Comments Add Comment

प्रधानमन्त्री रोजगार कार्यक्रमः ख्याल-ख्यालमै सकियो सवा २ अर्ब

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पहिलो वर्ष झण्डै १ लाख ७५ हजारले रोजगारी पाएको विवरण सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने, ‘यो कार्यक्रममार्फत नेपालको इतिहासमा पहिलो पटक खान नपाउने जनताले काम गरेर खाने, गरिबीसँग पैठेजोरी खेल्ने महत्वपूर्ण अवसर प्राप्त गरे । म सरकारको तर्फबाट गौरब गर्न चाहन्छु ।’

कार्यक्रममार्फत ६ हजार ८६४ सामुदायिक आयोजनामा १ लाख ७५ हजार ९०९ जनालाई २२ लाख ६३ हजार २६९ दिन रोजगारी दिएको मन्त्रालयले जनाएको छ । यसअनुसार एक जनाले औषतमा १३ दिनको रोजगारी पाएका छन् ।

सरकारको दाबी छ, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यक्रम अद्भुत भयो, सफल रहृयो । १७ लाख बेरोजगारको सूची दर्ता गरेर बसेको सरकारले यही कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने लक्ष्य राखेको छ । र, यो वर्ष यसैगरी थप ५ लाख युवालाई देभित्रै रोजगारी दिने बताएको  छ ।

तर, गत आर्थिक वर्षमा नै सरकारले चलाएको रोजगार कार्यक्रमको मोडलले ‘देश भित्रै रोजगारी’को ललिपमा युवा भुलिन्छन् भन्ने अवस्था देखिँदैन ।

बेरोजगारीले चरम आर्थिक संकटमा रुमल्लिएका युवालाई १३ दिनको पारिश्रमिकले वर्ष दिन कसरी अड्याउन सक्ला भन्ने प्रश्न सरकारले प्रस्तुत गरेको तथ्यांकले नै जन्माएको छ ।

यो पनि पढ्नुहोस एक मिटर नाला सफा गर्दा ७ सय रुपैयाँ ज्याला !

साच्चै सफल छ कार्यक्रम ?

सरकारले निकै महत्व दिएर घोषणा गरेको यो कार्यक्रमका लागि आर्थिक वर्षको अन्त्यमा ७५३ स्थानीय तहमा कुल २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट सशर्त अनुदानका रुपमा पठाएको थियो । एउटा स्थानीय तहले ५ लाखदेखि एक करोडसम्म बजेट पाएका थिए । जेठ लागिसकेपछि बजेट पठाएको श्रम, रोजगार मन्त्रालयले भन्यो-‘एक महिना रोजगारी दिएर बजेट खर्च गर्नू ।’

२५ वटा स्थानीय तहमा बेरोजगारकै सूची तयार नभएकाले कार्यक्रम लागू भएन । त्यसबाहेक अन्यत्र सबै स्थानीय तहमा पठाइएका बजेट खर्च भएका छन् । यसअनुसार बिर सबा दुई अर्ब बढी रकम असार महिनामै रोजगार कार्यक्रमका नाममा खर्च भएको अनुमान छ ।

यो कार्यक्रममार्फत आफ्नो नियमित बजेट खर्च गर्न नसकिरहेका स्थानीय तहलाई यो अर्को ‘भार’का रुपमा थपियो । स्थानीय आवश्यकता, प्राथमिकता छुट्याएर बस्ने हो भने बजेट खर्च नभई फि्रज हुने अवस्था थियो । त्यसैले स्थानीय तहले आफ्नो अनुकुलतामा झार उखेल्ने, वृक्षारोपण गर्ने लगायतका कार्यक्रम बनाए, बजेट सकाए । त्यही कारण प्रधानमन्त्री रोजगार कार्यक्रम आलोचित बन्न पुग्यो ।

मध्य असारमा धेरैजसो सडक मर्मतका काम भए । जसले गर्दा काम गुणस्तरीय त भएन । यस्तै पर्याप्त तयारी विना रोजगारीका लागि भनेर छानिएका कामदारले धेरैजसो फुटकर योजनाहरुमा खासै मिहिनेत नै नगरी पारिश्रमिक बुझ्न मौका पाए ।

स्थानीय तहका प्रतिनिधिहरुले पनि आफ्ना मतदाता र कार्यकर्ता खुसी पार्न कनिा छरे जसैगरी आयोजना बनाएर वितरण गरे । जसका कारण सरकारको करिब साब दुई अर्ब ख्याल-ख्यालै सकियो ।

सरकार भने यो मान्न तयार छैन । बिहीबार कार्यक्रमको प्रगति विवरण सार्वजनिक गर्दै श्रम तथा रोजगार मन्त्रालयले एउटा प्रगति विवरण’ भन्दै  मोटो किताब पनि प्रकाशित गरेको छ, जसमा यो कार्यक्रम अन्तरगत सञ्चालित राम्रा कामहरुको तस्वीहरु संग्रहित छन् ।

तस्वीर सार्वजनिक गर्दै कार्यक्रमका प्रवक्त भुसालले पटक-पटक भनेका थिए,’हामीले देखाउन मिल्ने खालका तस्वीरहरु छानेर प्रस्तुत गर्दैछौं ।’

यो पनि पढ्नुहोस राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

तर, सरकारले देखाउन योग्य ठानेका तस्वीरहरु नियाल्दा  पनि प्रष्ट हुन्छ, प्रधानमन्त्री रोजगार कार्यक्रम कति सफल भएछ ?

चिल्लो हार्डपेपरमा छापिएको पुस्तकमा दार्चुलाको अपिहिमाल गाउँपालिका ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट भएको कामको एउटा तस्वीर छापिएको छ । तस्वीरको क्याप्सनमा लेखिएको छ, ‘बर्थिङ सेन्टरमा रङरोगन (वडा नम्बर ५)

अर्को तस्वीरमा उदयपुर, चौदण्डीगढी नगरपालिका ७ मा डेङ्गु नियन्त्रणका लागि किटनाशक औषधी छर्किएको देखाइएको छ । बाँसको पुल निर्माण, कुलो तथा पैनी सफाइदेखि सार्वजनिक स्थानको सरसफाइ र वृक्षारोपणका तस्वीरहरु छन् । कतिसम्म भने स्कुलको बरण्डा निर्माण पनि सफल कार्यक्रममा परेको छ ।

स्थानीयबासीले जनश्रमदानबाट गर्दै आएका र गर्नसक्ने काममा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा बजेट सक्ने काम भएको छ । यसको अर्थ सबैतिर यस्तै भयो भन्ने पनि होइन ।

कतिपय स्थानीय तहले स्थानीय आवश्यकताअनुसार सडक सफा गर्ने, नाला सफा गर्ने, ग्रावेल गर्ने, सार्वजनिक भवन तथा चौतारा बनाउने कामहरु पनि गरेका छन् ।

यो कार्यक्रम अन्तरगत सडक छेउको झाडी फाँडेर सडकमा स्याउला बिछ्याउने, चौरको झार उखेल्ने, विद्यालय र मन्दिर बढार्ने लगायतका काममा रोजगार कार्यक्रमका कामदारलाई स्थानीय तहले खटाएको प्रगति विवरणमै देखिन्छ ।

यद्यपी कतिपय स्थानीय तहले कार्यत्रमलाई प्रभावकारी बनाउन प्रयास गरेको भने देखिन्छ । तर, कार्यक्रमको कार्यविधिमै विभिन्न समस्या भएकाले पनि स्थानीय तहलाई यस्ता झारा टार्ने योजना तयार गर्नुको विकल्प नमिलेको देखिन्छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री रोजगार कार्यक्रमको करोडौं बजेटमा खेलाँची

लक्ष्य एकातिर, कार्यक्रम अर्कातिर

प्रधानमन्त्री रोजगार कार्यक्रमको लक्ष्यमा भनिएको छ, ‘स्वदेशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्ने ।’

साथै लक्षित समूहमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्ति किटान गरिएको छ ।

तर पहिलो वर्षको कार्यक्रम हेर्दा लक्ष्य एकातिर कार्यक्रम अर्कोतिर भएको प्रष्ट देखिन्छ । जसरी आर्थिक वर्षको अन्त्यतिर विकास बजेट खर्च देखाउने असारे विकास गरिन्छ, त्यसरी नै प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा आएको सर्शत अनुदान फि्रज हुन नदिने नाममा अनावश्यक ठाउँमा रकम खर्च गरिएको छ ।

मन्त्रीले कार्यक्रम सफल भएको दाबी गरेपनि मन्त्रालयका अधिकारीहरु भने कमजोरी स्वीकार गर्छन् ।

‘यो कार्यक्रमका नाममा भएका कामका कतिपय तस्वीरहरु हेर्दा त हामीलाई दिक्क लागेको छ । स्थानीय जनश्रमदान वा अभियानका रुपमा गर्न सकिने काममा पनि जनताले तिरेको कर खर्च गरिएको छ’ नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले भने, ‘कतिपय ठाउँमा भने राम्रो काम पनि भएको छ ।’

मन्त्रालयले झण्डै ३ सय स्थानीय तहमा भएका राम्रो कामको तस्वीरहरु प्रकाशित गर्दा प्रदेश नम्बर २को तस्वीर नगन्य मात्रै समेटिएको छ  । प्रदेश नम्बर २ मा यो कार्यक्रमको बजेट चरम दुरुपयोग भएको गुनासो यसअघिदेखि नै सुनिँदै आएको थियो ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री रोजगार कार्यक्रम किन भएन प्रभावकारी ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment