Comments Add Comment

प्रदेश ५ मा विशेष समितिले माग्यो नाम र राजधानीमा सुझाव

१५ असार, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिले विशेषज्ञहरुलाई कसैको प्रभावमा नपरी यथार्थपरक राय सुझाव दिन आग्रह गरेको छ ।

राजधानी र नामाकरणका लागि १२ वटै जिल्लाबाट सुझाव संकलनपछि प्रदेशसभा सचिवालयले गत जेठ ११ गते वातावरणविज्ञ, सुरक्षा विज्ञ र भूगोग विज्ञ गरी तीनजना विज्ञलाई राय सुझाव दिनका लागि नियुक्त गरेको थियो ।

आइतबार विज्ञहरुसहित बसेको विशेष समितिको वैठकमा समितिका सदस्यहरुले बिज्ञहरुलाई कसैको प्रभाव र दवावमा नपरी सुझाव दिन आग्रह गरेको हो । प्रदेशको राजधानी र नामाकरण संवेदनशील बिषय भएकाले कसैको प्रभावमा परेर सुझाव दिदा विज्ञहरुको विज्ञतामै प्रश्न चिन्ह उठ्ने भन्दै समितिका सदस्यहरुले यथार्थपरक राय दिन विज्ञहरुलाई सुझाव दिइएको समितिका सभापति दिपेन्द्रकुमार पुन मगरले बताए ।

बैठकमा सूरक्षा विज्ञ पूर्वउपरथी शिवराम प्रधान, भूगोल विज्ञ प्राध्यापक डा. कृष्णप्रसाद पौडेल र वातावरणविज्ञ सहप्राध्यापक डा. उद्धवराज खड्काले आफूहरुले अहिले सम्म गरेका कार्यहरुको बारेमा समितिलाई जानकारी गराएका थिए ।

प्रदेशको नामाकारण र स्थायी मुकाम तोक्ने बिषयमा १२ वटै जिल्लाबाट राय सुझाव संकलन गरेको विशेष समितिले बिषय विज्ञहरुको राय सुझाव लिएर मात्रै प्रदेशसभालाई आफ्नो प्रतिवेदन बुझाउने भन्दै त्यसका लागि विज्ञहरु नियुक्त गर्न माग गरेको थियो ।

पछिल्लो पटक समितिको म्याद ६ महिना थप गरिएकोले सो समयावधि अगावै आफ्नो राय सुझाव उपलब्ध गराउन समेत विज्ञहरुलाई अनुरोध गरिएको सभापति पुन मगरले बताए । तीन महिनामा प्रतिवेदन बुझाउने गरी गठित समितिको म्याद थप गरेर ६ महिना पु¥याइएको थियो । त्यसबीचमा पनि समितिले प्रतिवेदन बुझाउन नसकेपछि दोस्रोपटक ६ महिना म्याद थपिएको हो ।

राजधानी र नामको अन्तिम टुंगो प्रदेश सभाको दुई तिहाई वहुमतले लगाउने संवैधानिक व्यवस्था भएपनि सत्तारुढ दल नेकपाभित्रै स्थायी राजधानी बुटवल वा दाङ भन्नेमा विवाद हुँदा यो विषय लम्बिंदै गएको छ । मुख्यमन्त्री शंकर पोखरेल सकभर बुटवलबाट राजधानी सार्न सकिन्छ कि भन्नेमा छन् भने नेकपाका महासचिव विष्णु पौडेल राजधानी बुटवलबाट दायाँ बायाँ नहुने अडानमा छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेकाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड पनि राजधानी बुटवलबाट सार्न नहुने वकालत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment