Comments Add Comment

‘सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको सूचीमै त्रुटि छ’

‘जिज्ञाशुले विशेषज्ञ बनेर लेख्दा इतिहास बिग्रियो’

३० जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिएको नेपालका पूर्वप्रधानमन्त्रीहरूको नामावलीको पहिलो नम्बरमा भीमसेन थापाको नाम छ । त्यसपछि क्रमशः रङ्गनाथ पौड्याल, पुश्कर शाह, रणजङ्ग पाण्डे, फत्येजंग शाह हुँदै सूची शेरबहादुर देउवासम्म लम्बिएको छ ।

तर, इतिहासका प्राध्यापक दिनेशराज पन्त भीमसेन थापाभन्दा ३७ वर्षपछिका शासक माथवरसिंह थापा नेपालका पहिलो प्रधानमन्त्री भएको बताउँछन् ।

पन्तका अनुसार, माथवरसिंह भन्दा अघिको औपचारिक पद्वी मुख्तियार हो । नेपालको इतिहास लेखनमा यस्ता थुप्रै अशुद्वी रहेको उनले बताए ।

ऐतिहासिक तिथिमिति र पदमासमेत किन अशुद्व भयो त ? प्रा. पन्त इतिहासका यस्तै अशुद्वि सच्याउन नै संशोधन मण्डल खडा भएको बताउँछन् । उनकै पिता नयराज पन्तले २००९ सालमा स्थापना गरेका थिए– संशोधन मण्डल ।

इतिहास लेखनका दोष र दोष निराकरणबारे अनलाइनखबरकर्मी सन्त गाहा मगरले संशोधन मण्डलका सदस्य प्रा. पन्तसँग गरेको कुराकानी उनकै शब्दमाः

विसं १९०३ भाद्र ३१ गते कोत पर्व भएको तथ्य प्रमाणिक ढंगबाटै आएको ५० वर्ष भन्दा बढी भइसक्दा पनि कतिपयले अझै १९०३ आश्विन २ गते लेखिरहेका छन् । त्यस्तै, पृथ्वीनारायण शाहले १८२५ आश्विन १३ गते काठमाडौं र १८२५ आश्विन २४ गते लडाई नै नगरी पाटन जिते । तर, कतिपयले त्यति चाँडो (११ दिनमै) होइन होला भनेर, १८२५ कार्तिक तिर जितेको हुनुपर्छ भनेर लेख्ने गरेका छन् ।

ऐतिहासिक तथ्यमा पनि यस्तो हुनुको मूल कारण लापरवाही र मिहिनेतको कमी हो । मेहनेतमा विश्वास गर्ने पश्चिमाहरूको इतिहासमा सच्याउन पर्ने कुरा एकदमै कम छ ।

कसैले पाँच दिनभित्र लेख चाहियो भनेर माग्यो भने म राम्रो लेख दिन नसकुँला । लेख राम्रो बनाउन मेहनेत गर्नुपर्छ । त्यसका लागि समय चाहिन्छ । यो कुरालाई गम्भीरतापूर्वक लिएजस्तो लाग्दैन । यो समस्या हाम्रो सबै क्षेत्रमा छ, लेखपढमा मै हुँ भन्नेहरूमा झन् छ ।
यो पनि पढ्नुहोस कसले मेटाउन खोज्यो चार सहिदको इतिहास ?

कोही मान्छे सबै विषयमा विज्ञ हुँदैन, यो समस्या होइन । समस्या त जिज्ञाशुले आफूलाई विशेषज्ञजस्तो बनाएर लेख्दा भएको छ । अधकल्चो मान्छेमार्फत ज्ञान हस्तान्तरण हुने पद्दति खराब हो ।

यो सन्दर्भमा म एउटा प्रसंग बताऊँ ।

इतिहासका बिषयमा सोधखोज गरिरहने एक जना भाइ एकपटक आँखीझ्यालबारे सोध्न आए । मैले प्रा.डा. मुकुन्दराज अर्याल कहाँ जानुस्, यो विषयमा उहाँ म भन्दा दश गुणा बढी प्रमाणिक कुरा भन्न सक्नुहुन्छ भन्दा उनले भने, ‘मलाई कमल दीक्षितले हजुर कहाँ पठाउनुभएको हो ।’

मैले ‘यो बिषयमा म कमलजी भन्दा बढी जान्दो हुँला, तर तपाई मभन्दा धेरै जान्नेलाई सोध्नुस्’ भन्दा ती भाइलाई दिनेश सरले सहयोग गर्न चाहनुभएन भन्ने परेछ ।

हामी ज्ञानलाई कति हल्का रुपमा लिन्छौं भनेर बुझाउने यो एउटा उदाहरण हो । हामी कहाँ कसैलाई खुशी पार्नका लागि कपोकल्पित कुरा पनि लेखी दिने चलन छ । यस्तो गर्दा शक्तिमा भएका व्यक्ति त खुशी होलान् तर तथ्य बिग्रियो नि !

सामान्य सुझबुझको अभावले पनि हाम्रा इतिहासलाई अशुद्व पारेको छ । जंगबहादुर श्री ३ महाराज भएको १९१३ मा हो । त्यो भन्दा अगाडि जंगबहादुर प्रधानमन्त्री हो । १९१० मा श्री ३ जंगबहादुरले मुलुकी ऐन ल्याए भन्दा त कुरा बिग्रियो नि ।
पहिलो प्रधानमन्त्रीबारेको कुरालाई पनि सामान्य सुझबुझकै समस्या मान्न सकिन्छ । नेपालको पहिलो प्रधानमन्त्री माथवरसिंह थापा हुन् । उनीभन्दा अगाडि प्रधानमन्त्री भन्ने पद्वी नै थिएन । हुँदै नभएको दर्जा कसैले पाउने कुरै भएन ।

कामको हिसाबले भन्ने हो भने त लिच्छिवीकाल, मल्लकालमा पनि थिए प्रधानमन्त्री । टाकुरे राजाहरूको पालामा पनि थियो प्रधानमन्त्रीको काम ।

लैनसिंह वाङदेल प्रज्ञा प्रतिष्ठानको उप–कुलपति छँदा उहाँकै नेतृत्वमा प्रधानमन्त्रीहरूको सूचि बनाउने समिति बन्यो । त्यसमा जनकलाल शर्मा लगायत हामी सदस्य थियौं । भीमसेन थापादेखि पृथ्वीनारायण शाहका पालाकोसम्म प्रधानमन्त्रीको सूचि बनाउने जिम्मा थियो ।

मुहानमै घोत्लिन संशोधन मण्डल

हाम्रा पिता प्रा.डा. नयराज पन्तले वनारसमा पढ्नु भयो । उहाँले परिक्षा दिदा कहिले काँही परीक्षकहरूले गरेको अशुद्धि भेट्नुहुँदो रहेछ । त्यो बेला पाश्चात्य शिक्षा पद्दतिअनुसार १०० पूर्णांकमा ३३ अंक आएपछि उत्तीर्ण हुन्थ्यो । त्यो त त्रिखण्डी पढाइ भयो । यस्तो पद्धति छोडेर पिताजीले मेरा दाइ डा. महेशराज पन्त लगायत आफना ४० विद्यार्थीमध्ये २१ जनालाई लिएर २००९ सालमा संशोधन मण्डल खोल्नुभयो ।

संशोधन मण्डल स्थापनाको दुईवटा लक्ष्य थिए । एउटा अशुद्धि खण्डन होस्, अर्को यो मार्गमा लाग्नेहरूका व्यक्तित्व विकास होस् ।

त्योबेला वंशावली वा विदेशी विद्धानले दुई–चार दिन नेपाल आएर लेखेको कुरालाई प्रमाणिक इतिहास मान्ने पद्धति थियो । संशोधन मण्डलले मुल सामग्रीकै अध्ययन हुनुपर्छ भन्ने संस्कार बसाल्यो । शिलापत्र, ताम्रपत्र, गणना पद्दति पढ्नुपर्ने चलन चलायो ।
स्थानीय विषय अनुसन्धान गर्ने हो भने जुम्ली, नेवार, मगर, लिम्बु, राई, तामाङका भाषा पढ्नुपर्छ भन्ने भयो । आधुनिक इतिहास लेख्ने हो भने भिक्टोरियन युगको अंग्रेजी सिक्नुपर्ने भयो । यसरी धेरैजना संशोधन मण्डलका अप्रत्यक्ष चेला भए ।

लिच्छवीकालका दुईथरि सम्वत् चलेका थिए । तिनलाई वि.स. १३५ बाट चलेको शक सम्वत् र वि.स. ६३३ बाट चलेको मानदेव सम्वत् भनेर छुट्याउने काम पनि संशोधन मण्डलले गर्‍यो ।

लिच्छवीकालपछि र जयस्थिति मल्ल आउनु भन्दा अगाडिको समयलाई अन्धकार युग भनिन्थ्यो । त्यसलाई प्रकाश पार्ने काम पनि संशोधन मण्डलले गर्‍यो । एकथरी वंशावलीमा मुकुन्दु सेनले काठमाडौंमा हमला गरेर देउताको मूर्ति लुटेर लग्यो भनेर लेखिएका थिए । त्यसमा संशोधन मण्डलको निश्कर्ष थियो– मूर्ति लगेको ठीक हो, तर काल मिलेको छैन ।

प्रताप मल्लका नाती भूपातिन्द्रका पालामा एकातिर लक्ष्मीनारायण लेखेको टक निस्किेको थियो । मान्छेहरूले लक्ष्मीनारायण भनेका त भूपातिन्द्रका भाई होलान् भन्ने सोचेका थिए । संशोधन मण्डलको खोजले लक्ष्मीनारायण त्यसबेलाका चौतारीय (अहिले प्रधानमन्त्री भने जस्तो) रहेको देखायो ।

अहिले कुनै अभिलेख फेला पर्‍यो भने एकथरीले एउटा अर्कोथरीले अर्कै कुरा भनिरहेको हुन्छ । संशोधन मण्डलले हात हाल्न पनि हामी दुईदाजु मात्र छौं । जबकी, हिजो २१ जना थिए । म यसमा लाग्दा पनि १० जना थियौं । त्यसले गर्दा सबै ठाउँमा हस्तक्षेप गर्न सकेका छैनौं ।

संशोधन मण्डलमा अपूर्णताका दोष होला तर अशुद्धिको दोष छैन । अहिले त के भयो भने जानेको केही छैन, तर सबै जाने जस्तो । मान्छेहरु पद्धतिमा गएका छैनन्, तर रातारात पुस्तक लेखिन्छ । पाँच दिनमा राम्रो लेख माग्नेहरु छन् ।

अज्ञानले भन्दा पनि लापरवाहीले गर्दा यस्तो भईरहेको छ । अर्को समस्या के देखियो भने आफूले एक पटक बोलिसकेपछि गल्ती नै भए पनि सच्याउने, सुध्रिने भन्ने चलनै छैन । कसैले सच्यायो भने यो मान्छेलाई आउँदो रहनेछ भन्ने पनि संस्कार छ ।

‘ग्रेटर नेपाल’को काम छैन

कुनैबेला नेपाल टुक्रिँदै गएर काठमाडौं उपत्यकामा सीमित भएको थियो । अझ भक्तपुरे र पाटनेका लागि काठमाडौं मात्र नेपाल थियो । उनीहरूले काठमाडौंका राजा कमजोर भएका बेला मात्र आफूलाई नेपाले देशाधिपति भन्न पाउँथे । अझ पाटनका राजाले त आफूलाई माणिगाधिपति मात्र भन्न पाउँथे ।
यो पनि पढ्नुहोस पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?

सिजा राज्य भएका बेला चाहिँ मानसरोवर प्रदेश पनि हाम्रो थियो । पछि टिस्टासम्म पनि पुगेको हाम्रो इतिहास छ । वृहत नेपाल हाम्रो इतिहास हो, अभियान चलाउने कुरा होइन । मैले पढेको सुगौली सन्धिमा नेपालका राजाले महाकाली पारीका जनतासँग सम्पर्क राख्न पाउँदैनन् ।

म जन्मिँदा हामी ओटु निवासी थियौं । अहिले मेरा दाजुको घर डल्लुमा छ, म धुम्बाराहीवासी भएको छु । नागरिकताको प्रमाणमा चाही मेरो ठेगाना ओटु नै छ । ओटु न दाजुको रह्यो न म भाईको । ग्रेटर नेपाल अभियान पनि हामीले यतिबेला आएर ओटुको दाबी गरे जस्तै लाग्छ ।

आज नेपाल जतिमा अडेको छ, त्यसलाई जोगाउनु पर्‍यो, हराभरा बनाउन तिर लाग्नु पर्‍यो । वि. सं. १८७१–७२ मा त्यत्रो भुगोल भएर हामीले अंगे्रेजलाई जित्न सकेनौं । यसको कारण के हो भने वि. सं. १८२४ पछि पनि अंग्रेजहरु पढ्दै गए, हामीले विद्याको उन्नती गरेनौं । विना विद्या गरेको परिश्रमको अनुपातमा भौतिक उपलब्धी भएन ।
हामीले ओटु र जावलाखेलको घर बेचेको गरिब भएरै हो । मैले एउटा तला भाडामा लगाएको छु, दुई तलामा पुस्तकालय छ । पैसाको हिसाबले भन्दा मलाई दुई तलाबाट मासिक ३०–४० हजार घाटा भइरहेको छ । मेरो दाइको यस्तो घाटा अझ बढी छ ।

धेरै इस्टमित्रहरू मेरा पिताजीलाई ‘तिमी नचाहने काममा हिँडेका छौ’ भन्थे रे । तिमी एक दिन बाटामा लड्छौ, त्यतिखेर सहयोग गर्ने वातावरण पनि हुँदैन भन्थे रे । यो कुरा बुबाले गद्यमा लेख्नुभएको छ । अरुले बुझुन्, नबुझुन् मेरो पद्धतिमा हिंडेकाले तिमीहरूले बुझ्नुपर्छ भनेर लेख्नु भएको छ । यहाँ मैले यो कुरा संशोधन मण्डल पद्धतिमा हिंडेका मान्छेहरुका लागि पनि भनेको हुँ ।

संशोधन मण्डलको असजिलो

केहीले संशोधन मण्डलको वृथा विरोध गरे । केहीले संशोधन मण्डलवालासँग जोरी खोजे खुइलिनुपर्छ भनेर टाढैबाट नमस्कार गरे ।

संशोधन मण्डलका सदस्यहरू पनि स्वर्ग लोकबाट झरेका होइनन् । उनीहरूमा पनि ज्ञानको पूर्णता छ भन्ने हुँदैन । तर, संशोधन मण्डलले आत्मसंशोधनलाई गुरुमन्त्र मान्छ । शत्रुको पनि गुण भन्नुपर्छ, गुरु÷मान्यजनको पनि दोष भन्नुपर्छ भन्ने शुत्रलाई शिरोधार्य गरेको छ । गल्ती भइसकेपछि सच्याउनुको साटो त्यसैलाई पुष्टी गर्न जोड लगाउनु हुदैन ।

शैलेजा आचार्यको बुबा डा. पिनाकीप्रसाद आचार्यले नाटककार शक्ति बल्लभ अर्यालका विषयमा लेख्नु भयो । पहिले ठूला मान्छेले थर कम लेख्थे, गोत्रलाई मुख्य मानिन्थ्यो । त्यही भएर शक्ति बल्लभ अर्याल शक्ति बल्लभ भट्टाचार्य हुनुभएको थियो । अहिले विद्यावारिधी गर्नेहरूले ‘डाक्टर’ लेखे जस्तो पनि त्यो बेला भट्ट ।

डा. पिनाकीप्रसाद आचार्यले भट्टाचार्यलाई आचार्य भनेर व्याख्या गरेपछि नयराज पन्त र उहाँका चेलाद्वय धनरत्न बज्राचार्य र ज्ञानमणि नेपालले धेरै प्रमाण दिएर हाम्रो आचार्यलाई अर्यालमा लगेर राखे भनेर लेखे ।

डा. आचार्य विद्धान मान्छे, तर आफ्नो अडान छाड्नु भएन । उहाँ आफ्नै तर्कको वरिपरि घुमेर बस्नुभयो ।

बिग्रनु कुनै आश्चार्यको कुरा होइन, तर बिग्रेको थाहा पाएपछि नसच्याउनु आश्चार्यको कुरा हो । भूल हुनु मानिसको प्रकृति हो । तर, त्यसलाई स्वीकार नगर्नु चाहिँ विकृति हो ।

२०१८ मा मेरा पिताजीले लेख्नुभएको पद्यबाट बिट मार्न चाहन्छुः

आयो काल नयाँ नयाँ किसिमका धेरै बने साधन

थोत्रा वस्तुहरू लिएर अब ता चल्दैन है जीवन

भन्ने भाव लिई चलाख जनले थाले त्यसै जे कुरा

हाम्रो निम्ति भने अहो हुन गए ठूला तिनै कुरा

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment