+
+
Shares

सप्तरीमा तस्करलाई पक्राउ गरेर छोडेको आरोप लागेका सईको जिम्मेवारी खोसियो

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ भदौ ६ गते ९:५८

६ भदौ, सप्तरी । सप्तरीमा सामानसहित पक्राउ परेका तस्करहरूलाई प्रहरी कार्यालयबाटै छाडेपछि विवादमा परेका इलाका प्रहरी कार्यालय बोदेबरसाईनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्माको जिम्मेवारी खोसिएको छ ।

सई शर्मालाई शुक्रबार नै जिल्ला तानिएको हो । गत साउन १८ गते बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँबाट अपराह्न करिब ३:३० बजे भारतबाट भन्सार छली गरी ल्याइएको मोबाइल पार्टस, मोटरसाइकल सामानसहित भरिया सुनिल मण्डललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा ल्याएको थियो ।

पक्राउ परेका भरिया मण्डल र मोटरसाइकलसहित समान छुटाउन मुख्य कारोबारी देव कुमार यादव इलाका प्रहरीमा पुगेका थिए । समान छुटाउन पुगेका यादवलाई प्रहरीले तत्कालै नियन्त्रण लिएको थियो । तर, तस्करलाई बचाउन प्रहरीले घटना विवरण मुचुल्का पनि फेरबद्ल गरिएको थियो ।

प्रहरीले भने घटनाको समय र स्थान फरक उल्लेख गर्दै साउन १९ गते राति १२:३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रङको १६० सीसी एक्स्ट्रिम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल र बोरा सोही स्थानमा छाडेर तस्कर फरार भएका थिए । प्रहरीले बोराहरू खोली जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको जनाएको थियो ।

यसरी भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनले घटनाको वास्तविक विवरणभन्दा फरक मुचुल्का तयार गरेको आरोप लागेपछि स्थानीय स्तरमा प्रहरीको आलोचना भएको थियो ।

तस्करलाई छाडिएको विषयमा अनलाइन खबरले गत साउन २४ गते समाचार आएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी नायब उपरीक्षक हेमराज घिमेरेको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेका थियो ।

प्रहरी श्रोतका अनुसार प्रारम्भिक छानबिनमा सई शर्माले आफूभन्दा माथिल्लो निकायमा गलत जाहेरी गरेको पाइएको छ । तर, जिल्ला प्रहरी कार्यालय सप्तरीले छानबिन प्रतिवेदन सार्वजनिक गरेको छैन ।

इलाका प्रहरी कार्यालय बोदेबरसाईनमा अहिले प्रहरी नायव निरीक्षक (सई) गुप्तबहादुर राउतलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?