Comments Add Comment

मिनी संसदमा माधव नेपाललाई रुवाउने त्यो क्षण

१९ साउन, काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई समितिमा आमन्त्रण गर्‍यो । समिति सभापति पवित्रा निरौला (खरेल) स्वयमः मन्त्रीसमक्ष पुगेर निम्तो दिएपछि मन्त्री भट्टराईले नाइ भन्न सकेनन् ।

शुक्रबार मात्र मन्त्रालय सम्हालेका मन्त्री भट्टराईले मन्त्रालयका विधागत विषयवस्तु, कार्यक्रम र योजनाबारे बुझ्ने समय पनि पाएका छैनन् । तर, संसद र प्रेसबाट आफू नभाग्ने प्रण गरेका मन्त्री भट्टराई समितिमा जान तयार भए ।

समितिमा आइतबार अधिकांश सदस्य उपस्थित थिए । सबैले पालैपालो शुभकामना र बधाई दिए । अन्तिममा बोल्ने पालो थियो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ।

पूर्ववक्ता सांसदबाट लगभग सबै विषयवस्तु आइसकेको भन्दै धेरै नबोल्ने बताएका नेपालले करीव २८ मिनेट बोले र नवनियुक्त पर्यटनमन्त्रीलाई दर्जनभन्दा बढी सुझाव दिए । उनको सझाव एक सांसदको रुपमा भन्दा पनि अभिभावकको रुपमा थियो ।

नारायणहिटी दरवारलाई नेपालको पहिचान झल्कने आकर्षक संग्रहालय बनाउनेदेखि ३३ कोटी भगवानको मुर्ति बनाएर स्वर्गको स्वरुप नै नेपालमा निर्माण गर्न सकिनेसम्ममा सुझाव दिए । कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माणको थालनी गर्न र नेपाल एयरलाइन्सको व्यवस्थापन सुधारमा गम्भीर भएर लाग्न नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई उनले सुझाव दिए ।

माधव नेपाल बोलिसकेपछि सभापतिले मन्त्री भएको छोटो समयमै समितिलाई समय दिएको भन्दै धन्यवाद दिइन् । उनले मन्त्री भट्टराईलाई बोल्ने समय दिइन् ।

पर्यटनमन्त्री भट्टराईले बधाई र शुभकामनाका लागि समितिलाई शुरुमै धन्यवाद दिए । आफूलाई प्राप्त जिम्मेवारी विल्कुल नयाँ रहेको भन्दै उनले प्रतिनिधिसभाको उपस्थिति र मन्त्रीको जिम्मवारी दुबै आफ्नो लागि नयाँ रहेको बताए । काम गर्दा एक परिपक्क सांसद र परिपक्व नेताको जस्तो नहुने र गल्ती हुनसक्ने भन्दै समितिले आफ्ना सिमितता बुझिदिने अपेक्षा समेत गरे ।

त्यसपछि उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सन्दर्भ उठान गरे । उनले भने ‘पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई मैले केवल समितिको सदस्यको रुपमा मात्र बुझेको छैन, उहाँ मेरो अग्रज नेताको रुपमा मैले बुझेको छु ।’

उनले दिएका सुझाव आफ्ना लागि मार्गदर्शन हुने बताउँदै मन्त्री भट्टराई एकाएक विगतको स्मरणमा फर्किए । राजनीतिमा लागेको भर्खर–भर्खरको दिन याद गर्दै उनले माधव नेपाल आफ्नो नेताभन्दा बढी शिक्षक र गुरु भएको उल्लेख गरे ।

उनका अनुसार २०४३ सालमा पञ्चायती व्यवस्थाविरुद्ध लड्दै गर्दा काठमाडौंमा नगर पञ्चायतको निर्वाचन चलिरहेको थियो । रातभर पार्टीको काममा खटिनु पर्थ्यो । खाने र बस्ने, सुत्ने कुनै ठेगान थिएन । त्यसकारण आफू असाध्यै बिरामी भएको उनले स्मरण गरे ।

शिक्षण अस्पतालमा ६० दिनभित्र बस्दा डाक्टरले बाँच्ने आश मारिसकेका थिए । त्यसपछि मावध नेपालको नाम लिएका भट्टराई एकाएक भावुक बने । उनको गला अवरुद्ध भयो । नेता माधवकुमार नेपाल आफूलाई अस्पतालमा भेट्न आएको सन्दर्भ कोट्याउदा कोट्याउँदै उनी केही बेर रोकिए । गला अवरुद्ध भएपछि बोल्नै सकेनन् ।

भट्टराईलाई नजिकबाट चिन्नेहरुका अनुसार २०४३ सालमा भट्टराई विरामी भएको बेला नेता नेपालसँगै सुरेन्द्र पाण्डे पुगेका थिए । त्यसबेला भट्टराई निकै रोएका थिए । उनी अहिले पनि त्यसबेला नेता नेपालले दिएको स्नेह नै आफू बाँच्ने आधार दिएको मान्छन् । भट्टराईले यसो भनिरहँदा माधवकुमार नेपालले समेत आफूलाई सम्हाल्न सकेनन् । रोक्न खोज्दाखोज्दै आशु आयो ।

समितिको बैठकमा मन्त्री भट्टराईले नेता नेपालका सुझाव आफ्ना लागि मार्गदर्शनको काम गर्ने दोहोर्याए । उनलेसमितिमा रहेका उच्च तहका नेता तथा सांसदको नाम लिँदै सुझावका धन्यवाद दिए । उनले संसद र संचारमाध्यमबाट आफू कहिल्यै पनि नभाग्ने र पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता दोहोर्याए ।

छोटो अवधि भएकाले आफूले भावी योजनाबारे विस्तृतमा कुनै कार्यक्रम ल्याउन नसकेको भन्दै विषयवस्तुबारे आफूले बुझेका सन्दर्भ कोट्याए । त्यसअघि मन्त्री भट्टराईलाई बधाई तथा शुभकामना दिएका सबैजसो सांसदले मन्त्री भट्टराईबाट देशले ठूलो अपेक्षा गरेको भन्दै त्यसमा खरो उत्रन शुभकामना दिए । कार्यकाल स्वच्छ बनोस् र पदमुक्त हुँदा मन्त्रीका रुपमा कुनै दाग योगेश भट्टराईमा नदेखियोस्, यो सबै सांसदको शुभेच्छा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment