६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडमा पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन् । उनले १७ मिनेट ४२.८ सेकेन्डमा पाँच किलोमिटर दौड पूरा गरेकी हुन् ।
दोस्रो भएकी निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्टमा र तृतीय भएकी निर्मला केसीले १८ मिनेट ९.१ सेकेन्डमा लक्ष्य पूरा गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सुनसरी रोकाया चौथो, श्रृजना पाण्डे पाँचौं र आशा रावत छैठौं भएका छन् ।
विजेताहरूलाई उपसभापति पुष्पा भुसालले चेक हस्तान्तरण र सहमहामन्त्रीद्वय डा. डिला संग्रौला तथा मुक्ताकुमारी यादवले क्रमशः ट्रफी र पदक प्रदान गरिन् ।
प्रतियोगितामा पहलिो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई २० हजार पुरस्कार राशी राखिएको थियो । यस्तै चौथोले १२ हजार, पाँचौलें १० हजार र छैठौंले आठ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
पाटन दरबार स्क्वायर मंगलबजारबाट सुरु भएको दौड पुल्चोक–झम्सिखेल–भनिमण्डल–एकान्तकुना–जावलाखेल–पुल्चोक हुदै पुनः दरबार स्क्वायर पुगेर टुंगिएको थियो ।
कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको सहभागितामा भएको दौड प्रतियोगिता प्रारम्भ हुनुअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा र लाखे नृत्य प्रस्तुत गरिएको थियो ।
दौड सफल बनाउन उपस्थित महिलाहरूले बाराको जीतपुर सिमरा नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाप्रति न्याय माग गर्दै ‘जष्टिस फर गरिमा चौधरी’ लेखिएको प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4