Comments Add Comment

चितवनका ६ स्थानीय तहको बजेट कति ?

१० असार, चितवन । जिल्लाका ७ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकासहित रत्ननगर, कालिका, माडी, खैरहनी र राप्ती नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएका हुन् ।

माडी नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्यो भने बाँकीले मंगलबार । इच्छाकामना गाउँपालिकाले भने बजेट र नीति तथा कार्यक्रम ल्याएको छैन । गाउँपालिका उपाध्यक्ष किर्तिकुमार श्रेष्ठले बजेट ल्याउन बैठक बसिरहेको टेलिफोनमा बताए । गाउँपालिकाले करीव ५० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको उनले सुनाए ।

संघियमामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई देशभरका ७५३ वटै स्थानीय तहलाई असार १० गतेभित्र आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न निर्देशन दिएको थियो ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि तीन अर्व ३७ करोड ३१ लाख १७ हजारको बजेट ल्याएको छ । साधनस्रोत, अवसर र क्षमताको विकास गरी समृद्ध महानगर बनाउने बजेटको लक्ष्य छ ।

मंगलबार चौथो नगरसभामा उपमेयर पार्वती शाह ठकुरीले महागनरको चौथो नगरसभा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको मेयर रेनु दाहालले बताइन् । बजेटको ३५ प्रतिशत पूर्वाधार विकासमा छुट्याइएको छ । प्रत्येक वडालाई १ करोड १५ लाखदेखी १ करोड २५ लाखसम्म बजेट विनियोजन गरिएको छ ।

रत्ननगर नगरपालिका

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब ५ करोड ३२ लाख रुपैयाँ बरावरको वजेट सार्वजनिक गरेको छ ।

नेपाल सरकारबाट शशर्त अनुदान २८ करोड २० लाख, समानिकरण अनुदान १९ करोड १३ लाख,राजस्व वाँडफाँडमा ११ करोड ६९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड १० लाख, शशर्त अनुदान ४ करोड ९६ लाख, राजस्व वाँडफाँडमा ३ करोड ३१ लाख, सामाजिक सुरक्षा २० करोड प्राप्त हुने नगरपालिकाको बजेट अनुमान छ ।

त्यस्तै समपुरक अनुदान २ करोड, विषेश अनुदान २ करोड, सडक वोर्डबाट ८० लाख, प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट ५० लाख गरी कुल १ अर्व ५ करोड रुपैयाँको वजेट पेश गरेको उपप्रमुख बिमला दुवाडीले वताइन् ।

क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड २५ लाख, सामाजिक विकासमा १ करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनमा ३७ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ८७ लाख, पुर्वाधार विकासमा ८ करोड ६७ लाख बजेट छुट्टाइएको छ ।

नगरपालिका मेयर नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने उल्लेख गरिएको छ । साथै नगरपालिकाले नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहाचोकमा आकासे पुल र एक वडा एक पुस्तकालय निर्माण गरिने मेयर नारायण वनले बताए ।

नीति तथा कार्यक्रममा पर्यटकीय पुर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन वसपार्क, पर्यटन सुचना केन्द्रको निर्माण, “नगर प्रमुखसँग उद्यमशिलता विकास” कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

खैरहनी नगरपालिका

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ८२ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आज (मंगलबार) सम्पन्न पाँचौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६० लाख ५२ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । चालु खर्चतर्फ ४३ करोड ७४ लाख १२ हजार र पुँजीगत खर्च ३८ करोड ८६ लाख ४० हजार छ ।

आगामी आर्थिक वर्षको बजेट आव २०७४/७५ भन्दा ३४ प्रतिशत तथा चालु आवको संशोधित अनुमान भन्दा १२.२५ प्रतिशतले बढी रहेको छ ।

कुल बजेट मध्ये आन्तरिक आम्दानी ९ करोड २५ लाख २५ हजार, वित्तिय सामानिकरण सशर्त अनुदान २० करोड ९३ लाख ९२ हजार, वित्तीय समानिकरण निशर्त अनुदान १७ लाख ७० हजार १६ हजार, राजस्व बाँडफाँड १३ करोड ३२ लाख ७८ हजार, समपुरक कोष दुई करोड, सामाजिक सुरक्षा कार्यक्रम १० करोड, सडक बोर्ड नेपालबाट ४० लाख, अन्य आम्दानी एक करोड, संरक्षित पूँजी दुई करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम एक करोड, तराई मधेस समृद्धि कार्यक्रम एक करोड ५० लाख, संरक्षित वन रोयल्टी ४८ लाख ४१ हजार, लागत सहभागिता तीन करोड गरी कुल ८२ करोड ६० लाख ५२ हजार रुपैयाँ अनुमान गरिएको नगर उपप्रमुख सुनिता थपलियाले बताइन् ।

माडी नगरपालिका

माडी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९२ करोड ७० लाखको बजेटसहितको नीति तथा कार्यक्रम पेश गरेको छ ।

नगरपालिकालको सामाजिक सुरक्षासमेत गरी चालु तर्फ १९ करोड ५० लाख रकम बजेट विनियोजन गरेको छ । यो कुल बजेटको २१ प्रतिशत हुन आउँछ । यस्तै पुँजीगत तर्फ ७३ करोड २० लाख ८८ हजार रकम विनियोजन गरेको छ । पुँजीगत बजेट कुल बजेटको ७९ प्रतिशत हुन आउँछ ।

नगरपालिकाले माडीलाई कृषि र पर्यटन नगरीका रुपमा विकास गर्ने योजना अघि सारेको छ । कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने नीति नगरपालिकाले लिएको छ । नगरपालिकालकाले करका दरमा कुनै पनि परितर्वन गरेको छैन । कर सम्वन्धि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र दायरा बढाउने नीति नगरपालिकाले अख्तियार गर्ने जनाएको छ ।

स्वास्थ्यतर्फ माडीको बघौडा अस्पतालको स्तारोन्नती गरी १५ शैयामा थप १० शैंया थपेर २५ पु¥याउने योजना नगरपालिकाको छ । नगर क्षेत्रका सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने नीति नगरपालिकाको छ ।

नगर क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न नगर शिक्षा नीति लागु गर्ने नगरपालिकाको कार्यक्रममा समेटिएको छ । चेपाङ र अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई आवासिय सुविधासहित पठनपाठनको व्यवस्था मिलाउने कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

बहुचर्चित माडीको बाँदरमुढे क्षेत्रमा आगामी आर्थिक बर्षमा बाँदरमुढे पार्क निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ । माडी नगर क्षेत्रमा पर्यटन लक्षित होटल, रिर्सोट जस्ता व्यवसाय सञ्चालन गर्न चाहानेहरुलाई नगरपालिकाले पाँच बर्षसम्म कुनै पनि कर नलिने नीति लिएको छ ।

राप्ती नगरपालिका

पूर्वी चितवनको राप्ती नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि ९४ करोड २४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले २५ करोड ६९ लाख ५० हजार सामाजिक सुरक्षा, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अनुमानित आम्दानी राखेको छ । २५ करोड ९४ लाख सर्शत अनुदान समेटिएको छ ।

नगरका १३ वटा वडालाई १९ करोड २० लाख बजेट विनियोजन गरिएको मेयर प्रभा बरालले जानकारी दिइन् । प्रत्येक वडामा १ करोड ५० लाख छुट्टाइएको छ । नगरसभाले नगरपालिकाको आन्तरीक आम्दानी ६ करोड उठाउने लक्ष्य लिएको छ । गत बर्ष लिएको ४ करोडको लक्ष्य पुरा भएको मेयर बरालले अनलाइनखबरलाई जानकारी दिइन् । यो बर्षमा नगरसभा हल, वडा कार्यालय, अस्पताल, फोहर व्यवस्थापनसँग सम्वन्धित पूर्वाधार निर्माणको काम गरिसक्ने लक्ष्य लिइएको छ ।

चेपाङ विद्यार्थीहरुलाई खाजा कार्यक्रम, आवासिय छात्रावास व्यवस्थापन गर्ने कार्यक्रम समेटिएको छ । पहाडी क्षेत्रमा नगरवासी र बजार क्षेत्रका नगरवासी बीच आपसमा सम्वन्धलाई मजवुत बनाउने र नगरवासी भएकोमा गौरवबोध गराउने कार्यक्रम समेटिएको मेयर बरालले जानकारी दिइन् । नगरका ७ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

दाना उद्योग खोल्न कामलाई अन्तिम चरणमा पुर्याइएको र दुग्धजन्य पदार्थको उद्योगको डिपिआरको काम भैरहेकोले यसलाई नगरपालिकाले प्राथमिकतामा राखेको मेयर बरालको दावी छ ।

कालिका नगरपालिका

कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड २३ लाख ४४ हजारको वजेट ल्याएको छ । मंगलबार चौथो नगरसभामा उपप्रमुख कमला भट्टराईले आर्थिक वर्ष २०७६÷७६ का लागि बजेट पेश गरेकी हुन् ।

वजेटमा चालु खर्च २८ करोड २ लाख ९ हजार र पुँजीगत खर्च ४९ करोड २१ लाख ३५ हजार रुपैया रहेको छ ।

उपप्रमुख भट्टराईकाअनुसार आगामी वर्ष आन्तरीक आम्दानी १८ करोड ९ लाख ८० हजार रुपैयाँ, राजस्व वाँडफाँटबाट १ करोड २ लाख ९० हजार रुपैया,अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ ३९ करोड ४० लाख ७४ हजार,प्रदेश सरकारबाट ३ करोड ६ लाख ७४ हजार रुपैया आम्दानी हुने अनुमान छ ।

नीति तथा कार्यक्रम मार्फत सो नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायलाई घर निर्माणको लागि मेयर आवास कार्यक्रम ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment