Comments Add Comment

ग्यारेथ बेलले गरे टोटनह्यामको सम्झना, फर्केलान् फेरि ?

काठमाडौं । ग्यारेथ बेल आज ३० वर्ष पुगे । साउथह्याम्पटन, टोटनह्याम हुँदै रियल मड्रिडमा रहेका बेलले विश्व फुटबलमा जे देखाएका छन्, पछिल्ला केही वर्षदेखि भने त्यसको अभाव देखिन्छ ।

उमेरसँगै फेरिएको बेलको फुटबलमा समय–समयमा घाइते भएर बाहिर हुनुपर्ने र क्लबको विश्वास जित्न मुश्किल हुने समस्या प्रमुख बन्यो । रियल मड्रिडमा रोनाल्डोपछिका स्टार खेलाडीका रुपमा हेरिएका बेल त्यो भूमिकामा आउनै सकेनन् । प्रशिक्षक जिनेदिन जिदानसँगको बेमेल र आफ्नै लयको अभावमा बेल हराए ।

अहिले स्पेनिस क्लब रियल मड्रिड खेलाडी किनबेचमा देखिएको असन्तुलन ग्यारेथ बेलको बिक्रीबाट मिलाउन चाहन्छ । बेललाई पूर्व क्लब टोटनह्यामदेखि चीनसम्मबाट किन्ने चासो भइरहँदा उनी के चाहन्छन् प्रष्ट छैन । टोटनह्यामले नै ४५ मिलियन पाउण्डमा किन्न चाहनुले रियल नछाड्ने अड्डी लिइरहेका बेल केही लचिलो बन्ने देखिन्छ ।

२०१३ मा रियल मड्रिड आउनुअघि टोटनह्याममा बेलले देखाएको खेल समर्थकले अहिलेसम्म भुलेका छैनन् । त्यसमा अझ विशेष बनेर आउँछ २०१० को च्याम्पियन्स लिग फुटबल ।

त्यसबेला च्याम्पियन्स लिग इंग्लिस क्लब टोटनह्यामका लागि एउटा पर्खाइको सपना साकार बनेको अवसर थियो । लामो पर्खाइपछि आधुनिक फुटबलको सबैभन्दा ठूलो क्लब प्रतिस्पर्धामा टोटनह्यामले आफ्नो परीक्षा दियो ।

टोटनह्याम च्याम्पियन्स लिगको सपना बोकेर बसेको ४८ वर्ष भएको थियो । युरोपियन कप हुने १९६१–६२ को समयमा युरोपियन फुटबलको ठूलो क्लब प्रतिस्पर्धामा भाग लिएको टोटनह्याम त्यसपछि निरीह बनिरहेको थियो ।

टोटनह्यामले २०१०–११ को च्याम्पियन्स लिग समूह चरणमा अपत्यारिलो प्रदर्शन गरेर सबैलाई चकित बनाइदियो । त्यसबेला च्याम्पियन्स लिग समूह चरणमा इटालियन क्लब इन्टर मिलान, नेदरल्याण्डको एफसी ट्वेन्टी र जर्मनीको वेर्डर ब्रिमेनसँगै टोटनह्याम समूह ‘ए’ मा रहेको थियो । इन्टर मिलानसँग त्यही समय नै टोटनह्यामले आफ्नो उच्च क्षमता देखाएको हो । जसमा नायक बनेका थिए, उनै ग्यारेथ बेल ।

पहिलो खेलमा वेर्डर ब्रिमेनसँग २–२ को बराबरी खेलेको टोटनह्यामले दोस्रो खेलमा एफसी ट्वेन्टीलाई ४–१ ले हराएको थियो । जसमा ८५ औं मिनेटमा ग्यारथ बेलले पनि एक गोल गरेका थिए ।

२० अक्टोबर २०१० च्याम्पियन्स लिग समूह चरणको महत्वपूर्ण खेलमा टोटनह्याम इन्टर मिलानसँग खेलिरहेको थियो । खेलको ३५ औं मिनेटमा नै ४–० ले पछि परेको टोटनह्याम असाध्यै निरीह बन्यो । वर्षौं पर्खाइको च्याम्पियन्स लिग टोटनह्यामलाई भारी पर्‍यो ।

खेलको दोस्रो मिनेटमा जेभियर जानेटीले गोल गरेर इन्टर मिलानलाई अग्रता दिए । त्यसपछि ११ औँ र ३६ औँ मिनेटमा स्यामुअल इटो र १४ औँ मिनेटमा डिजेन स्टानकोभिकले गोल गरेका थिए ।

पहिलो हाफ निराशाजनक रहेर खराब फुटबलको उपमा पाइरहेको टोटनह्यामका लागि खेलको ५२ औँ मिनेटमा गोल गरेर ग्यारथ बेलले आश फर्काए । उनले ९० औँ मिनेटमा र अतिरिक्त समयमा गोल गरेर ह्याट्रिक पूरा मात्रै गरेनन्, टोटनह्याममाथिको खराब फुटबलको दाग मेटाए ।

खेल हारे पनि त्यो त्यही रात थियो, जहाँ ग्यारेथ बेल एक स्ट्राइकरमा रुपमा सबैको नजरमा तानिए । एउटा लेफ्ट ब्याकबाट लेफ्ट विंगर बनेका बेलले फराकिलो मैदानमा आफूलाई अनुभवी बनाए । भोलिपल्टको हरेक सञ्चार माध्यमको हेडलाइनमा २१ वर्षका उनै बेलले खेल जितेको इन्टर मिलानलाई पनि पछि पारिदिए ।

त्यसले नै समयको चाल टोटनह्यामतिरै ढल्कियो र समूह चरणमा नै इन्टर मिलानसँगको दोस्रो खेलमा ३–१ ले खेल जित्दै अघिल्लो चरणमा बलियो उपस्थिति बनायो । अनुभवहीन खेलाडीको समूहको उपमा पाइरहेको टोटनह्यामले जस्तो खेल देखायो त्यसले धेरैको बोली बन्द गरिदिएको थियो ।

इन्टर मिलनसँगको दोस्रो खेलमा गोल नगरे पनि बेलको उपस्थिति निकै बलियो थियो । तीव्र गति र लामो पासले उनले इन्टरका डिफेन्सलाई धुरुक्क बनाएका थिए । त्यो समय पूरा खेलमा इन्टर रक्षात्मक बन्नुपरेको थियो ।

च्याम्पियन्स लिगका खेल नै हुन् जसले खेलाडीलाई विश्वभर एकैपटक सबै क्लबमा ढोका खोलिदिन्छ । त्यहीँ कसैको नजरमा नरहेका बेल च्याम्पियन्स लिगको त्यही रातमार्फत सबैतिर छाए । ठूला भनिएका क्लबले उनलाई ल्याउने चाहना देखाए । त्यसले नै ठूलो रकम खर्चेर स्पेनिस क्लब रियल मड्रिडले उनलाई ल्यायो ।

‘हो त्यही रात हो, जहाँ सबैले एउटा राम्रो खेलाडीको रुपमा मलाई चिने । त्यही रातले मेरो खेल जीवन नै परिवर्तन गरिदियो । मलाई अझै राम्रो गर्दै अगाडि बढ्न पनि हौसला र आत्मविश्वास दियो’ बेलले भनेका छन् ।

त्यो चम्किलो रातपछि ग्यारेथ बेल मात्रै होइन, टोटनह्याम नै पनि एउटा सुन्दर फुटबल यात्रा गरिरहेको छ । जति नै अघि पुगे पनि त्यो रातको बेल र टोटनह्यामलाई फुटबलप्रेमीले बिर्सने छैनन् ।

अन्तिम १६ मा पुगेको टोटनह्यामले पिटर क्रुचको गोलमा पहिलो लेगमा एसी मिलानलाई १–० ले हरायो । साथै दोस्रो लेगमा गोलरहित बराबरी गरेर क्वार्टरफाइनलमा पुग्यो । क्वार्टरफाइनलमा भने रियल मड्रिडसँग ४–० र १–० ले हारेर टोटनह्यामको यात्रा टुंगियो ।

त्यो समय च्याम्पियन्स लिगमा क्वार्टरफाइनलबाटै बाहिरिए पनि फाइनलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई हराएर उपाधि जित्दासम्म पनि टोटनह्यामको चर्चा हुन छाडेको थिएन ।

त्यसमा टोटनह्यामबाट बेलमात्रै होइन नायक बनेका अरु खेलाडी पनि थिए । ग्यारेथ बेलसँगै पिटर क्रुच, लुका मोडरिक, बेनोइट आसु इकोटो र राफेल भ्यान डर भार्टले एउटा उदाउँदो फुटबल टिमलाई विश्व मञ्चको उत्कृष्ट स्थानमा देखाएका थिए ।

गएको सिजन च्याम्पियन्स लिगमा उपविजेता रहेको टोटनह्याम विश्व फुटबलको उत्कृष्ट टिमका रुपमा अघि बढिरहेको छ । अब फेरि टोटनह्याममै फर्किए पनि बेलको त्यही खेल फर्कन्छ फर्कंदैनन् यकीन छैन, तर समर्थक उनलाई खुला हृदयले स्वागत गर्न तयार छन् ।

यस्तोमा पनि बेल भने रियल मड्रिडमा नै पुनः एक सिजन आफ्नो क्षमता देखाउन लालायित छन् । जिदानको प्लेइङ ११ मा पर्न उनले आफूमा परिवर्तन ल्याइरहेका छन् । प्रशिक्षण टिमदेखि सबैको मन जित्न उनको मेहनत अभ्यासका बेला पनि देखिन्छ ।

रियल मड्रिडको बेञ्चमा अपमानजनक रुपमा बसिरहनु भन्दा टोटनह्याम जानु बेलका लागि पनि राम्रो हुनेछ । किनभने मड्रिड प्रशिक्षक जिदानले नयाँ सिजनका लागि बनाएको योजनामा बेलको स्थान कतै देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment