Comments Add Comment

प्रदेश १ मा सवारी दुर्घटनाले अपांगताको दर बढ्यो

११ महिनामा ३३४ जनाको मृत्यु : प्रहरी

१५ असार, विराटनगर । प्रदेश १ का १४ जिल्लामा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । तीव्र गतिका कारण हुने अधिकांश दुर्घटनाले अपांगता दर पनि बढाएको छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७३/७४ यता ४ हजार ६ सय ४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ हजार २६ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा ११ सय ८२ सवारी दुर्घटनामा २१ सय ३४ जना घाइते भएको तथ्यांक छ ।

अपांगताको क्षेत्रमा क्रियाशील राष्ट्रिय अपांग महासंघ, प्रदेश १ का कार्यक्रम संयोजक विमल बस्नेत बढ्दो दुर्घटनासँगै अंगभंग हुने क्रम पनि बढेको बताउँछन् । प्रदेश नं. १ मा पछिल्ला समय देखिएको अपांगतामध्ये २९ प्रतिशत सवारी दुर्घटनाले हुने गरेको उनले बताए ।

बस्नेतले भने, ‘विगतमा पोलियो अपांगता वृद्धिको पहिलो कारण भए पनि यसको उन्मुलनपछि सवारी दुर्घटना, गलत उपचार र अन्य प्रकारका दुर्घटनाले भूमिका खेलेको छ ।’

सवारी दुर्घटनामा अंगभंग भएका अधिकांश मानसिक तनावमा पर्ने गरेको र काउन्सिलिङ गरेर समाजमा पुनःस्थापना गर्न पनि निकै कठिन हुने गरेको उनको अनुभव छ ।

प्रदेश १ को सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । ट्राफिक प्रहरीका अनुसार प्रदेश १ का १४ जिल्लामा चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment