Comments Add Comment

भारतीय फिल्म अवार्ड काठमाडौंमा गर्ने निर्णय

नेपाली सेनाको मुख्यालयमा अवार्ड समारोह

१२ असार, काठमाडौं । भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा हुने भएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सहआयोजक रहनेछ ।

आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको थियो । बिहीबार बसेको समितिको पहिलो वैठकले आईफाका प्रतिनिधिसँग बसेर छलफल गरेर ५ दिनभित्र अवार्डको मोडालिटी टुंगो लगाउने निर्णय लिएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जानकारी दिए । ‘५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना बनाएर हामी आयोजकसँग उच्चस्तरीय वार्तामा बस्दैछौं,’ उनले भने ।

अवार्डको कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ ।  अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ । उनीहरुका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबै गर्दा ६–७ सयको हाराहारीमा विदेशी पाहुना सहभागी हुने सरकारको अनुमान छ । बलिउड कलाकार तथा प्राविधिकहरुको हवाई टिकट, होटल बसाई, सुरक्षा व्यवस्थापन, कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनमा ठूलो पैसा लाग्ने छ ।

उनीहरुको आवतजावत, सुरक्षा तथा लजिस्टकका लागि नेपाल सरकारले सहयोग गर्नेछ ।

स्रोतका अनुसार आईफाका प्रतिनिधिहरु अहिले पनि नेपालमा नै छन् र सरकारी अधिकारीहरुसँग बलिउड टोलीको हवाई यात्रा, होटल बसाई र सुरक्षाबारे छलफल गरिरहेका छन् ।

उच्चस्तरीय समितिका सदस्य चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अवार्ड हुने लगभग तय भए पनि विविध विषय टुंगो लाग्न बाँकी रहेको बताए । ‘हामी चार महिनादेखि यसमा गृहकार्य गरिरहेका छौं । मौखिक रुपमा धेरै कुराहरु टुंगेका छन् तर, समझदारीमा हस्ताक्षर हुन बाँकी छ,’ उनले भने ।

नेपाली कलाकार र मिडियालाई कार्यक्रममा कसरी पहुँच दिने लगायतका विविध विषयमा नेपाली पक्षले आफ्ना अडान राख्ने उनले बताए । ‘बलिउड कलाकार र मिडियाका अगाडि हाम्रा कलाकार र मिडियाले समान हैसियत पाउनुपर्छ भन्नेमा हामी सचेत छौं,’ उनले भने ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार आईफा अवार्ड आयोजनाको खर्च पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले जुटाउनुपर्ने छ । ‘कसको भागमा कति पर्छ भन्ने चाहिँ निर्क्योल भएको छैन,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका संस्थाले सहयोग गर्ने सरकारको अपेक्षा छ । सरकारले आयोजकसँग उच्चस्तरीय वार्ता गर्न बनाएको कमिटीको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा छन् । कमिटिमा पर्यटन, अर्थ, सूचना तथा सञ्चार प्रविधि र भौतिक मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिरकणका महानिर्देशक, काठमाडौं महानगरपालिकाका मेयर, नेपाल पर्यटन बोर्डका कार्यकारी अध्यक्ष, नेपाल भ्रमण वर्षका संयोजक, नेपाल पर्यटन बोर्डका सीइओ तथा अन्य निजी क्षेत्रका छाता संगठनका अध्यक्षहरु सहभागी छन् ।

अवार्ड स्थान नेपाली सेनाको मुख्यालय

कमिटीले आईफा अवार्डको आयोजना नेपाली सेनाको मूख्यालय अगाडिको फूटबल चौरलाई छनोट गरेको छ ।

केही दिन अगाडि आईफाको एक टोलीले नेपालमा सम्भावित ‘भेन्यू’ हेरेको र त्यसमध्ये सेनाको कम्पाउन्डभित्रको चौरलाई मन पराएको बताइएको छ । बोर्ड अध्यक्ष भट्टराईका अनुसार कार्यक्रम आयोजनाका लागि आईफाले एउटा ‘डोम’ ल्याउनेछ, जसमा करिब पाँच हजार जना अटाउनेछन् ।

आईफा अवार्ड भारत बाहिर विभिन्न देशमा हुने गरेको छ । पहिलोपटक सन् २००० मा बेलायतमा आयोजना भएको थियो । त्यसपछि क्रमशः दक्षिण अफ्रिका, मलेसिया, दक्षिण अफ्रिका, सिंगापुर, नेदरल्याण्ड्स, यूएई, बेलायत, थाइल्याण्ड, मकाउ, श्रीलंका, क्यानडा, सिंगापुर, मकाउ, अमेरिका, मलेसिया, स्पेन र थाइल्याण्डमा आयोजना भयो । सबै अवार्ड आईफाको खर्चमा भएको थियो ।

सन् २०१९ अगस्टमा २० औं संस्करण हुँदैछ । यो अवार्ड नेपालमा गर्न एक वर्ष अगाडिदेखि गृहकार्य थालिएको थियो ।

हाम्रो क्षमता देखाउने अवसर हो

दीपकराज जोशी, सीइओ, नेपाल

नेपालले पनि ठूलो क्षमताका कार्यक्रम आयोजना गर्न सक्ने भनेर देखाउने अवसरका रुपमा हामीले यसलाई लिएका छौं । यसबाट मूख्यतया तीन वटा पक्षमा नेपालले फाइदा लिन सक्छ ।

एउटा नेपालको ब्राण्डिङ संसारभर हुन्छ । किनकी संसारभरका मानिसले पछ्याउने कलाकार नेपालमा रहनेछन् । उनीहरुले काठमाडौंसहित नेपालमा रहेको सन्देश प्रवाह गर्दा मात्र पनि धेरै ठूलो प्रचार हुनेछ ।

अर्को, काठमाडौंको ब्राण्डिङ यस कार्यक्रमले गर्नेछ । सीटी ब्राण्डिङका माध्यमबाट काठमाडौंको पहिचान स्थापित गर्न सहयोग पुग्नेछ । तेस्रो पक्ष हाम्रो क्षमता देखाउने अवसर नै हो ।

हामी एकसाथ सयौं सेलिब्रेटीलाई सहभागी गराएर ठूलो क्षमताका कार्यक्रम आयोजना गर्न सक्षम छौं भन्ने देखाउने अवसर प्राप्त हुनेछ । एक जना मात्र कलाकार ल्याउँदा करोडौं रुपैयाँ खर्च हुन्छ । एकसाथ चर्चित कलाकार सहभागी हुँदा त्यसबाट ठूलो ब्राण्डिङ हुने विश्वास लिएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment