Comments Add Comment

१४ वटा पुगे पाँचतारे होटल, काठमाडौं मेरियट कान्छो सदस्य

Photo Credit : मेरियट होटल

१३ असार, काठमाडौं । काठमाडौंको नक्सालमा हालै सञ्चालनमा आएको काठमाडौं मेरियट होटलले पाँचतारे प्रमाणपत्र प्राप्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले २ असारमा पाँचतारे मान्यता प्रदान गरेको हो । यससँगै अब देशमा पाँचतारे होटलको संख्या १४ पुगेको छ ।

अन्तर्राष्ट्रिय होटल चेन ब्राण्ड मेरियटको नेपालमा दोस्रो होटल हो काठमाडौं मेरियट होटल । यसअघि ठमेलमा फेयरफिल्ड बाई मेरियट सञ्चालनमा आएको थियो । उक्त होटल भने तीन तारे स्तरको हो ।

नक्सालमा खुलेको मेरियट काठमाडौं मेरियट होटलमा २ सय १५ कोठा रहेको तथ्यांक विभागलाई उपलब्ध गराइएको छ । १३ रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १३ तले भवनमा रहेको छ । क्यासिनोसहित पाँचतारे मापदण्डमा हुने सबै सुविधा राखेर होटल संचालनमा ल्याएको कम्पनीले उल्लेख गरेको छ ।

पछिल्लो समय फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजा पाँचतारे वर्गीकरणमा परेको थियो । सोही महिना नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरले समेत पाँचतारे होटलको मान्यता पाएको थियो । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । व्यवसायीहरु सरकारको उक्त अभियानलाई साथ दिने लक्ष्यसहित पछिल्लो समय आतिथ्य सेवामा तीब्र लगानी गरिरहेका छन् ।

अलफ्टलाई प्रमाणपत्र दिने तयारी

मेरियटको तेस्रो होटलका रुपमा ठमेलमा अर्को पाँचतारे अलफ्ट काठमाडौं ठमेल सञ्चालनमा आएको छ । यो होटलले पनि विभागबाट प्रमाणपत्र प्राप्त गर्ने अन्तिम तयारी गरिरहेको छ ।

‘हामीले अलफ्टको स्थलगत अध्ययन सकिसकेका छौं,’ विभागका एक अधिकारीले भने, ‘एक दुई दिनमै प्रमाणपत्र दिने तयारी छ ।’ उक्त होटलले पाँचतारे प्रमाणपत्र पाएपछि भने पाँच तारे होटलको संख्या १५ पुग्नेछ । ठमेलस्थित छाँया सेन्टरमा यो होटल बनेको छ ।

१४ पाँच तारेमध्ये ९ वटा राजधानीभित्र स्थापना भएका हुन् भने पाँच वटा होटल उपत्यकाबाहिर रहेका छन् । पर्यटन विभागका अनुसार प्रदेश ५ मा मात्र तीन वटा पाँचतारे पुगेका छन् । यस प्रदेशमा नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियर, भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट र बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजाले पाँचतारे पाएका छन् ।

यी तीन होटलले पाँचतारे मान्यता पाउनु अगाडि काठमाडौंबाहिर केवल पोखरामा मात्र पाँचतारे होेटेल थिए । पोखरामा ग्रान्ड होटल र द फूलबारी रिसोर्टले पाँचतारे मान्यता पाएका छन् । त्यसबाहेक अन्य सबै पाँचतारे होटल काठमाडौ उपत्यकामा छन् ।

अन्नपूर्ण होटलबाट शुरु भएको पाँचतारे यात्रा

नेपालको पहिलो पाँचतारे होटल काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण हो । यो होटल २०२२ सालमा स्थापना भएको हो । त्यस समय ६० कोठाबाट यो होटलको सेवा शुरु भएको हो । २०२२ मै ताहाचलमा सोल्टी होटल स्थापना भयो ।

कति छन् देशभर होटल ?

पाँचतारे ( १४)

चारतारे ( ८)

तीनतारे (३७)

दुईतारे (४३)

एकतारे (३३)

पर्यटकस्तर (५०९)

होमस्टे (२५२)

थपिने क्रममा पाँचतारे

होटल संघ नेपाल (हान)का अनुसार अहिले थप पाँचतारे होटल धमाधम बनिरहेका छन् । गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा कान्तीपथमा शेराटन होटल बनिरहेको छ ।

शंकर ग्रुपले नक्सालमा ‘डबल ट्री बाई हिल्टन’ होटल बनाइरहेको छ । चन्द्रागिरीमा चन्द्रागिरी हिल्स प्रालिले बनाइरहेको होटल सञ्चालनको तयारीमा छ । लुम्बिनीमा होटल पवन प्यालेससमेत पाँचतारेका रुपमा स्थापना हुँदैछ ।

होटलको भौतिक संरचनाको काम नसकिएसम्म पाँचतारे वर्गीकरणमा पर्दैनन् । जब पाँचतारे वर्गीकरणका लागि होटलले विभागका निवेदन दिन्छ, त्यसपछि विभागले स्थलगत अध्ययन गरी तोकिएको मापदण्डबारे अनुगमन गर्छ । होटल वर्गीकरणअनुसार पाँचतारे होटलका लागि काठमाडौंभित्र एक सय कोठा आवश्यक पर्छ ।

होटल मापदण्ड २०७० को पहिलो संशोधनबाट उपत्यकाबाहिर खुल्ने होटलका लागि पाँचतारे मान्यता पाउन ८० कोठा भए पुग्ने प्रावधान ल्याइएको छ । यस प्रावधानअनुसार पछिलो समय मोफसलमा धमाधम ठूला र स्तरीय होटल खुल्ने क्रम जारी रहेको छ । अनुगमनमा पास हुने होटललाई विभागले प्रमाणपत्र दिने गरेको छ ।

दुई पाँचतारे बन्द

खुलेका १४ पाँचतारे मध्ये २ वटा पाँचतारे भने बन्द अवस्थामा छन् । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल र पोखरास्थित फूलबारी रिसोर्ट बन्द अवस्थामा छन् । एभरेष्ट होटल पुनः संचालनमा ल्याउने गरी अहिले रेट्रोफीटको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment