
१२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित तीन जनालाई पनि बयानका लागि बोलाएको छ । बुधबार मात्र अख्तियारले ८६ जनाको नाममा सार्वजनिक सूचना जारी गरी बयानका लागि उपस्थित हुन भनेको थियो ।
शुक्रबार फेरि अर्को सूचना जारी गर्दै हुपेन्द्रमणि केसी, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सात दिनभित्र अख्तियारको अनुसन्धान महाशाखामा उपस्थित हुन भनिएको छ ।
बिहीबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालकी पत्नी उमाकुमारी, रामकुमार सुवेदीकी पत्नी माधवी लगायतको नाममा सूचना जारी गरिएको थियो ।
सरकारले ०२१ मंसिर १५ गते क्षतिपूति/मुआब्जा दिएर खरिद गरेको २८४ रोपनीमध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको देखिन्छ ।
कित्ता नम्बर ८३ को ४३९.११ वर्ग मिटर जग्गा ढकाल, सुवेदी र गुरुङको नाममा दर्ता गरिएको थियो । बालुवाटार प्रकरणपछि तीनजना व्यापारिक साझेदार समेत भएको उनीहरु निकट एक व्यवसायी बताउँछन् ।
उनका अनुसार बालुवाटारको जग्गा प्रकरणमा ढकालले राजनीतिक च्यानल मिलाउने, सुवेदीले कानूनी छिद्र पहिल्याउने र गुरुङले नजराना चढाउने रकम जोहो गर्ने गरेका थिए ।
प्रतिक्रिया 4