+
+
Shares

हाम्रा विश्वविद्यालय किन ‘विश्वविद्यालय’ जस्ता बनेनन् ?

डा. हरि लम्साल डा. हरि लम्साल
२०७६ साउन १९ गते १२:००

अर्थ मन्त्रालयबाट प्रकाशित सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदन २०७६ का अनुसार ३७ सार्वजनिक संस्थानमध्ये ११ वटा घाटामा छन् । अधिकांश सार्वजनिक विद्यालय र विश्वविद्यालयहरुको अवस्था दयनीय छ । तर, यही परिवेशमा चलेका निजी संस्था निरन्तर फस्टाइरहेका छन् ।

मुलुकका सार्वजनिक निकायहरुको दुरावस्था किन ? धेरैको भनाइ स्वभावतः राजनैतिक कारणले यस्तो भयो भन्ने हुन्छ नै । योभन्दा अझ महत्वपूर्ण त पदाधिकारीको वैयक्तिक कारण हुन सक्छ ।

राजनैतिक वा वैयक्तिक कारणमध्ये कसको भूमिका बढी छ भन्ने बारेमा थप अध्ययन र विश्लेषण चाहिन्छ ।

सार्वजनिक निकायका समस्या

सिद्धान्ततः आन्तरिक र बाह्य पक्षहरु अनुकुल बनाउन नसक्दा सार्वजनिक वा निजी संस्था डुब्न पुग्छन् भने यिनै पक्षहरु अनुकुल बन्दा संस्थाहरुले प्रगति हासिल गर्छन् । सार्वजनिक निकायका पदाधिकारीको मनोवृत्ति, क्षमता एवं एकताको मात्राले यस्ता पक्षलाई अनुकुल वा प्रतिकुल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

अहिले सार्वजनिक निकायमा समस्या सिर्जना हुनुमा धेरै कारण हुन सक्छन् । कतिपय निकायका पदाधिकारीले ‘गर्नै नपर्ने काम गरेर’ समस्या ल्याएका छन् भने कतिपयमा ‘गर्नै पर्ने काम नगरेर’ बेथिति भित्रिएका छन् । कतिपयले त ‘गर्नै नहुने काम’ गरेको पनि देखिएको छ । धेरै निकायको नेतृत्व ‘जसोतसो केही गर्न खोज्ने तर जति चाहिने हो सो नगर्ने’ प्रवृत्तिको छ ।

‘गर्नै नपर्ने काम गर्नु’ भनेको कमजोर ‘मनोवृत्ति’ हो भने ‘गर्नै पर्ने काम नगर्नु’ भनेको कमजोर इन्टेग्रिटीको नतिजा हो, इमान्दारिताको अभाव हो । कमजोर क्षमता र सोचको अभावले ‘जति गर्नुपर्ने हो त्यति गर्न नसकेको’ देखिए पनि यस्ता पदाधिकारीले आफ्ना निकायलाई थप विग्रन दिएका छैनन् । अहिले यसैमा सन्तोष मान्नु पर्ने अवस्था छ । सार्वजनिक निकायको यस भिडमा सुधार गर्ने पात्र पनि छन्, जसको सङ्ख्या अत्यन्त न्यून छ । छायामा रहेका यस्ता पात्रहरु वास्तविक धन्यवादका हकदार हुन् ।

मुलुकका अधिकांश विश्वविद्यालय र सार्वजनिक निकायहरु ‘गर्नै नपर्ने काम गरेर’ चर्चाको शिखरमा छन् । यसमा नेतृत्व एवम् पदाधिकारी संलग्न भएको देख्न सुन्न पाइन्छ । आखिर जो संलग्न भएपनि जवाफदेहिता नेतृत्वले लिनु पर्ने हो, तर व्यवहारमा त्यस्तो देखिँदैन । ‘गर्नै नपर्ने काम गरेर’ सृजना भएका बेथिति तथा अव्यवस्थालाई पनि राजनीतिका कारण यस्तो भयो भन्ने प्रचलन छ । हुन त राजनीतिक अभ्यासका पनि थुप्रै कमजोरी होलान्, जसको यहाँ बचाउ गर्न खोजिएको होइन । आफूले गर्न नहुने काम गर्ने अनि दोष अरुलाई लगाउने प्रवृत्तिका बारेमा मात्र चर्चा गर्न खोजिएको हो ।

कतिपय सार्वजनिक निकायका प्राज्ञिक व्यक्ति ‘गर्नै नहुने काम गर्ने’ पात्रका रुपमा देखिएका छन् । यस्ता व्यवहार उक्त पदमा रहनेको ‘पेशाधर्मिता’, ‘जवाफदेहिता’ र ‘सामाजिक अपेक्षा’भन्दा प्रतिकुल छन् । जसले सरकार र समाजका कामप्रति औँला उठाउनुपर्ने हो सो नै आफैं ‘गर्नै नहुने काम’मा संलग्न भएपछि त्यसलाई के भन्ने ?

जसले समाजमा ‘सामूहिकता’, ‘सामाजिक एकता’ र ‘सहिष्णुता’को उदाहरण प्रस्तुत गर्नुपर्ने हो सो वर्गको बीचमा नै सामान्य शिष्टाचारको रुपमा हुनुपर्ने बोलचालसमेत हुँदैन भने त्यसलाई के भन्ने ? सो वर्गले संस्थामा समूह र टिमको भावना विकास गराई काम गर्नुपर्छ भनेर कसरी भन्न सकेको होला र ? अवस्था यस्तो भएपछि समाजले यस्ता निकायबाट के अपेक्षा गर्ने ?

जुन पदाधिकारीलाई ‘गर्नुपर्ने काम’का साथमा ‘बेथिती’ पनि रोक्ने जिम्मा दिइएको छ, उही व्यक्ति ‘गर्नै नहुने काम’मा संलग्न हुनु भनेको व्यक्तिको ‘मानसिक विचलन’कै अवस्था हो । खराब ‘मनोवृत्ति’को अवस्था हो । हुन त सार्वजनिक निकायका पदाधिकारी कहिलेकाँही आफूले नगरेको तर अरुले गरेको कामका कारणले पनि फन्दामा पर्न सक्छन् । अर्काले गरेका कामका कारण परिबन्दमा पर्नु र ‘गर्नै नहुने काम’मा आफै संलग्न भई फन्दामा पर्नुमा ठूलो अन्तर छ ।

अहिलेका कतिपय सार्वजनिक निकाय बदनाम हुनुमा पदाधिकारी स्वयम् ‘गर्नै नहुने काम’मा संलग्न हुनु पनि हो ।

गर्नै पर्ने काम किन हुँदैनन् ?

व्यक्तिले ‘गर्नै पर्ने काम’ किन गर्दैन त ? हाम्रा निकायमा हुनै पर्ने काम किन नभएका होलान् ? नजानेर वा क्षमता नभएर वा कमजोर सहकार्य भएर यस्तो हुन सक्छ । सार्वजनिक निकायको नेतृत्वमा पुग्नेले नजानेरै काम नगरेका होलान् भनेर त अनुमान पनि गर्न सकिँदैन ।

किनकि अहिले आफूले नजानेको काम विज्ञ वा समूह बनाई सोबाट गराउन सकिन्छ । साथै आफैंले सिक्ने अवसर पनि पाइन्छ । ‘गर्नै पर्ने काम’ नहुनुका पछाडि पदाधिकारीले नजानेर होइन भन्न सक्ने प्रशस्त आधार हामीसँग छन् ।

यसैगरी विश्वविद्यालयहरुमा काम हुन नसकेको राजनैतिक रुपले नियुक्त पदाधिकारी भएर हो भन्ने पनि सुनिन्छ । राजनैतिक नियुक्तिले आस्थाका आधारमा कोही व्यक्ति भित्रिन सक्छन् ।

राजनीतिलाई समाएर फाइदा लिँदा सो विषय हस्तक्षेपभित्र पर्दैन भने आफूलाई फाइदा नआउने कार्यजति सबै हस्तक्षेपमा गनिन्छन् । धेरै मात्रामा उठ्ने गरेको पदाधिकारी नियुक्तिमा पनि यही प्रावधान लागू हुन्छ

फेरि नेपालमा जसलाई ल्याए पनि कुनै विचार वा आस्थाबाट निर्देशित व्यक्ति नै आउने हो किनकी हामीकहाँ राजनैतिक रुपमा कुनै पनि दर्शन वा विचारबाट प्रभावित नभएको स्नातक पाउन सम्भव होला र ? के प्राज्ञिक वर्ग कुनै पनि दर्शन विचारबाट प्रभावित नभइ रहन सक्ला र ? हरेक व्यक्तिमा यस संसारलाई हेर्ने आ-आफ्नाे ‘दृष्टिकोण’ हुन्छ, ‘वर्ल्ड भ्यू’ हुन्छ ।

यसैका आधारमा व्यक्तिले घटना वा परिवेशप्रति आफ्नो धारणा बनाउने हो । त्यही भएर भन्ने गरिन्छ, हरेक व्यक्ति निश्चित दर्शन र सिद्धान्तबाट प्रभावित भएकै हुन्छन् । प्राज्ञिक वर्ग यसमा अझ प्रखर हुनुलाई अन्यथा मान्नै हुँदैन । ‘विचारबाट प्रभावित हुनु’ र ‘गर्नुपर्ने काम नगर्नु’ नितान्त फरक विषय हुन् । विचारबाट प्रभावित भएरमात्र काम नभएको होइन ।

हाम्रो सन्दर्भमा विश्वविद्यालयको नेतृत्वमा जसलाई लगे पनि सो व्यक्ति एउटा न एउटा ‘दर्शन’ र ‘विचार’बाट प्रभावित भएकैमध्येबाट पर्ने हो । मात्रा घटिबढी हुन सक्ला । तर, निश्चित ‘दर्शन’ र ‘विचार’बाट सबै प्रभावित छन् । विश्वविद्यालयमा पदाधिकारीमा निश्चित ‘दर्शन’ वा ‘विचार’बाट प्रभावित व्यक्ति पुग्छन् र पुग्नु पनि पर्छ ।

प्रश्न ‘क्षमता’ र ‘इन्टेग्रिटी’ उच्च भएका व्यक्ति उक्त पदमा पुगे पुगेनन् भन्ने हुनुपर्थ्यो । तर, हामीकहाँ कुन आस्थाको व्यक्ति पुग्यो भनेर मात्र हेरियो । ‘विचार’ र ‘दर्शन’ले मात्र काम हुने भए त पुँजीवादी वा समाजवादी मुलुकमा या त सबै निकाय ‘अब्बल’ वा सबै ‘निकम्मा’ हुनुपर्थ्यो, तर अवस्था त्यस्तो छैन । त्यहाँ पनि राम्रा काम गर्ने र कामै गर्न नसक्ने दुवै खालका पदाधिकारी छन् ।

यसले पनि के देखाउँछ भने व्यक्तिमा आवश्यक ‘क्षमता’, ‘दक्षता’ र ‘इन्टेग्रिटी’ छैन भने ‘दर्शन’ र ‘विचार’ले मात्र नतिजा दिन सक्दैन । काम हुन नसक्नुमा व्यक्तिको ‘आस्था’मा कारण होइन, उसमा निहित ‘क्षमता’ र ‘इन्टेग्रिटी’ले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

कामका लागि क्षमता, एकता र पेशाधर्मिता

पदाधिकारीले ‘गर्नै पर्ने’ भनिएका र नयाँ सोच बमोजिमका काम गर्नका लागि व्यक्तिको ‘क्षमता’ र ‘इन्टेग्रिटी’ उच्च चाहिन्छ, ‘विधि र पद्धति’ बलियो चाहिन्छ ।

पदाधिकारीको न्यून इन्टेग्रिटी, कम क्षमता र कमजोर विधि वा पद्दतिमध्ये कुनै पनि कारणले अहिले हाम्रा सार्वजनिक निकायमा काम नभएको हुन सक्छ । हाम्रा विश्वविद्यालयहरु किन ‘विश्वविद्यालय’ जस्ता भएनन् भन्ने विषयमा खोजी गर्न यही ढाँचा उपयुक्त हुन्छ ।

हाम्रा विश्वविद्यालयमा काम हुन नसकेको व्यक्तिले ग्रहण गरेको दर्शन वा विचारका कारणले होइन, निजको ‘स्वभाव’ र पदले माग गरेको ‘पेशाधर्मिता’को बीचमा तालमेल नमिलेर हुन सक्छ

राजनैतिक हस्तक्षेपले अवस्था बिग्रियो भन्ने धेरै मात्रामा सुन्न पाइन्छ, जुन अपूर्ण छ । यसो भनिरहँदा विश्वविद्यालयहरुमा राजनैतिक हस्तक्षेप नै छैन भन्ने पनि होइन ।

प्रश्न केलाई हस्तक्षेप मान्ने र केलाई नमान्ने भन्ने मात्र हो । त्यही राजनीतिलाई समाएर फाइदा लिँदा सो विषय हस्तक्षेपभित्र पर्दैन भने आफूलाई फाइदा नआउने कार्यजति सबै हस्तक्षेपमा गनिन्छन् । धेरै मात्रामा उठ्ने गरेको पदाधिकारी नियुक्तिमा पनि यही प्रावधान लागू हुन्छ ।

विश्वविद्यालयमा समस्या आउनु वा काम नहुनुमा पदाधिकारीको ‘राजनैतिक आस्था’ प्रमुख हो कि पदाधिकारीको ‘पेशाधर्मिता’ कमजोर भएर हो भन्नेमा पनि विश्लेषण चाहिन्छ ।

हरेक पेशा, व्यवसायका आ-आफ्नै स्वभाव, गुण र विशेषता हुन्छन्, सोका आधारमा पेशाको धर्म (पेशाधर्मिता) निर्माण हुन्छ । यसको पालना व्यक्तिले आर्जन गरेको ज्ञान, सीप, धारणा एवम् स्वयंमा अन्तरनिहित गुण र विशेषता (वैयक्तिक गुण)मा निर्भर हुन्छ ।

तसर्थ पदाधिकारी कुन राजनैतिक ‘दर्शन’ र ‘विचार’बाट प्रभावित छ भन्दा पनि उसमा ‘पेशाधर्मिता’ के कति मात्रामा छ भनेर हेर्नुपर्ने हुन्छ । मासु पसल गर्ने, तरकारीको व्यापार व्यवसाय गर्ने र शिक्षामा संलग्न हुनेको ‘पेशाधर्मिता’ फरक फरक हुन्छ नै । अर्को अर्थमा व्यक्तिको स्वभाव र पदले मागेको ‘पेशाधर्मिता’ मिल्छ कि मिल्दैन भनेर पनि हेर्नुपर्ने हुन्छ । सबै व्यक्तिलाई एउटै स्वभाव देखाउ भनेर पनि हुँदैन ।निश्चित पदको ‘पेशाधर्मिता’ व्यक्तिमा अन्तरनिहित निश्चित स्वभाव र गुणले मात्र निर्वाह गर्न सक्छ ।

हाम्रा विश्वविद्यालयमा काम हुन नसकेको व्यक्तिले ग्रहण गरेको दर्शन वा विचारका कारणले होइन, निजको ‘स्वभाव’ र पदले माग गरेको ‘पेशाधर्मिता’को बीचमा तालमेल नमिलेर हुन सक्छ ।

अहिले ‘राजनैतिक आस्था’ले उल्लेख्य भूमिका निर्वाह गर्न पनि सक्दैन किनकी उक्त पदमा जो आएपनि व्यक्तिले आफ्नो दर्शन र विचारका आधारमा होइन, संविधान र कानूनका आधारमा निर्णय गर्ने हो । अब विचार र दर्शन नभएको प्राज्ञिक व्यक्ति खोज्नेतर्फ होइन ‘पेशाधर्मिता’ बहन गर्न सक्ने व्यक्तिलाई पदाधिकारी बनाउनुपर्छ ।

व्यक्तिको ‘दर्शन’ र ‘विचार’ मापन गर्न होइन कि ‘पेशाधर्मिता’ कायम गर्ने क्षमता मापन गर्नुपर्छ । व्यक्तिको विगतको ‘ट्रयाक रेकर्ड’ एउटा सन्दर्भ हुन सक्छ । तर, त्यसले अहिलेको ‘पेशाधर्मिता’ मापन गर्न सक्दैन ।

वैयक्तिक रुपमा पनि एउटै ‘दर्शन’ र ‘विचार’बाट प्रभावित हुनेहरुको बीचमा पनि ‘विविधता’ हुनसक्छ । यस्तो ‘विविधता’ आस्थाका आधारमा नभएर ‘क्षमता’, ‘इन्टेग्रिटी’ र ‘आचरण’का आधारमा हुन्छ । व्यक्तिमा निहित यीनै गुण वा विशेषताकै कारण सार्वजनिक निकायमा काम हुने र नहुने अवस्था सिर्जना हुने हो ।

व्यक्ति जब सार्वजनिक पदमा पुग्छ, स्वभावतः ऊ सार्वजनिक हुनुपर्छ । अहिले काम नभएको सार्वजनिक निकायमा बस्ने अनि अमुक ‘दर्शन’ र ‘विचार’को वकालत गर्ने द्वैध मानसिकता भएर पनि हो । सार्वजनिक पदको भूमिका मुलुकका लागि हो ।

उक्त पदअनुसारको ‘क्षमता’, ‘इन्टेग्रिटी’ र ‘पेशाधर्मिता’ भएको व्यक्ति विश्वविद्यालयको पदाधिकारी हुने हो भने निज जुनसुकै ‘दर्शन’ र ‘विचार’बाट प्रभावित भए पनि कामको नतिजामा खासै फरक पर्दैन ।

यहाँ सन्दर्भ विश्वविद्यालयको भए पनि यी विषयहरु मुलुकका अन्य सरकारी कार्यालय, विद्यालय एवं सार्वजनिक निकायका लागि पनि उत्तिकै मात्रामा उपयोगी हुन्छन् ।

(डा. लम्साल शिक्षा मन्त्रालयका सहसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?