Comments Add Comment

‘काँटीले घोचेको विश्वास छैन, सिरिञ्ज नै हुन सक्छ’

पत्रकार सम्मलेनमै आक्रोश– ओई भाइरस, मास्क खोल् !

१३ असार, काठमाडौं । सिरिञ्ज आक्रमणमा संग्लग्न रहेको अभियोगमा पक्राउ परेका युवक सन्तोष कार्कीले ‘रमाइलोका लागि ढलानको काँटीले युवतीलाई आक्रमण गरेको’ वयान दिए पनि पीडित परिवारले अभियुक्तको वयानलाई विश्वास गरेनन् ।

अभियुक्त कार्कीलाई सार्वजनिक गर्न शुक्रबार महानगरीय प्रहरी प्रभाग टेकुस्थित नागरिक सहायता कक्षमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका पीडितका आफन्तले युवतीमाथि काँटी नभएर सिरिञ्जबाटै आक्रमण भएको दाबी गरे ।

‘ढलानको काँटीले घोपेको घाउ त्यस्तो हुन्न, उसले प्रहरीलाई ढाँटेको हुन सक्छ’ पीडित युवती जेनीसाका श्रीमानले भने ‘मलाई त सिरिञ्जले नै घोपेकोजस्तो लाग्छ ।’ यो घटनामा अभियुक्तले ढलानको काँटीबाट आक्रमण भएको भनेता पनि थप अनुसन्धान बाँकी नै रहेको प्रहरीले बताएको छ ।

अभियुक्तको वयान अपत्यारिलो

कार्कीले सिरिञ्जले नभएर ढलानको काँटीले युवतीमाथि आक्रमण गरेको बताएका छन् । प्रहरीले पनि पत्रकाहरुलाई त्यही जानकारी दिएका छन् । तर, आक्रमणमा परेकी जेनीसाका श्रीमान आक्रमणकारीको वयानलाई विश्वास गर्ने पक्षमा छैनन् ।

उनलाई श्रीमतीको घाउ देख्दा ढलान काँटीले आक्रमण गरेको जस्तो लाग्दैन । त्यसैले उनी आक्रमणकारी सार्वजनिक भइसक्दा पनि ढुक्क छैनन् । आक्रमणकारी पक्राउ नपर्दासम्म पीडितको मनमा जस्तो डर थियो, त्यो डर अझै बाँकी छ । कुनै रोगको संक्रमण पो हुने हो कि भन्ने डर अझै मरिसकेको छैन ।

ढलानको काँटी मोटो र लामो हुने भएकाले विश्वस्त हुन नसकेको जेनीसाका श्रीमान सुनाउँछन् । घोपेको ठाउँ अस्वाभाविक रुपले सुन्निएको र धेरै दिनसम्म दुखेकाले काँटी हुनै नसक्ने उनी दाबी गर्छन् ।

पीडितका पतिले अनलाइनखबरसँग भने ‘मोटो ढलान काँटीले घोप्दा त ठूलो प्वाल परिहाल्छ नि । हातमा सानो सियोले घोचेको जस्तो छ । अनि कसरी हुन्छ ढलान काँटी ?’

ओई भाइरस, मास्क खोल् !

यसैवीच शुक्रबार प्रहरीले पत्रकार सम्मेलनस्थलमै पीडित पक्षका आफन्त र समर्थकहरुले अभियुक्तलाई ‘ओई भाइरस मास्क खोल्’ भन्दै पीडा मिश्रित आक्रोश पोखे ।

पक्राउ परेका कार्कीलाई मास्क लगाएर पत्रकार सम्मेलनस्थलतिर लगिँदै थियो । उनले नीलो ज्याकेट लगाएका थिए । टाउको टोपीले छोपिएको थियो । खैरो पाइन्ट र चप्पल लगाएका कार्कीले नीलो मास्कले अनुहार छोपेका थिए । हातमा हतकडी थियो । टाउको निहुरिरहेको थियो ।

यो पनि पढ्नुहोस यी हुन् महिलाहरुमाथि काँटी घोप्ने आक्रमणकारी

प्रहरीको घेरामा रहेका कार्कीलाई पत्रकार सम्मेलन हलभित्र लैजानुअघि एक हुल मानिसले घेराउ गरे । अनि आक्रोशित भावमा आवाज आयो– ‘अर्काको ज्यानसँग रमाइलोका लागि खेलवाड गर्ने ? यो भाइरसलाई छोड्नुहुन्न ।’

प्रहरीले भीडलाई संयमित हुन आग्रह गर्दै भने, ‘अबको कारवाही हामीले गर्ने हो, तपाईहरु उग्र नबन्नुस् ।’

भीडलाई छल्दै कार्कीलाई पत्रकार सम्मेलनमा पुयाइयो । सँगसँगै भिड पनि पत्रकार सम्मेलन कक्षमा छिर्‍यो । पत्रकार सम्मेलनमै आक्रोशित स्वर सुनियो– ‘ओई भाइरस, मास्क खोल् मास्क ।’

हल्लाखल्ला धेरै हुन थालेपछि एक प्रहरीले कार्कीको टोपी खोलिदिए ।

प्रष्ट नबुझिने आवाजमा कार्की बर्बराएको सुनियो, ‘यस्तो हुन्छ भन्ने थाहा थिएन, गल्ती गरेंछु । पछुतो लागिराखेको छ ।’

यति गरिसकेपछि प्रहरीले कार्कीलाई पत्रकार सम्मेलन कक्षबाट बाहिर निकाल्यो । एक प्रहरीले भने, ‘फुर्सद भएका बेला के गरौं, के गरौं हुँदोरहेछ, अनि त्यस्तो बेलामा आक्रमण गर्दै हिँड्दोरहेछ ।’

किन भयो आक्रमण ?

आक्रमणकारी कार्की पक्राउ परिसक्दा पनि युवतीको हातमा सिरिञ्जले घोचेको हो कि काँटीले भन्ने अलमल छ । कार्की किन यस्तो कार्य गरे भन्ने पनि खुलेको छैन ।

यो पनि पढ्नुहोस यसरी भएको रहेछ महिलामाथि ‘काँटी’ आक्रमण (भिडियो)

मानसिक रोग विश्लेषक डाक्टर पवन शर्मा आक्रमणकारीले असामान्य गतिविधि देखाएकाले उनी मानविक रोगी हुन सक्ने बताउँछन् । उनका अनुसार कतिपय मानसिक रोग अरुलाई पीडा दिँदा मज्जा आउनेखालको हुन्छ । त्यस्ता रोगीले बिना कारण अरुलाई दुःख दिँदै हिँड्छन् ।’

तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले कार्कीलाई अहिलेसम्म मानसिक रोगी जस्तो देखाएको छैन । उनले कुनै मानसिक रोगको औषधि खाएको भनेर प्रहरीको जानकारी छैन । कार्कीले यसरी किन आक्रमण गरे भन्ने प्रश्नको स्पष्ट जवाफ प्रहरीसँग छैन ।

प्रहरीले बताएअनुसार महाराजगञ्जमा रेस्टुरेन्ट चलाएर बसेका युवा हुन् कार्की । उनी विहीबार राति १० बजे रेस्टुरेण्टबाटै पक्राउ परेका हुन् ।

कार्कीले अहिलेसम्म यसैगरी ४ जना युवतीलाई आक्रमण गरेको स्वीकार गरेका छन् । तर, ती कुनै पनि पीडितले कार्कीलाई नचिनेको बताउँछन् ।

शुक्रबार प्रहरी प्रभाग पुगेका पीडित र तिनका आफन्तहरुले आक्रमणकारीलाई नचिनेको र उनीसँग आफूहरुको कुनै दुश्मनी नरहेको बताए । प्रकाउ परेका कार्कीले ‘रमाइलोका लागि’ भनेर वयान दिए पनि यस्तो तर्कलाई पीडितहरुले विश्वास गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment