्णयभन्दा पनि मेलमिलाप गराउनुपर्ने रहेछ भन्ने थाहा भयो । मेलमिलापले दुवै पक्ष हामीसँग खुशी पनि हुने भए । अहिले नगरको प्रत्येक वडामा मेलमिलाप केन्द्र पनि राखेका छौं । वडामा हुने समस्या त्यहीँ हल हुने हुँदा जटिल प्रकृतिका समस्या मात्र नगरमा आइपुग्छन् ।

यो पनि पढ्नुहोस कनकाईका भावी मेयर भन्छन्-मापसे बन्द गरिन्छ, नगर बस कुदाइन्छ !

कानूनको पृष्ठभूमि नहुँदा कार्यसम्पादन गर्न कत्तिको गाह्रो हुँदोरहेछ ?

सबै कुरा बुझ्नलाई समय त लागि नै हाल्छ । सुरुवाती दिनमा कसरी के गर्ने ? भन्ने विषयमा अन्योल भए पनि विज्ञको परामर्श लिएर काम गर्न थालियो । अहिले त कुनै पनि मुद्दा हामीले हेर्ने वा होइन भन्ने सुन्ने वित्तिकै थाहा हुन्छ । अहिले अभ्यस्त भइसकियो । अहिलेसम्म लगभग १८० बढी मुद्दा हामीले हेरिसक्यौं । त्यसमा एक सय जतिचाहिँ मेलमिलाप नै गराइएको छ ।

नगरवासीलाई अनलाइनखबरमार्फत के सन्देश प्रवाह गर्न चाहनुहुन्छ ?

हामीले काम गर्दै जाँदा गल्ती हुन सक्छन् । त्यो औंल्याउने काम नगरवासीको हो । गल्तीलाई राम्रो महसुस गर्दिनु भयो भने हामी विगि्रने सम्भावना हुन्छ । हामीलाई सही बाटोमा हिँडिरहनाका लागि जनताले घच्घच्याउनुपर्छ । किनभने, हामीले चालेको पाइला भनेको जनताले दिएको मार्गनिर्देशन हो । हामीप्रति जनताले देखाउनुभएको विश्वासप्रति उच्च सम्मान गर्दै नगरको समृद्धि र विकासमा आगामी दिनमा पनि हामीलाई कुनै पनि सहयोग र साथको अपेक्षा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment