Comments Add Comment

केपी ओलीले नगरेको काम कार्यवाहक प्रधानमन्त्रीबाट

मिडिया विधेयकबारे सरकार र सम्पादकवीच छलफल

३० जेठ, काठमाडौं । केही समययता सरकार र मिडियावीचको सम्बन्ध चिसिएको र सम्वादहीन अवस्थामा पुगेको छ । यही सन्दर्भ पारेर विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारमा सम्पादकहरुलाई छलफलका लागि बोलाए ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा अहिले नेपाल पत्रकार महासंघ आन्दोलनरत छ । महासंघको आन्दोलनलाई सम्पादक समूहले पनि समर्थन जनाएको छ । सरकारले अहिलेसम्म पत्रकार महासंघलाई वार्तामा बोलाएको छैन ।

पत्रकार महासंघ र सम्पादकहरुको समूहले सरकारसँग छलफल गर्न तयार रहेको बताउँदा पनि अहिलेसम्म प्रधानमन्त्री ओली र सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकारहरुलाई वार्तामा बोलाएका थिएनन् ।

तर, प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेकै बेला कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीको कार्यालयमा विहीबार विभिन मिडियाका सम्पादकहरुलाई बोलाएर विधेयकबारे छलफल गरे । छलफलमा उठेका विषयहरु प्रधानमन्त्री ओलीलाई संगठितरुपमा जानकारी गराइने पोखरेलले आश्वासनसमेत दिए ।

भल छोप्न खोजिएको होइन : पोखरेल

सरकारले अहिलेसम्म पत्रकार महासंघ लगायत सरोकारवालाहरुलाई वार्तामा बोलाउन बेवास्ता गरिरहेको अवस्थामा छलफलका लागि निम्त्याइनु सकारात्मक पहल भएको भन्दै सम्पादकहरुले कार्यवाहक प्रधानमन्त्री पोखरेललाई धन्यवाद दिए ।

सम्वादहीनताले गर्दा संसारमा कतिपय द्वन्द्वहरु हुने गरेको नेकपाका सचिवालय सदस्य समेत रहेका कार्यवाहक प्रधानमन्त्री पोखरेलले बताए । पोखरेलले भने, ‘संसारमा जति पनि द्वन्द्वहरु हुन्छन्, त्यसको करिब ७० प्रतिशतचाहिँ सम्वादहीनताका कारणले हुन्छ अरे । हाम्रै पार्टीभित्र पनि यस्तो कम्युनिकेसनको ग्याप भइराखेको देखिन्छ । मजाले कम्युनिकेसन हुने हो भने धेरै कुरा हल हुन्छ ।’

आफूले ‘भल छोप्ने’ उद्देश्यले छलफलको आयोजना नगरेको बताउँदै कार्यवाहक प्रधानमन्त्री पोखरेलले समस्याको अन्तर्यमा पुगेर सरकारले समाधान चाहेको बताए ।

मिडिया विधेयकबारे भइरहेको विवादतर्फ संकेत गर्दै पोखरेलले भने, ‘किन यस्तो भयो भनेर मलाई बडो छटपटी भएर यो छलफल आयोजना गरेको हो, वीचमा भल छोपौं भनेर ग¥या होइन । केही न केही गरिहालौं भनेर ग¥या होइन । यो औपचारिकताका लागि गरिएको होइन, हामीले यो छलफलबाट समस्याको अन्तर्यमा पुग्न चाहेका हौं ।’

सरकारले सरोकारवालाहरुसँग थप छलफल गरेर समस्या समाधान गर्न चाहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री पोखरेलले भने, ‘हामीले तपाईहरुसित छलफल गर्‍यौं, सञ्चार क्षेत्रका संगठनका अरु साथीहरुसँग पनि हामी केही कुरा बुझ्छौं । हामी समस्यालाई बल्झाउने होइन, समस्यालाई समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छौं ।’

पोखरेलले अगाडि भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आएपछि तपाईहरुले उठाउनुभएका कुराहरु कार्यवाहक संसदीय दलको नेता, कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्री सबैजना मिलेर संगठित ढंगले जानकारी गराउनेछौं ।’

सरकारले निरंकुशतातर्फ जानका लागि गतिविधि गरिरहेको भनेर आशंका नगर्न पोखरेलले सम्पादकहरुलाई आग्रह गरे । ‘एउटा निश्चित दिशातर्फ नजर लगाएर यस्तो गतिविधि त भइरहेको छैन भन्ने पनि भ्रम परेको देखिन्छ,’ पोखरेलले भने, ‘हामी त्यो बाटोतर्फ किमार्थ हिँड्दैनौं ।

सरकारमा बस्नेहरुले सबै पत्रकार खराब भनेजस्तो ढंगले प्रचार गर्ने गरेको गुनासो गरेपछि त्यसको जवाफ दिँदै पोखरेलले भने, ‘साथीहरुबाट यस्तो सुन्दा मलाई सञ्च भयो । सबै नेता उस्तै, सबै मन्त्रीउस्तै भन्नेजस्तो ‘सोलोडोलोवाला’ विधि हामीले अपनाउनुहुँदैन ।’

कार्यवाहक प्रधानमन्त्रीले राम्रो गर्नुभयो : नेम्वाङ

नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले सम्पादकहरुसँग छलफल आयोजना गरेर राम्रो काम गरेको भन्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रशंसा गरे । नेम्वाङले भने, ‘आज कार्यवाहक प्रधानमन्त्रीज्यूले महत्वपूर्ण कार्यक्रम राख्नुभयो, हामीसँग पनि उहाँले सल्लाह गर्नुभएको थियो, यो एकदमै राम्रो कार्यक्रम भयो । सम्बन्धित साथीहरुका वीचमा छलफल गरेर अगाडि बढ्दा परिणाम राम्रो आउँदोरहेछ भन्ने त यही कार्यक्रमबाट नै प्रष्ट भयो । मलाई विश्वास छ, यसले निरन्तरता दिन्छ ।’

नेम्वाङले अगाडि थपे, ‘आज साथीहरुले जुन कुरा राखिदिनुभयो, यसले सरकारलाई साह्रै ठूलो सहयोग पुगेको छ ।’

सिंहदरबारमा आयोजित छलफलमा टीभी, पत्रपत्रिका र अनलाइनका सम्पादकहरुको सहभागिता थियो । सत्तापक्षबाट कार्यवाहक प्रधानमन्त्री पोखरेलका साथै कानुनमन्त्री भानुभक्त ढकाल, सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङ र सांसद योगेश भट्टराई लगायतको सहभागिता थियो ।

कार्यक्रममा उपस्थित अधिकांश सम्पादकले मिडिया काउन्सिल विधेयक फिर्ता लिएर सरोकारवालाहरुसँग छलफल गर्न सरकारसँग माग गरे । सत्तापक्षले भने विधेयक सच्याउन तयार रहेको भन्दै परिमार्जन गरेर अगाडि बढ्ने प्रस्ताव राख्यो ।

सरकारका तर्फबाट विधेयकका कुन कुन दफाहरु सच्याउनुपर्ने हो सुझाव पाऔं भन्ने आग्रह गरेका थिए । सम्पादकहरुले चाहिँ तत्काल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नुका साथै केही सुझाव दिनुपर्ने अवस्थामा सामुहिकरुपमा लेखेर दिन तयार रहेको भन्दै बुँदागत सुझावका लागि थप छलफल गरिनुपर्ने बताए ।

कार्यवाहक प्रधानमन्त्रीले छलफलमा बोलाउनु सकारात्मक कार्य भएता पनि प्रधानमन्त्री केपी ओलीको नियत भने अझै प्रष्ट नभइसकेको पत्रकारहरुले बताएका थिए । प्रधानमन्त्रीले यो विधेयक सोचेर विचारेर ल्याएको बताइरहेको सम्पादकहरुले स्मरण गराए । यसको जवाफमा पोखरेल र नेम्वाङ दुबैले प्रधानमन्त्री ओली यसलाई परिमार्जन गर्नेबारे सकारात्मक रहेको दाबी गरे ।

कार्यक्रममा सञ्चारमन्त्री बास्कोटाले केही पनि प्रतिक्रिया दिएनन् । सम्पादकहरुले उठाएका प्रश्नको जवाफ सुवास नेम्वाङ र कार्यवाहक प्रधानमन्त्री पोखरेलले दिएका थिए ।

सिंहदरबार नरम कि गरम ?

दुई तिहाई बहुमतको सरकारले ल्याएका विभिन्न विधेयकमाथि सडकबाटै प्रश्न उठ्न थालेको र गुठी लगायतका विषयमा आन्दोलन नै हुन थालेपछि सत्तापक्षका नेताहरु गम्भीर बन्न थालेका हुन् कि भन्ने संकेत विहीबारको छलफलले दिएको छ ।

छलफलमा सहभागी नेकपा नेता सुवास नेम्वाङले यसमा सरकार र संसद दुबै गम्भीर बनेको बताए । ‘विवाद आएको छ, ५÷७ वटा विधेयकहरुमाथि केही प्रश्न उठेका छन्, यसतर्फ सरकारको ध्यान गएको छ । जानुपर्छ’ नेम्वाङले भने, ‘हामीले संसदमा पनि कुराकानी गर्छौं, ध्यान गएको छ ।

यो पनि पढ्नुहोस कमजोरी नसच्याए दण्डित हुने पालो हाम्रो : सुवास नेम्वाङ

तथापि कार्यवाहक प्रधानमन्त्री र दलका कार्यवाहक नेताले नरम अभिव्यक्ति दिएको एक घण्टा नबित्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गुठीसम्बन्धी व्यवस्थालाई सामन्तवादको संज्ञा दिँदै कडा अभिव्यक्ति दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment