Comments Add Comment

लिवियामा हवाई आक्रमण, ४० आप्रवासीको मृत्यु

१८ असार, काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ ।

राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् ।

बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् ।  घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए ।

‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् ।

अहिलेसम्म आक्रमण कसले गर्‍यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने मत लिवियन नेशनल आर्मीको छ ।

बीबीसीका अनुसार, आप्रवासीका लागि लिविया हुँदै युरोप प्रवेश सहज छ । त्यसैले पछिल्लो समय अफ्रिकाका आप्रवासीहरु लिवियाको बाटो भएर युरोप छिर्छन् ।

निरंकुश शासक भएको आरोप त्यहाँका शासक मुअमर गद्दाफीमाथि लागे पनि उनको शासनकालमा लिविया अहिलेजस्तो कमजोर थिएन । सन् २०११ मा उनी मारिएपछि लिविया हिंसा र विभाजनकाे चक्रव्यूमा फसेको छ । आन्तरिक कारणले कमजोर लिवियाको फाइदा उठाउँदै पछिल्लो समय अफ्रिकन आप्रवासीले युरोप प्रवेशको गन्तव्यका रुपमा यसलाई उपयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment