Comments Add Comment

प्रदेश ५ मा १६ सय कर्मचारी दरबन्दी रिक्त

१३ असार, बुटवल । प्रदेश ५ मा करिब १६ सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । प्रदेशको स्वीकृत कर्मचारी दरबन्दी ३ हजार ९६ मध्ये हाल १५ सय कर्मचारीमात्रै कार्यरत रहेका छन् । बाँकी १५ सय ९६ कर्मचारीको दरबन्दी रिक्त छ ।

रिक्त दरबन्दीमा कर्मचारी नियक्तिका लागि शुक्रबार प्रदेश मन्त्रिपरिषदले संगठन संरचना र दरबन्दी व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत गरेसंगै प्रदेश सरकारलाई रिक्त कर्मचारी पदपूर्ति गर्ने बाटो खुलेको छ ।

कर्मचारी दपूर्ति तथा व्यवस्थापन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रशासन महाशाखाका उपसचिव सदस्यसचिव रहने गरी समिति गठन गरिएको सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले प्रदेशका घरजग्गाहरुको न्युनतम मुल्य निर्धारण गर्न घरजग्गा न्युनतम मुल्य निर्धारण तथा समिति (गठन तथा कार्य सञ्चालन) आदेश २०७६ लाई स्वीकृत गरेको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयोजकत्वमा गठन हुने समितिमा नापी कार्यालय, मालपोत कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहने छन् ।

यस्तै राजमार्ग छेउमा फ्यूल फिलिङ्ग सेन्टर स्थापनाका लागि मापदण्ड २०७६ पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश श्रम सल्लाहकार परिषद गठनसम्बन्धी कार्यविधि र प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनका लागि प्रदेश स्तरिय समिति गठन कार्यविधि २०७६ पनि स्वीकृत गरेको प्रवक्ता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment