Comments Add Comment

विद्युत प्राधिकरण ३ अर्ब नाफामा, भारतबाट २३ अर्बको बिजुली आयात

१९ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन भएको अनुमानित हिसाब निकालेको छ । यसअघि आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड खुद नाफा आर्जन गरेको थियो ।

पछिल्लो आबमा ७१ अर्ब ७८ करोड २० लाख ५७ हजार कुल आम्दानी गरेको प्राधिकरणको अनुमान छ ।

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य गर्नुका साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३÷७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४÷७५मा नाफा बढेर झण्डै ३ अर्ब पुग्यो ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँग विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वय लगायतबाट प्राधिकरण नाफामा जान सफल भएको घिसिङले बताउने गरेका छन् ।

यस्तै गत वर्ष ६८ अर्ब ५० करोड ३५ लाख ४२ हजार रुपैयाँ खर्च भएको प्रारम्भिक अनुमान छ । प्राधिकरणले गत वर्ष ७ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुँजीगत खर्च भएको बताएको छ । मुख्य रुपमा वितरण प्रसारणलाइन विस्तार, वितरण तथा प्रसारण सबस्टेसन तथा स्वीच गेयर शीर्षकमा यस्ता खर्च भएका हुन् ।

सञ्चालन तथा सम्भारतर्फ ६० अर्ब २४ करोड खर्च भएको छ ।

विद्युत खरिद तथा रोयल्टी र सरकारको ऋणको ब्याजसमेत जोडिएको छ । विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि २२ अर्ब ६० करोड ८६ लाख खर्च भएको छ ।

भारतबाट करिब २३ अर्बको विजुली आयात

विद्युत प्राधिकरणले विद्युत महसुलबापत ६१ अर्ब ४२ करोड २१ लाख रुपैयाँ संकलन गरेको छ । यो आम्दानी अनुमानितभन्दा ४ अर्ब कम हो ।

यस्तै निजी उत्पादकहरुबाट २ अर्ब ९ करोड ७७ लाख युनिट विजुली किनेको छ । जसका लागि १५ अर्ब ८१ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।

यस्तै २ करोड १६ लाख ४३ युनिट बिजुली भारत निर्यात गरिएको छ, जसबाट १२ करोड २० लाख ४७ हजार आम्दानी भएको प्राधिकरणको अर्थ निर्देशनालयले जानकारी दिएको छ ।

गत वर्ष नै नेपालले २ अर्ब ७९ करोड ६७ लाख युनिट विद्युत भारतबाट आयात गरेको छ । यसका लागि २२ अर्ब ८९ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ ।

प्राधिरकणले नेपाल सरकारलाई ब्याजबापत ११ अर्ब ७० करोड ८७ लाख भुक्तानी पनि गरेको छ । जडित क्षमता र विक्रीबापतको १ अर्ब ४९ करोड विद्युत रोयल्टी पनि बुझाएको छ ।

यो वर्ष विद्युत चुहावट पनि घटेको छ । तर त्यसको एकीन विवरण आइसकेको छैन । चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइएको विद्युत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment